नगेन्द्र थापा
“बाँच !”, उनले भनिन्, “तर अनन्तसम्म झुन्डिएर !”, यो कथा टुङ्गिन्छ, त्यहींबाट अर्को यथार्थ शुरु हुन्छ ।
तिम्रो मीत अधुरो, तिम्रो गीत अधुरो, तिम्रो स्वर अपुरो, नेपाली स्वर संसार अधकल्चो । तिमीले आफू सँगसँगै धेरैधेरै पूर्णता लिएर गयौ– यहाँ केवल अधुरा, अपूरा, अधकल्चा र आधा छोडेर ।
नारायण ! तिमी पोखरा गएर बस्यौं, ठीकै छ, तिमीप्रति मैले कुनै न्याय पनि त गर्न सकिनँ, म स्वयं लज्जित छु । छुट्टिनु पहिले लामो वादविवाद, गन्थनपछि तिमी एक्लै दार्जीलिङ गयौ र त्यतैबाट दुई भएर पोखरा पुग्यौ । जे भए पनि विश्वस्त छु, तिमी मसित रिसाएका छैनौ । आजसम्म मैले तिम्रो निम्ति केही गर्न सकिनँ । दार्जीलिङ, कालिम्पोङ, सिक्किम र काठमाडौं–भैरहवामा, “नारायणगोपाल नाइट” मनाउनुभन्दा बढ्ता केही गर्न सकिनँ । मैले केही गर्न नसके पनि तिमीलाई आफैंभरिको माया दिएर स्वीकारेको छु ।
स्वर भएको नारायणलाई ती सबैले चिने, छोए, जसले तिम्रो स्वर सुने तर चिन्नु पर्नेले कहिल्यै चिनेनन् । स्वर भएको नारायणलाई चिन्नेले पनि भुँडी भएको नारायणलाई चिनेनन्, बुझेनन्, । कसैले तिमीलाई बुझ्नु पनि किन ? तिमी त कपास झैं फुटिदिन्छौ सित्तैमा, सबैको आँखा र गलामा नरम भइदिन्छौ, सित्तैमा । तिमी आफैंबाट उम्केर अरुको भइदिन्छौ सित्तैमा भने तिमीलाई अरुले बुझ्ने प्रयास पनि गरुन्, किन ?

तिमीभित्र भएका लखतरान पत्रैपत्र पनि पल्टाउने दुःख किन गरुन् ? तिमी पनि अनौठा छौ, तिमीले यी सबै कहिल्यै चाहेनौ, विरोध कहिल्यै गरेनौ, पेट बजाएर कहिल्यै प्रदर्शन गरेनौ, बरु सबैसित टाढा भई ढुक्क पोखरा गई आफैंमा सीमित हुन खोज्दैछौ । तिम्रो स्वरलाई सन्चै होला, पोखराको झरीमा तिम्रो स्वर सायद रमाएको होला । तर तिम्रो गीत भने नितान्त एक्लो छ, तिमीबिनाको एकान्तमा ऊ छटपटाई बस्छ ।
नगरेको पनि होइन । नभएकै हो । अझ, हुन नदिएको हो । अथवा जसरी भनौं तिमीभित्र थुप्रै कमजोरीहरु थिए, जसले गर्दा भाग्यले त होइन, गतिला कर्मीहरुले तिमीमाथि लात्ती प्रहार गरे । कलाकार भएर कुर्सीको अघि ननिहुरिनु तिम्रो कमजोरी नभए अरु के हो त ? कलाकार भएर ठूलो व्यक्तिको चाकरीमा जान नसक्नु तिम्रो कमजारा होइन त? पटमा ढुङ्गा राखेर पनि आफ्नो कलाकार चोखो राख्न खोज्नु तिम्रो कमजोरी नभनी अरु के भन्ने ?
सबभन्दा मुख्य कुरा त तिमीले पाइनसक्नुको स्वर पाउनु नै ठूलो कमजोरी भएको छ । तिम्रो स्वर “प्रोमिथियसको आगो” हो र त्यसैको दण्ड भोगिरहेछौ । नपत्याए, रेडियो नेपालभित्र घस्रिने, तिमीमा भएका कमजोरी नभएकाहरु कस्तो हाइसन्चोसित बाँचिरहेका छन् । जसको स्वर पनि छैन, सरगमको ‘सा’ भन्न पनि आउँदैन, गिटार झुन्डाइ हिंड्दछन् तर एउटै कर्ड पनि बजाउन आउँदैन । उनीहरु सङ्गीतकार र ठूला गायक भएर चुरुफुरु गर्दैछन् ।
तिमी आशीर्वादबाट बन्चित छौ । यहाँ आशीर्वादबिनाको जिन्दगी र बूढी वेश्यामा केही फरक छैन । तिमी निहुरिदैनौ, चाकरीमा जाँदैनौ । यसैले तिम्रो कलमी पनि बूढो भएपछि काटिन्छ, जतिबेला तिम्रो स्वरमा थकान आइसकेको हुनेछ । १९५८ देखि १९६३ अम्बरका सबभन्दा सिर्जनात्मक वर्षहरु थिए । त्यसबेला अम्बरलाई कसैले सोधेनन् । लबस्तरा भएर उसबाट गुदीमात्र चुसे । आज जब ऊ बूढो तर फल लाग्दै गरेको रुख भएको छ, हतारहतार उसको कलमी काटेर प्रज्ञा–प्रतिष्ठानमा सारियो । १९५८ देखि १९६३ का सिर्जना फर्किन सक्तैनन् । त्यस सिर्जनाको पछाडि पनि दार्जीलिङका समस्त कलाकारको एउटा कथा छ ।
त्यस्तै, नारायण ! जब तिम्रो स्वर तिमीबाट फुस्किसक्छ, त्यसमा शिथिलता आउन लाग्छ, आजको बैंसालु स्वरमा जब चाउरी पर्न थाल्छन्, तब तिम्रो आवश्यकता हुन्छ किनभने यहाँको नियम नै यस्तै छ ।
मलाई थाहा छ, तिमी पोखरा त्यसै गएनौ । घर, मीत र साथीहरु छोडेर फेवातालमा पौडी खेल्न पनि गएका होइनौ । तिमीभित्रका असीम असन्तुष्टता, वेदना, तिमीलाई पनि जित्ने तिम्रो कलाकार (जुन अहिले साम्य छ, मौन छ, जुन मृत्यु होइन–विस्फोट पर्खिरहेछ) बोकेर मन नपरीनपरी तिमी पोखरामा छौ । बाध्यता । अब त तिमी एक्लै छैनौ । उत्तरदायित्व थपियो । आफू र उनका लागि, बाँच्नका लागि पनि पोखरा गयौ । तिमी आफूलाई मारेर त्यहाँ इतिहास पढाउँदैछौ । यहाँ बितेकाहरु मात्र इतिहास जस्ता हुँदैनन् (सायद जिउँदैमा सिङ्गो इतिहासमा फेरिन्छन्) र तिमीले भोगेको वर्तमान काँचो ठट्टा र परिहास ।
तिमी साह्रै सोझा भयौ । तिमी पड्किन सकेनौ। तिमी साह्रै स्वाँठ भयौ । तिमीले विद्रोह गरेनौ । बरु रेडियो नेपालका प्रत्येक कार्यलाई तिम्रो स्वीकृति हो, तिम्रो पोखरा जवाई । रेडियो नेपाल वा सम्बन्धित विभागले त तिमीहरुको हत्या पहिलेदेखि नै गर्दै आको हो तर मलाई लाग्छ, फेवातालमा देखिने माछापुच्छ्रेको प्रतिविम्बमा आत्महत्या गरिरहेछ– नेपालको स्वर–सम्राट । प्रतिविम्बमा देखिने घोप्टिएको माछापुच्छ्रेको शिखर छुने प्रयास गर्छ– स्वर–सम्राट । रेडियो नेपालका र विभागका केही टाउकेहरुले तिमीहरु (मीतहरु) लाई सधैं हुत्याउने गरे, अब त तिमी स्वयम्मा यत्ति विरक्ति आइसकेको छ, तिमी आफैंलाई निर्वासित गरिरहेछौ, आफैंबाट र विसर्जन गरिरहेछौ गण्डकीमा, जहाँ तिम्रो सुस्केरा मात्र छ।
यसरी, आज म तिमीलाई नमीठोसँग सम्झन बसेको छु र साथै सम्झिरहेछु– सिंहदरबारभित्रका दुई वर्षभन्दा बढीका कुरा । तिमी र तिम्रो मीत गोपाल योन्जनको लागि म दुई वर्षभन्दा बढी सिंहदरबार धाएँ, कति मन्त्री, कति सचिव र कति डाइरेक्टरसँग भेटें । तिमी र तिम्रो मीतको मैले बोकेको समस्या एउटै थियो, उही थियो तर दुई वर्षका अवधिमा तीन सम्बन्धित मन्त्री फेरिए, सचिव साटिए, नयाँ डाइरेक्टर आए तर हाम्रो समस्या भने उही थियो, जुन आजसम्म आलै छ। तिमी दार्जीलिङ गएपछि कसिएर म फेरि सचिव र डाइरेक्टरकहाँ धाउन लागें । भोलि–भोलिमा नै धेरै दिन बिते ।
एक दिन डाइरेक्टर र अरु एक–दुई अधिकारीको उपस्थितिमा मलाई पनि बोलाइयो । करैकुरामा धेरै कुरा भए । तिमीलाई प्रथम श्रेणीको कलाकार मान्न उनीहरु अन्कनाइरहेका थिए, होइन पनि भने (जब कि तिमी नेपालीको एकमात्र साँचो गायक हो, स्वर–सम्राट)। धेरै वादविवादपछि तिमीलाई तीन सय रुपियाँमा किन्ने अभिप्राय देखाए, त्यो पनि अस्थायी तीन सय रुपियाँमा ।तिमीलाई बेच्न म तयार थिइनँ ।
तैपनि एउटा शर्त राखें, यदि गोपाल योन्जनलाई पनि रेडियो नेपालमा लिने हो भने मलाई मजुर छ भनिदिएँ । मलाई थाहा थियो, गोपाललाई कुनै अवस्थामा पनि यिनीहरुले रेडियोमा लिने छैनन् (रेडियोभित्र ठूलो चक्रव्यूह रचिएको छ, तिमी दुई मीत रेडियो जाँदा धेरैको अस्तित्व खलबलिन्छ) । नभन्दै बजेट नभएकाले गोपाललाई कुनै अवस्थामा लिन नसक्ने कुरा व्यक्त गरे । गोपाल योन्जनजस्तो सङ्गीतकार र गीतकारका लागि वर्षभरिमा छत्तीस सयको बजेट हुँदैन, जब कि उसबाट छत्तीस लाखको उसको प्रतिभा दुहुन सकिन्थ्यो । मनपरि खर्चका लागि बजेट हुन्छ तर तिमी दुईका लागि बजेट नै हुँदैन । नारायण ! तिमीलाई मैले दसैंको खसी झैं तीन सय रुपैयाँमा बेच्न सकिनँ, क्षमा गर ।
सम्बन्धित अधिकारीसँग कुरा नमिले पनि, चाकरीमा नगए पनि, नझुके पनि रेडियोसँग तिमी विमुख नहुनु पथ्र्यो । यसरी टाढा बसेर स्वर–सम्राटको चिहान तिमी आफैं खनिरहेछौ आफैंभित्र । तिमीभित्रको कलाकारसँग ज्यादै ठूलो अन्याय भएको छ, जसको विरोध र विद्रोह यहीं बसेर गर्नु पथ्र्यो । अलि त तिमी स्वयम्ले आफैंभित्र गुम्साइरहेछौं एउटा जबर्जस्त कलाकार । तिमी र तिम्रो मीतसँग गितिलो अन्याय भएको छ, धेरैले छामेर बुझिसकेका छन् । तिमी दुवै जना आँधी बोकेर हिंडेका छौ । त्यसैले रेडियोमा तिमीहरुको प्रवेश अरु धेरैधेरेका लागि अभिशाप बन्नेछ, यद्यपि राष्ट्रको निम्ति वरदान सिद्ध हुने थियो।
गोपाल ! मलाई साथी सम्झेर माफ गर । तिमीलाई मैले काठमाडौं लिएर आएँ, दार्जीलिङबाट तर अहिलेसम्म केही गर्ने सकिनँ । इज्जतसँग राख्न सकिनँ, दुई छाक टार्ने बन्दोबस्त पनि मिलाउन असमर्थ भएँ । दार्जीलिङबाट हामी दुवैले बी.ए. गरेपछि म पढ्न बम्बई जान भनी आएँ । तर यहाँ आएर तिम्रो अनुपस्थिति मलाई नराम्रोसित बिझाउन लाग्यो । तिम्रो अनुपस्थित मलाई अक्करको कहालीझैं घुम्न लाग्यो । जाडो याममा हामी दुईले हिमालय कला मन्दिरमा बिताएका दिन, सम्झना र सिर्जनाले झन्झन् अँठ्याउन लाग्यो । मैले तिम्रो अनुपस्थिति मिलाउन सकिनँ र दार्जीलिङ गई १९६७ मा तिमीलाई लिएर आएँ र सँगै बस्ने निश्चत गरें।
विदेशीको निगाहामा पेट भरेर नेपाली माटोमा बासना छर्दैछौ । सीमित व्यक्तिले तिमीलाई दुत्कारे पनि, यहाँको माटोले आफ्नो निदार रङ्गाएका छौ । के गर्छौ र, यहाँ यस्तै हुन्छ । रेडियो नेपाल, सांस्कृतिक विभागमा तिमीजस्तो कलाकारको निम्ति ठाउँ नै छैन । तिमीले आफूलाई धन्य सम्झिनुपर्छ, कमसे कम यहाँको माटोमा त उभिन पाएका छौ । तिमीजस्तो गीतकार, सङ्गीतकार र गायकको के मूल्य हुन्छ र ? हुनु नै किन ?
तिमीलाई सधैं मैले वागमती र विष्णुमतीझैं सशक्त गीतकार र सफल सङ्गीतकारको रुपमा स्वीकारेको छु, चाटेको छु र गिजलेको छु । सङ्गीतमा मात्रै होइन, गीतमा पनि तिमीले क्रान्ति ल्याएका छौ । तिमीभित्रको गीतकार र सङ्गीतकारमा सधैं भीडन्त हुन्छ, दुवै उत्तिकै बलिया भएकाले अन्तमा दुवै अंगालो मारेर हिंड्ने गर्छन्, एक भएर । गीतकार गोपाल र सङ्गीतकार गोपाल कोहीभन्दा कोही कम्ती छैनन्, एक–अर्काका पूरक तर आफैंआफैंमा पूर्ण छन् । यी दुवैमा सामञ्जस्य लिएर आउने, मिलाउने तिमी हौ, चोवार–गोपाल । तर मलाई कहिलेकाहीं यस्तो लाग्छ, गीतकार गोपालले सङ्गीतकार गोपाललाई पछार्छ र एक–दुई डेग अगाडि बढ्न खोज्छ ।
…त सेन्ट जेभियर, सेन्टमेरी र गोदावरीमा पढाएर आफू र आफ्नो जहान पाल्दै छौ । तैपनि लाज नमानी (लबस्तरो भएर) “मेरो गोपाल” सबैको सामु भनिदिन्छु यद्यपि तिमीलाई मैले केही गर्न सकेको छैन । केवल सस्तो योनीझैं गीत फालिदिएको छु, तिम्रो सङ्गीतमा भोगाउन ।
तिमीलाई पैसाको लोभ थिएन, छैन । बाँच्नलाई धेरै काम गर्छन्, खान्छन् । नेपालीकै नभएर विदेशीकै भए पनि काम गरेर तिमी बाँचिरहेछौ (हामी गर्व गर्छौं, हाम्रो गोपाल भन्दै जब कि हामीले तिमीलाई केही दिएका छैनौं) । आफूमा भएको सिर्जनात्मक प्रतिभा देखाउने उत्कट अभिलाषा हुँदाहुँदै पनि तिमीले न मौका पायौ, न ठाउँ नै । अरु लाटागाँडालाई रेडियोले निम्तो पठाएन, यतिसम्म कि रेकर्डिङको लागि श्री ५ बडामहारानी सरकारबाट हुकुम हुँदा पनि त्यत्तिकै भयो । मलाई त यस्तो लाग्छ, गोपाल ! तिमीले लेखेका तीन अपेरा, दुई सयभन्दा बढी गीत (सबै धुनबद्ध) सल्काइदिनुपर्छ, कमसेकम जाडोमा आगोको मजा त लिन सकिन्छ ।
तिम्रा नयाँ सिर्जनाहरु अब हामी तीन जनाभित्र मात्र जन्मन्छन्, हुर्किन्छन्, फस्टिन्छन् र मर्ने गर्छन् । तिम्रो सिर्जनाको निकासा हुने ठाउँ रेडियो नेपाल र सांस्कृतिक विभाग हो, जहाँ तिमीहरुको प्रवेश निषेध छ किनभने तिमीहरु नितान्त कलाकार हौ (कलकत्तामा गएर आफ्नो दुर्गतिदेखाउँदैनौ, अरु धेरै सङ्गीतकारले जस्तै बुलसारा र मुल्कीको गोडा मोल्दैनौ) किनभने तिमीहरुमा कलाकारको “अहं” छ, किनभने अरु धेरैजस्तै तिमीहरु पतित भएका छैनौ । यसैले तिमी पनि तिम्रो मीतजस्तै आशीर्वादबाट बन्चित छौ र तिमीले पनि तिम्रो अखण्ड प्रतिभा र सिर्जना आफैंभित्र गाडेर बस्नुपर्नेछ । नयाँ सिर्जनाका त कुरै छोड । रेकर्ड भइसकेका गीतहरु “गल्ती हजार हुन्छन्”,“म मुर्दा भएको बेला”, “चुमेर पानाभरि” रेडियोबाट कहाँ गए ?
गोपाल, तिमीले छाडा लेख्यौ– रोक लगाइयो । “बिहान नभै बतासले”को मौलिक टेप हरायो रे, “मेरो आँखा बिझाउने तिम्रो रहर”को पनि मौलिक टेप हराएर बजाएको छैन । “आजसम्म बाँचेका मेरा वियोग अँगाली” पनि बजेको जस्तो मलाई लाग्दैन । “जाँदै छु, छाडी माया मन परे टिपी हेर्नू”, “आजसम्म बाँचेर जसरी आएँ, त्यसरी रहेका दिन काट्न सक्छु” भन्ने गीतहरु कुनै कुनामा सायदथन्किरहेका होलान् । दार्जीलिङबाट टेप गरी ल्याएका स्पीड (Speed) नमिलेकाहरु भने घरीघरी बजाइन्छ, यसकारण कि तिम्रो धज्जी उडाउन अरुलाई सजिलो पर्छ । “गल्ती हजार हुन्छन्”को लटमा भएका पाँच–सातवटा गीतहरु रेकर्डिङ गर्दा पनि तिमीहरुको हार भएको छ किनभने अरुका नबिक्ने, सुनिनसक्नुका झ्याउ गीतहरुको बीचबीचमा तिमीहरुको एक–दुई गीत प्रत्येक रेकर्डमा राखिएको छ । यसरी तिम्रा गीत सुन्ने इच्छा हुनेले झ्याउगीतहरु पनि किन्नु पर्यो र रोक लगाइएका गीतसँगै सती जाने भए र गए पनि । यसरी तिमीहरुको आउने दिनहरु पनि बन्द प्रायः छन् र गएका दिनहरु पनि चारैतिरबाट थुनिए । अब तिमीहरुको चारैतिर सिर्जना र प्रतिभाको मृत्यु सुसाइरहेछ।
दार्जीलिङ तिमीले र मैले सल्लाह गरेअनुसार, काठमाडौं तिमी आउनुका केही उद्देश्य थिए । आफ्नो सिर्जनात्मक प्रतिभालाई निकासा दिलाउनुको साथसाथै, सङ्गीतालय स्थापना गर्ने र सङ्गीतको वातावरण बनाउने । पत्रिका प्रकाशित गर्ने पनि हाम्रो ठूलो विचार थियो । तर काठमाडौं आएपछि जाडोको खोलाझै सबै सुकेर गयो । “मीतज्यू नाइट”त्यसै गरिएको थिएन, त्यसको पनि ठोस उद्देश्य थियो । रङ्गमञ्चमा उभिएर गीत गाउनुमात्र थिएन तर नेपालका समस्त कलाकारको बचाई खोलेर सबैको सामु राखिदिनु थियो, आफू (कलाकार) मा परेको अन्यायको विरोधमा एकमुष्ट स्वर थियो तर खाली पेटको आवाज कलाकारको सुरिलो स्वरले सिंहदरबारको ढोकाभित्र जाने अनुमति पाएन, जालीले छकको : (कलाकारका) सालिकहरुको कानभित्र पस्न सकेन । यहाँको परिस्थिति हाम्रो प्रतिकूल भयो । बरु हिमालय कला मन्दिर दार्जीलिङभित्रका बचाई र सिर्जना चित्तबुझ्दा थिए । त्यहाँको वातावरण मलिलो र उज्यालो थियो । मैले पनि त्यही वातावरणमा तिम्रो साथ पाएर गीत लेख्न थालें ।
गोपाल ! मलाई लाग्छ, धोखा दिएँ तिमीलाई मैले । पहिलेका धपक्क बल्ने महल आजका खण्डहरजस्तै ठगें मैले, यहाँको कोत र घुम्तीझैं धोखा दिएँ तिमीलाई मैले, अधकल्चो, साँगुरो छिंडी र गल्तीलाई नयाँ सडकको प्रकाश र रमझमले हेर्नेहरुको आँखामा धोकाको झल्ली फाले झैं।
तिम्रो मीत आफ्नै ‘स्वरको ढुङ्गा’ बोकी दण्ड भोगिरहेको छ भने तिम्रो सङ्गीत र गीत पनि अराकनीको अभ्यस्त हात र धागो हो र तिमी पनि श्रापित माकुरोझैं अनन्त जालो बुनिरहेका छौ ।
तिमी दुईले आजसम्म जे–जति गयौ उभिने पर्याप्त ठाउँ पाएका छौ, आँखामा र मुटुमा आफ्नो गाउँ जमाउन पाएका छौ । तिमीहरुको गीत सुन्न पाइएन भन्ने श्रोताको गुनासो छ । तिमी दुईले आफन्त बिर्सियौ भन्ने उनीहरुको गन्थन छ।
मायालु श्रोता ! तिमीहरुलाई नारायण र गोपालले बिर्सिएका छैनन् । दुई मीतको सट्टामा म तिमीहरुसँग क्षमा मागिरहेछु । तिमीहरुकै मायामा मात्र बाँचेका मीतहरु लक्ष्मण रेखाको घेराभित्र छन्, विवश छन् । नयाँनयाँ गीतहरु सुनाउन छातीभरि भेलको इच्छा बोकेर बसेका छन् तर बाध्यताको खडेरीमा छटपटाइरहेछन् । तिमीहरुकै रहर, उत्सुकता र थप्पडीको गुन्जनमा बाँचेका मीतहरु फेरिफेरि खडेरीको मुर्छाबाट बौरिन्छन् तिमीहरुकै लागि र मुर्छा नैकिन्छन् भने तिमीहरुकै निम्ति, तिमीहरुकै कानभरि, आँखाभरि, छातीभरि र गिदीभरि दुई मीतले आफ्नो अस्तित्वको आभास पाएका थिए, आज उनीहरु आफूभरिभरि आफ्ना सारा शुभचिन्तक र श्रोतालाई उभ्याएर, कलिलो घामको रेसालाई दृष्टिले छोइरहेछन्, फोइरहेछन्, केलाइरहेछन् र झन्झनाइरहेछन्– नयाँ स्वर अनि नयाँ सङ्गीत दिन । हेरौं, आजको कलिलो घामको हत्या भएन भने भोलि घाम बैंसालु हुन्छ।
यसरी, आज मैले तिमी दुई मीतलाई मेरो डायरीको पाताबाट सरसर्ती हेरें । स्वर–सम्राट नारायणगोपालभन्दा बढी, मात्र नारायणगोपाल र आजका सर्वाधिक लोकप्रिय, सशक्त, सफल र सबल गीतकार, सङ्गीतकार गोपाल योन्जनभन्दा बढी मात्र मेरा अनन्य आत्मीय गोपाल योन्जनको रुपमा मेरो डायरीबाट तिमी दुईलाई यहाँ उद्धृत गरें । तिमी दुईको कलाकार पक्षलाई मैले आज राम्ररी छोएको छैन, न अरुले झैं मनपरी बिथोबिन र मोजार्टसँग तुलना नै गरेको छु । तिमीहरु जे छौ, त्यही हौ र छँदैछौ र थपिंदै जानेछौ । त्यो बेला पनि आउनेछ, जब तिमीहरुको कलाकार पक्षलाई चिरचार गरेर सबैको सामु राख्नेछु, मैले नगरे पनि अरुले गर्लान्, आउने दिनहरुले गर्लान् ।
नारायण ! यो गीत तिमीले अझ गाउनुपर्छ, झन् साह्रो गाउनुपर्छ, जिन्दगी फुटाएर गाउनुपर्छ । गोपाल ! यो गीत तिमीले फेरि लेख्नुपर्छ, अझ लेख्नू । पर्छ, मुटु चकाएर लेख्नुपर्छ, आत्मा रुझाएर सङ्गीत भर्नुपर्छ –
सबलाई रिझाऊँ भन्दा पसलमा बेचिएछु,
मेरो कोही भएन सबैको म भएछु ।
आफ्नो बतासझैं गोप्यता सँगाली राख तिमी ‘स्वर–ढुङ्गा’बाट मुक्त हुन्छौ (जसरी प्रोमिथियस भयो) अनि गोपाल, तिमी पनि जाली बुन्दै जाऊ, स्वतन्त्र हुन्छौ जालीबाट (देवी मिनरमा नराम्रोसित पराजित हुन्छ) । शिलापत्र ।
– भूपेन्द्र खड्काको खोज, सङ्कलन र सम्पादन प्रकाशन हुन लागेको स्वरसम्राट नारायणगोपालको पूर्ण जीवनी ‘स्वरसम्राट नारायणगोपाल : अन्तर्वार्ता, आलेख र स्मृति’बाट !
–
(यो लेख प्रसिद्ध गीतकार नगेन्द्र थापाले प्रोमिथियसको आगो : अराकनीको धागो शीर्षकमा
‘धूपी’पत्रिकामा २०२७ सालको भदौ अङ्कमा पहिलोपटक प्रकाशन गरेका थिए ! )