मेरो शिक्षकले म बिद्यालयमा पढ्दा तिहारको प्रसंगलाई जोडेर प्रश्न गर्नुहुन्थ्यो, हरेक प्रश्नको फटाफट जवाफ दिन कहिल्यै पनि दोस्रो हुन परेन्।
यस वर्षको तिहार नजिकै आईपुग्न लाग्दा मेरो गुरुले सोध्नुभएको त्यस्तै प्रसंग अनि बिगतका दिनमा तिहारको टीकाको साईत छोपेर दिदीले जल र तेलको धारा लगाउँदै लगाईदिएको टीका सम्झीरहेको छु। दुबोको त्यान्द्रोले कानमा तेल राखिदिँदा काउकुती लागेर दिदीसँग हाँसेको होसा वा दिदीले उपहार दिएको कपडा अहिले पनि साँचेर राखेको छु।
स्वदेशमा रहेर हरेक बर्ष दिदीको हातबाट टीका लगाउनु, साथीभाई जम्मा हुनु, घुम्न जानु जस्ता रहर मनमा पालेरै भए पनि परदेशी बन्नुपर्ने बाध्यता रह्यो। बाध्यताले विदेशिएको मलाई अघिपछि पनि दिदीको याद नआउने त कहाँ हो ररु तै पनि यो तिहारको बेलामा झनै बढी सम्झना आउने रहेछ।
पालो कुरेर पिङ खेल्नुको मज्जा म परदेश पसेर रेल कुर्दा पाइन। दिदी रेल रफ्तारमा दौडिन्छ अनी पिंग आकाशमा मच्चिन्छ।आजभोलि मच्चेको पिंग सम्झेर मेरा यादहरु हावाको झोका संगै घर पुग्छन्।। दीदी सोचे झैँ जिन्दगी रैनछ बोलको गीत सुनेपछि झन तिम्रो यादले सताउछ, सप्तरंगी रंगको सम्झनाले धेरै रोएको छु दिदी।।। यहा तिम्रो हातको तिहारको सप्तरंगी टिकाको रङको अगाडी सबै रङहरु फिक्का फिक्का छन ।
मेरो दिदी सन्तानकी एक्ली छोरी। जेठी भनौँ या माईली, साईँली भनौँ या कान्छी। जे भने तिमी मात्र तिमी। मेरो गुरुले तिहारबारे अब प्रश्न गर्नुभयो भने सायद म अब नाजवाफ हुन सक्छु। धेरै तिहारहरु खाली निधारमै बितेका छन मेरा। न त नेपालमा मेरी दिदीलाई रमाईलो लागेको छ।
गुरुले प्रश्न सोध्दा हरेक पटक मैले म भाग्यमानी हुँ किनकी म तिहारमा दिदीको हातबाट सप्तरँगी टीका सँगै मखमली र सयपत्रीको माला लगाउँछु भन्थेँ। तर आज मलाई थाहा छैन म भाग्यमानी हो या अभागी। भाग्यमानी थिएँ त हरेक तिहार खाली नछोडी मेरी दिदीको हातबाट टीका ग्रहण गर्न पाएको भए हुने। अभागी हुँ भनौँ त चर्न गएको भाई चारो सम्हालेपछि फर्केर आउनेछ, फेरी पनि दिदीको हातबाट टीका लगाउने छ, फेरि पनि तेलमा चोपेको दुबोको टुप्पोले कानमा काउकुती लगाउने छ।
दशैँ सम्झीँदा बाबु आमाको यादले भक्कानीएको मन अब फेरि तिहार सम्झीँदा दिदीको यादले भक्कानिईरहेको छ। दिदी बर्षौँदेखि मेरो निधार खाली छ र मेरो मात्र होईन तिम्रो पनि। अब त उमेरले पनि बिगतलाई पल पलमा सम्झाउने रहेछ। बालापनमा ख्याल ख्यालमा लगाएको जस्तो लाग्ने तिहारको टीका अब पाको बेलामा त मुटुमा याद दिलाएर कोपीरहने तीर बन्ने रहेछ।
मेरी दिदी यो बर्ष पनि परदेशमा नै छु। अघिल्लै बर्षहरुले अब त यसपाली दिदीको हातको टीका लगाउँछु भन्ने तयारी गरिरहेको हुन्छु। तर गाउमा पल्तिर पुगेर आउँछु है भनेर घरकासँग सजिलै छुट्टी पाए जस्तो यहाँ नहुँदो रहेछ। मनको रहरलाई आँशुले थिचेर बाध्यतामा रमाउनुपर्ने रहेछ। मनभित्र आएको याद र भएको छटपटीलाई बाहिरबाट कस्ले पो देख्छ र ?
तर मलाई विश्वास छ मेरी दिदीले मेरो पिडाको महशुस गरेकी छिन्। उनको मनमा पनि मलाई जस्तै भइरहेको छ। यसपाली पनि तिहारको उपहार स्वरुप मलाई दिने कपडा र मिठाई किन्ने बेलामा तिम्रो मनले मलाई सम्झीँदै आफैले आफैलाई भाग्यमानी वा अभागी के होरु भनी प्रश्न गर्ने छौँ। र मैले पनि तिमीसँगै प्रश्न गरिरहेछु की तिम्रो भाई भाग्यमानी हो की अभागी ?
सुजन के सी
फुकुओका जापान