Home बुलेट न्युज विदेशमा रहेका नेपाली कस्ता जनप्रतिनिधि चाहन्छन् त ?

विदेशमा रहेका नेपाली कस्ता जनप्रतिनिधि चाहन्छन् त ?

by ईलालटिन
0 comment

सचिन्द्र श्रेष्ठ। अहिले नेपालमा यही वैशाख ३० मा ७५३पालिका मा चुनावी माहौल चली रहेको छ ,स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न दल,मोर्चा तथा समूहहरू चुनाव बिथोल्ने ,बहिष्कार गर्ने वा दलहरू आफ्नै तरिकाले प्रचार प्रसार गरेको सुनिन्छ र कस्ता कस्ता जनप्रतिनिधि उठाइएका छन् तिनीहरूको अङ्क गणित समेत सुरु हुन थाली सकेको छ । साथै यो लोकतन्त्र आए पछिको दोस्रो आम स्थानीय तह सदस्य निर्वाचन पनि हो ।पहिले जस्तै यो पटक पनि गठबन्धन कै भर परेर चुनावी मैदानमा दलहरू लागी परेका छन्।पहिलेको निर्वाचनले केही

लाई सिकाई ,अवसर र चुनौती दिएका कारण अहिलेको निर्वाचन आम जनताको हित केमा छ त? पहिले गरेका कामको मूल्याङ्कन गर्ने समेत नजिक बाट नियाल्न पाउने समय आएको छ साथै फेरी पनि स्थानीय निकायको बागडोरमा यो पटक जनताका आकाङ्क्षा अनुसार सम्बोधन हुन्छ या हुँदैन विदेशमा बस्ने नेपालीको पनि यो पटकको निर्वाचनलाई लिएर अत्यन्त चासो र चिन्तनको विषय बनेकोले प्रवासमा रहेका नेपाली जनता के चाहन्छन् ?स्थानीय तह निर्वाचनको माहौल चली रहेका बेला आफ्नो भेग बाट कस्ता जनप्रतिनिधि छान्न चाहन्छन् र किन? भनेर हामीले प्रदेशमा रहेका नेपालीको बिचार लिन कोसिस गरेका छौ।

पोषण पुन, पपुवा न्यूगिनी
स्थानीय तहको नेतृत्व, नेता भन्दा बढी म्यानेजर होस् ,व्यवस्थापकीय कार्य गर्न सक्षम होस् , लोभ मोहले पगाल्न नसक्ने उच्च नैतिकवान् भएको स्थानीय जनसमुदायमा घुलनशील हुन सक्ने नेतृत्व र अध्ययनशील होस् ।विकास भौतिक भन्दा बढी नैतिक विकास व्यक्तित्व विकास मार्फत क्षमतावान् मानव जनशक्ति निर्माण हो भन्ने बुझेको होस् ,सामाजिक विकास परिवार देखि समाजमा गरिने दैनिक अनि बानी र व्यवहारको सम्मिश्रण हो भनी बुझेर सोही अनुसारको सामाजिक व्यवहारिक अभ्यासको अगुवाइ गर्न सक्ने नेतृत्व होस् ।नेतृत्वको पहिचान मिडिया बाजी स्टन्टले भन्दा असल विचार काम मेहनत र परिश्रम साथै समग्र नेतृत्व यस्तो पूज्य होस् कि आफ्ना सन्तानलाई भन्न सकियोस् ।

सन्तोष पाठक, अस्ट्रेलिया
माहौल त दरो चलिरहेको छ कतै चिउरा र मासु को, कतै पैसा र पदको अनि कतै व्यक्तिगत स्वर्थहरु को ! यहाँ पार्टीको झन्डा हल्लाउनु भनेको आफ्नो व्यक्तिगत स्वार्थपुर्तीको लगानी गर्नु हो या लगानी उठाउन नै हो भन्ने कुरा विगत देखी प्रमाणित हुँदै आएको यथार्थ हो ! कुरो यत्ति हो कसको स्वार्थ कम छ या कुन पार्टी कम भ्रस्टचारमा फसेको छ या लागा नि उठाउने दलालीहरूले कम मात्रमा आफ्नो स्वार्थपूर्ति गरेका छन् भन्ने नै आजको नेपालको स्थानीय या केन्द्रीय चुनावको माहौल तोक्ने या जितको सुनिश्चित गर्ने मुख्य माध्यम हुन ! गाउँगाउमा लिङ्देनको हलो प्रति विशेष रुचि र चासो देखिन्छ यसको पनि मुख्य कारण माथिकै हो ! संवैधानिक राजतन्त्र नेपाली र नेपालको हितमा पनि हुन जान्छ फेरी धार्मिक कारण ले पनि विश्वकै एक मात्र हिन्दु राज्य मासेर राणाको राज्य चलिरहेको बेला नेपाल पुन:हिन्दू राज्य बनाउने घोषणा आफैमा अनुकरणीय छ ! यी विविध कारण ले हद सम्म नेपाली जनताहरू हलो तिर तानिनु स्वाभाविक नै हो ! जुन जोगी आए नि कानै चिरेको भनेझैँ मन लगाएर काम गर्ने प्रतिनिधिहरू नहुँदा सामाजिक रूपमा हामीहरू खस्किँदै गएका छौ ! धनको हैन मनको रोझौ जसले सत्यता बोकेको छ उसले केही अवश्य गर्ने छ ! समाज प्रति उत्तरदायी रोजौँ जो हरेक काम र प्रगति जनतामाझ सेयर गर्न सकोस् !

कृष्ण विक्रम भण्डारी, साउदी अरब
जहाँ, प्रत्येक स्थानीय तहको सम्बृद्दिको गुरुयोजना सहित हरेक दल र स्वतन्त्रको पक्षबाट उम्मेदवारहरू यति वेला चुनावी मैदानमा आफ्नो पक्षमा मत पार्नको लागि अनेक जुक्ति प्रयोग गर्दै, प्रत्येक जनताको घरदैलोमा उहाँहरूको उपस्थिति भैईरहँदा  यस प्रकारको चुनावी प्रक्रिया चल्दै गर्दा, सर्वप्रथम त जो उम्मेदवारको रूपमा मतदानको अपेक्षासहित आफ्नो विजयीको पूर्ण आशा गर्नुहुने, उहाँहरू कम्तीमा आफूले निर्वाचन भिड्दै गरेको स्थानीय तहलाई राम्ररी बुझेको र, आफ्नो व्यक्तिगतरुपमा जुन तहको उम्मेदवार को दाबेदार छ।सो पदको लागि हरेक तवरले योग्य होस्। जसले गर्दा, उसले सो क्षेत्रमा कस्ता – कस्ता योजनाहरू निर्माण गर्दा, त्यो क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारहरू जस्तै, शिक्षा, स्वास्थ्य र  बिध्युत लगायतका क्षेत्रमा कुनचाहिँ प्राथमिकतामा राख्दा त्यहाँ रहने हरेक वर्ग, समुदाय र जात – जातिलाई प्रत्यक्ष प्रभाव पार्न सक्दछ।यी सबै खाले समस्याहरू प्रति जानकार रही छोटो समयमा गुणात्मक विकासको लहर ल्याउन सफल हुनेछ।तसर्थ, हरेक मतदाताले आफ्नो उम्मेदवारलाई एकदमै नजिक बाट जान्न र बुझ्न जरुरी छ।जो, योग्य, ईमान्दार र कर्तव्यनिष्ठ होस! किन की घोषणा पत्रको आधारमा मात्रै मतदान गरियो भने, भोलिका दिनमा उसले निर्वाचित भैईसकेपछाडि, आफ्नो घोषणा पत्र लगायत आफ्नो, कर्तव्यप्रति ईमान्दार नहुन सक्छ।जहाँ, यसरी निर्वाचित भएर आमजनतालाई घात गरेका थुप्रै उदाहरणहरू हाम्रै देशमा छन्। त्यसैले, अहिलेको यो स्थानीय तहको निर्वाचनमा म र म जस्तै हरेक नागरिकहरूले, पार्टी र चिन्ह अनि मेरो पार्टी र नेता भन्दै जो पायो त्यही उम्मेदवार लाई मत दिँदै गर्दा कैयौँ पटक सोचौँ र हरेक तवरले तुलना गरौँ ।

दीपक आचार्य,बेलायत
स्थानीय जनताको उन्नति र विकास गर्न सक्ने योजना भएको,सक्षम,निष्कलङ्क हाम्रो होइन राम्रो जनप्रतिनिधि हाम्रो चाहना हो, कि कसैको इसारामा चल्ने लम्पट।मुख्य कुरा जनताको पक्षमा काम गर्ने मान्छे जानू पर्‍यो । यो वा त्यो पार्टी नभनी हामी र हाम्रो क्षेत्रको विकास र संवर्द्धन तर्फ लाग्ने हुनु पर्‍यो ।

सुनिल पौडेल अमेरिका
स्थानीय निकायको निर्वाचन आई रहँदा प्रत्येक गाउँ टोल घर नै निर्वाचनमय भएको आजको दिनमा कम्तीमा हाम्रा उम्मेद्बारले गाउँलाई बस्न योग्य बनाउँछु, स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्दै माटो सुहाउँदो विकास गर्छु भने मात्रै पनि पुग्ने ठाउँमा अनावश्यक हल्ला, मनगढन्ते विकासका बेमौसमी बाजा बजाउनु उचित लाग्दैन जब सम्म जनताको आफ्नो दैनिकीमा कुनै परिवर्तन आउँदैन तबसम्म फेसबुके प्रचार र डोजरे विकास केबल जनतालाई बेबकुल बनाउने चेष्टा मात्रै हो त्यस्ता जनप्रतिनिधिबाट उनीहरूको व्यक्तिगत फाइदा बाहेक समाजले केही लिन सक्दैन, हामीलाई हाम्रै गाउँ चाहिएको हामीलाई हाम्रै नगर चाहिएको छ मात्रै व्यवस्थापन गर्ने खुबी कला हुनुपर्‍यो |

झलक काउचा, दक्षिण कोरिया
महत्वकांक्षि भाषण भन्दा आफ्नो गाउँ ठाउँमा के कस्ता समस्या छन् त्यसका लागि के कस्ता पूर्वाधारको विकास गर्नु पर्छ भन्ने कुरामा जोड दिने साथै जब जनतालाई विभिन्न सरकारी काम काजको लागि सिफारिस आवश्यक पर्छ त्यस समयमा सहज रूपमा उपलब्ध गराइदिने जब आफ्नो क्षेत्रमा समस्या पर्छ त्यति बेला आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर जनतालाई जनप्रतिनिधि भएको महसुस गराउने खालको प्रतिनिधि छान्न सके राम्रो हुन्छ जस्तो लाग्छ ।

अर्जुन शर्मा पौडेल, भारत
नेपाललाई सबल सक्षम र विकसित बनाउनको लागि नेपालका हरेक गाउँ बस्तीहरू बाट चुनिने जनप्रतिनिधिहरुको नै महत्त्वपूर्ण भूमिका रहने गर्छ।त्यसैले हामीले जनप्रतिनिधि चुन्दा जसले आफ्नो गाउँ र जनताहरू प्रति उत्तरदायी भएर काम गर्छन्।आफ्नो व्यक्तिगत स्वर्थलाइ पर पन्छ्याएर समाज र जनताको कामको लागि सदा समर्पित रहने अनि दीर्घकालीन सोचाइ भयको र समाजलाई सही मार्गमा दिशानिर्देश गर्ने व्यक्ति लाई आफ्नो अमूल्य मन दिनु पर्छ।हैन भने फेरि पनि आफ्नो सपना सपनामै रहने छ।आफ्नो गाउँ र बस्ती हरु फेरि उहीँ पुरानै मोडेलहरु देखा पर्नेछन्।विकसित नेपालको परिकल्पना सिर्फ कागजमा नै रही रहने छ।

 विनोद पोख्रेल, यूनाइटेड अरब एमिरेट्स
अहिले स्थानीय निकाय निर्वाचनको माहौल चली रहेका बेला हामीले आफ्नो भेग बाट यस्ता प्रतिनिधि छान्न पर्ने बेला आएको छ। मेरो विचारमा आफ्नो प्रतिनिधिहरूले कहिले पनि आफ्नो स्वार्थको लागि काम नगरुन् कहिले पनि देश र जनताको हक हित हुने काम गर्न आवश्यक छ जस्तो कि गाउँमा राम्रो खाले स्वास्थ्य , शिक्षाको बारेमा केही गर्न पर्‍यो अनि बाटोघाटो को राम्रो सँग काम गर्ने , विदेशमा पलाएन भएका युवा युवतीलाई नेपाल मै आफ्नो ठाउँमा केही गर्न सक्ने वातावरण मिलाउनु पर्‍यो , विदेशमा रहेका नेपालीले खाडी मुलुकमा ६०डिग्री घाममा काम गरेको अवस्थामा तिनीहरू सबै लाई आफ्नै गाउँ ठाउँ मा केही कलकारखाना उद्योग केही नयाँ किसिमको काम को सिर्जना गर्न पर्‍यो , यो सबै भोट माग्न आउँदा नेताहरू ले बोलेका सबै कुरा जिम्मेवारी का साथ पालना गर्नु पर्‍यो। यो  पैला देखि नै राजनीतिमा यस्तै हुँदै आएको छ जाबो मैले बोल्दैमा पूरा गर्न पर्छ भन्ने कुरा प्रतिनिधिले राम्रो सँग मनन गर्न पर्‍यो । जनताहरूले के आशा राखेका छन् अनि मैले अझै यो गाउँ ठाउँको लागि कसरी राम्रो काम गर्न सक्छु भनेर पनि सोच्नु जरुरी छ ।

धन्यवाद

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com