सिन्धुली । महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो ।
कोरोना भाइरसको जारी महामारीबीच स्वाब परीक्षण र यसपछि अन्य रोगबारे जाँच गर्न सकिने बहुउपयोगी पिसीआर मेसिन बर्दिवास अस्पताललाई प्रदान गरिएको रोटरी इन्टनेशनलअन्तर्गत (३२९२, नेपाल शाखा) का पूर्वसचिव दाहालले हस्तान्तरण समारोहमा बताए । यो बहुउपयोगी मेसिन मुलुकभरिका अन्य आठ अस्पताललाई प्रदान गर्न झिकाइँदा एक अस्पताललाई रु १५ लाखमा उपलब्ध गर्न सकिएको दाहालको भनाइ थियो ।
हस्तान्तरण समारोहमा रोटरी क्लब इन्टरनेशनल नेपाल शाखा (३२९२) का अन्य पदाधिकारी र प्रदेशसभा सदस्य शारदादेवी थापासहितका व्यक्तित्वको सहभागिता थियो । कार्यक्रम रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । बर्दिवास अस्पतालमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा, उदयपुर, सिन्धुलीसहितका जिल्लाका सर्वसाधारणले स्वाब परीक्षणको सेवा लिँदै आएका अस्पतालले जनाएको छ । हालसम्म दुई हजारभन्दा बढीले अस्पतालमा स्वाब परीक्षण गराएका बर्दिवास नगर कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानका सहसंयोजक तथा अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए । रातोपाटी ।