काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा गठित राफसाफ कोषमा करिव एक करोड रुपैयाँ जम्मा भएको छ। ९९ लाख रुपैयाँ हाराहारीमा रकम जम्मा भएको राफसाफ कोष तथा व्यवस्थापन समितिले जनाएको छ। हालसम्म करिब एक करोड रुपैयाँ जम्मा भईसकको र चालु वर्ष नै करिब तीन करोड रुपैयाँ थप जम्मा हुने अपेक्षा कोषले गरेको छ। किनकी गत वर्ष योगदानकर्ताहरूले शेयर कारोबारबाट राम्रै आम्दानी गरेकोले पनि यस वर्ष तीन करोड रुपैयाँको हाराहारीमा थपिने लक्ष्य कोषले राखेको हो।
चालु वर्ष नै नेप्सेले कोषमा ७० लाख रुपैयाँ जम्मा गरिसकेको छ भने केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकर कम्पनीहरूले भने रकम दाखिला गर्न बाँकी छ। उनीहरूले समेत रकम दाखिला गरेपछि कोषको रकम बढेर करिब चार करोड रुपैयाँ पुग्ने अनुमान कोषको छ। “ हालसम्म कोषमा ९९ लाख रुपैयाँ दाखिला भइसकेको छ। ७० लाख रुपैयाँ यसै वर्ष नेप्सेले कोषमा दाखिला गरेको छ। यो सहित एक करोड ७० लाखको हाराहारीमा कोष पुगिसकेको छ। चालु वर्ष अझै योगदान कर्ताले अझै रकम दाखिला गर्न बाँकी छ। सबै योगदानकर्ताबाट पैसा जम्मा हुँदा यस वर्ष मात्रै कोषमा करिव तीन करोड जम्मा हुने अपेक्षा कोषको छ,” कोषका सदस्य सचिव सागर ढुङ्गेलले मेरो लगानीसँग भने।
कोषमा सापटी दिने गरी रकम जम्मा भएको भए पनि अहिलेसम्म कुनै ब्रोकर कम्पनीले कोषबाट पैसा सापटी लगेका छैनन्। उक्त कोषबाट पैसा लैजान बनाउनु पर्ने कार्यविधि नभएका का-रण उनीहरूले पैसा लान नपाएको बताएका छन्। “कोषमा देखिने गरी पैसा जम्मा भएको छ। तर कार्यविधि नभएको कारण हामीले पैसा सापटी लिन पाएका छैनौ,” नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले मेरो लगानीसँग भने। तर मैनालीले भने जस्तो पैसा सापटी लिन अहिले पनि कुनै कठिनाइ छैन। थोर बहुत पैसा अहिले पनि ब्रोकर कम्पनीहरूले लैजान सक्ने सदस्य सचिव सागर ढुङ्गेल बताउँछन्। के कसरी पैसा चलाउने भन्ने विषय धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ मै व्यवस्था छ। ब्याजदरको विषय समेत विनियमावलीले नै १० प्रतिशत भनेर तोकी दिएको छ।
त्यस आधारमा पनि ब्रोकर कम्पनीले अहिले नै पनि पैसा लैजान सक्ने ढुङ्गेलको भनाई छ। तर के कति रकम दिन सक्ने विषय भने स्पष्ट छैन। यसकोलागि कार्यविधि आवश्यक हुने ढुङ्गेलको तर्क छ। कार्यविधिकै अभावमा पैसा जान नसकेको भन्दै कोषले उक्त कार्यविधि निर्माणको लागि तीन सदस्यीय कार्यविधि मस्यौदा कमिटी समेत गठन गरिसकेको छ। नेप्से प्रशासन प्रमुख निरञ्जन फुयाँलको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति गठन गरिएको राफसाफ कोष सञ्चालन तथा व्यवस्थापन समिति संयोजकले बताए। कार्यविधि बनेर आएपछि सापटी लिन थप सहज हुने बताइएको छ। कोषले हाल उपलब्ध गराउने रकमको ब्याज र ब्रोकर कम्पनीले बैंकबाट प्राप्त गर्दै आएको राफसाफ ओडीको ब्याजमा कोषले उपलब्ध गराउने ब्याजदर सस्तो पर्ने देखिएको छ। कोषले एक साताको लागि १० प्रतिशत ब्याजमा रकम चलाउन पाउने व्यवस्था विनियमावलीमा छ।
यति बेला ब्रोकर कम्पनीले क्लियरिङ बैंक मार्फत बेस रेटमा थप तीन प्रतिशत प्रिमियममा रकम चलाउँदै आएका छन्। धेरै जसो ब्रोकरले ग्लोबल आइएमइ बैंकबाट उक्त रकम चलाउने गरेका छन् भने केहीले प्रभु बैंकबाट रकम चलाउने गरेका छन्। जस आधारमा ग्लोबल आइएमइ बैंकको फागुनको बेस रेट ९.०१ प्रतिशत छ। जुन रेटमा तीन प्रतिशत प्रिमियम थप गर्दा ब्रोकर कम्पनीले १२.०१ प्रतिशत ब्याज भुक्तान गर्नुपर्छ भने प्रभु बैंकको बेस रेट ८.७९ प्रतिशत छ। जसमा तीन प्रतिशत थप्दा ११.८७ प्रतिशत ब्याज पर्छ।यस आधारमा पनि कोषले उपलब्ध गराउने रकम बैंकले दिने भन्दा सस्तो हुन गएको हो। यस अघि कोषले भन्दा सस्तो दरमा बैंकले पैसा उपलब्ध गराएका कारण ब्रोकर कम्पनीहरू कोषको रकम चलाउन इच्छुक थिएनन्। तर अहिले बैंकको ब्याज महँगिँदै गएपछि ब्रोकर कम्पनीले पनि उक्त कोषको रकम चलाउन इच्छा देखाउन थालेका छन्। कार्यविधि बनाइ पैसा उपलब्ध गराउन ब्रोकरहरूले माग गर्न थालेका छन्।
आउने दिनमा ब्रोकर कम्पनीको लागि काेष सहयोगी साबित हुँदै जाने देखिन्छ। तर कोषलाई बढाएर लैजाने कुरामा योगदानकर्ताहरूले अनिच्छा प्रकट गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डले गत जेठमा तीन वर्ष भित्र कोषको आकार एक अर्ब रुपैयाँ पुर्याउनु पर्ने भन्दै निर्देशन जारी गरेको थियो। जस अनुसार चालु आर्थिक वर्ष भित्रै ५० करोड रुपैयाँ पुर्याउनु पर्ने भनिएको थियो। कोषमा नेप्सेले ५० प्रतिशत, सिडिएससिले ३० प्रतिशत र ब्रोकर कम्पनीले २० प्रतिशत दाखिला गर्नु पर्ने निर्देशनमा उल्लेख थियो। नेप्सेले मात्रै असार मसान्तसम्म २५ करोड रुपैयाँ दाखिला गर्नुपर्ने थियो। सिडिएससिले १५ करोड र ब्रोकर कम्पनीले १० करोड रुपैयाँ हाल्नु पर्ने निर्देशनमा थियो। जुन निर्देशनको सबै योगदानकर्ताले अवज्ञा गरे। बाेर्डकाे निर्देशन पालना भएको भए ब्रोकर कम्पनीले हाल बैंकले भन्दा सस्तो ब्याजदरमा रकम पाउने थिए।
धितोपत्र बजारमा कारोबार राफसाफ गर्न ब्रोकर कम्पनीलाई रकम अभाव भए उक्त कोषबाट निश्चित ब्याजदरमा रकम उपलब्ध गराउने गरी राफसाफ कोष खडा गरिएको हो। २०७५ मा कोष खडा भएपनि पर्याप्त रकम अभावले कोषबाट अझैसम्म कुनै पनि सदस्य दलालले कारोबार राफसाफ गर्न भन्दै रकम चलाइ सकेको अवस्था छैन। कोषमा योगदानकर्ताको भूमिकामा नेप्से, केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) र ब्रोकर कम्पनीहरू छन्। नियमावलीले कोषमा नेप्से, सिडिएससि, धितोपत्र दलालले प्रत्येक वर्ष गर्ने खुद नाफाको पाँच वर्षसम्म ०.५ प्रतिशत रकम दाखिला गर्नु पर्ने व्यवस्था गरेको छ। पाँच वर्ष पछि भने ०.२५ प्रतिशत रकम मात्रै दाखिला गर्नु पर्ने व्यवस्था धितोपत्र सूचीकरण तथा कारोबार विनीयमावली, २०७५ ले गरेको छ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को दफा २७ मा भएको व्यवस्था अनुसार २०७५ मा राफसाफ कोष खडा गरिएको हो। हाललाई उक्त कोष सञ्चालनको लागि पाँच सदस्यीय समिति गठन गरिएको छ। नियमावलीले गरेको व्यवस्था अनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृत समितिका संयोजक छन्। सदस्यका रुपमा सिडिएससि र नेपाल स्टक ब्रोकर एसोसिएसन छन्। मेरोलगानी ।