काठमाडौं । गत वर्षको दसैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दसैं तिहारको समयमा हुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो ।
गत वर्ष दसैअघि उपत्यकाबाट ११-१२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भए पनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष एक लाखले मात्रै उपत्यका छोडेका छन् । लकडाउन र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दसैं तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उनले बताए । अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगतजस्तो भिड नभएको पनि उनले बताए ।
ट्राफिक प्रहरीले अहिले सवारी साधानमा जोर-विजोर कायम गर्ने, भौतिक दूरी कायम गराउने, भिडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारवाही गरिरहेको छ । दैनिक ८ वटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरुमा तोकिएभन्दा बढी भाडा लिए-नलिएको अनुगमन गरिरहेको उनले बताए । अहिलेसम्म बढी भाडा लिने २१५ वटा सर्वाजनिक सवारीलाई कारबाही गरिएको पनि उनले बताए ।
ट्राफिक व्यवस्थापनसँगै सर्वसाधारणलाई कोभिड-१९ बाट बचाउने काम पनि ट्राफिक प्रहरीले गरिरहेको छ । उपत्यकामा ६६ ठाउँमा नियमित रुपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप ९ वटा नाकामा समेत चेकजाँचमा कडाइ गरिएको प्रमुख ढकालले बताए ।
दसैं अवधिमा ३ हजार ११५ सवारी चालकलाई कारवाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दसैंको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताए । गत वर्ष दसैं अवधिमा ४३४ वटा दुर्घटना भएकोमा यो वर्ष ३२० वटा दुर्घटना भएका छन् । लकडाउन अघि यो वर्ष दुर्घटनामा परि १०४ जनाले ज्यान गुमाएकामा लकडाउन पछिको अवस्थामा ६४ जनाको निधन भएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमी आएको उनले बताए । बाह्रखरी ।