Home Export कोभिडले असर नगरेको भन्दै मूल्य बढेको हाइड्रोपावरको शेयर पनि विस्तारै दुई सय रुपैयाँ भन्दा तल

कोभिडले असर नगरेको भन्दै मूल्य बढेको हाइड्रोपावरको शेयर पनि विस्तारै दुई सय रुपैयाँ भन्दा तल

by ईलालटिन
0 comment

काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा नेप्से परिसूचक पनि तीव्र गतिमा झर्न थालेको छ । केही हप्ता अगाडिसम्म वाणिज्य बैंक र सोल्टी होटल मात्रै २ सय रुपैयाँ तल रहेकोमा आइतबारको कारोबार पछि भने धेरै हाइड्रोपावर कम्पनीको शेयर पनि २ सय मुनि झरेको छ । आइतबार एकैपटक हाइड्रोपावर समूहका ४ वटा कम्पनी २ सय भन्दा तल्लो विन्दुमा झरेको हो ।

कुनै समय थियो हाइड्रोपावरको कम्पनी भन्नासाथ अंकित मूल्य भन्दा पनि तल कारोबार हुन्थ्यो । अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य ५० रुपैयाँको हाराहारीमा थियो । चिलिमे, बुटवल पावर, सानिमा हाइड्रोलगायतका केही कम्पनीहरुलाई छोडेर प्रायः हाइड्रोपावर कम्पनीको शेयर भनेको प्रतिफल नदिने भन्ने जनमानसमा थियो ।

सन् २०२० को शुरुवातमा कोभिड शुरु भएपछि भने त्यही शेयर एकाएक चम्किन थाले । कोभिडको संक्रमण शुरु भएसँगै देशमा लकडाउन भयो । पर्यटन, उद्योग, व्यापार सबै डामाडोल भए । त्यसबेला कोभिडले नछोएको एउटै क्षेत्र भनेको हाइड्रोपावर क्षेत्रलाई मानिन्थ्यो । कोभिड संक्रमणपछि केही समय बन्द भएर खुलेको शेयर बजारमा लगानीकर्ताहरु अलमलमा थिए । कोभिड संक्रमणलाई सबै भताभुंग भएको बेला कोभिडले असर नगर्ने क्षेत्र भन्दै हाइड्रोपावरको शेयरमा लगानीकर्ता ओइरिन थाले । ५०–६० रुपैयाँमा पाइने हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सर्किट ब्रेक लागेर बढ्न शुरु गर्यो ।

१५५० को विन्दुमा रहेको हाइड्रोपावर समूह सूचक बजार उच्च विन्दुमा हुँदा ३८६५ को उच्च विन्दुसम्म छोएर पछिल्लो समय घट्न थालेको छ । आइतबार बजार बन्द हुँदासम्ममा हाइड्रोपावर समूहको परिसुचक २१८६ विन्दुसम्म झरेको छ ।आइतबार समग्र परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा पुगेर रोकिएको बेला अधिकांश समूहगत परिसूचकमा पनि गिरावट नै देखिएको छ । १ अर्ब १३ करोडको मात्रै कारोबार भएकोमा समूहगत रुपमा भने सबैभन्दा बढी हाइड्रोपावर समूहकै उपसूचकमा गिरावट आएको छ । यो समूहको परिसुचक ३.८५ प्रतिशतले गिरावट आउँदा ८७.४७ अंकले घटेर २१८६.३९ विन्दुमा पुगेको हो ।

हुनत पछिल्लो समय एकदमै धेरै बढेको विकास बैंक समूह र फाइनान्स समूहमा पनि आइतबार ३ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो । लगातार घट्दै गएको बजारमा आइतबारसम्म आइपुग्दा हाइड्रोपावर कम्पनीहरुमा घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावरलगायतको कम्पनीहरु २ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भएका छन् । नेप्सेका अनुसार घलेम्दी हाइड्रोपावर १९५ रुपैयाँमा अन्तिम कारोबार भयो । यो कम्पनी झन्डै १ वर्ष अगाडि अधिकतम ५ सय २१ रुपैयाँसम्म कारोबार भएको थियो । आइतबार मूल्यलाई उच्च मूल्यसँग तुलना गर्दा यो ६२.५७ प्रतिशतको गिरावट हो । त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनी आइतबार १९४ रुपैयाँमा अन्तिम कारोबार भयो । यो कम्पनी उच्च विन्दु हुँदा गत वर्ष अगष्ट १८ मा ४९२.४० रुपैयाँसम्म कारोबार भएको थियो ।

आइतबारको मूल्यसम्म गिरावट हुँदा यो कम्पनीका लगानीकर्ताले ६०.६० प्रतिशतले गुमाएको छन् ।  जोशी हाइड्रोपावर कम्पनी आइतबार १९६ रुपैयाँमा कारोबार भयो । उच्च मूल्य हुँदा अगष्ट १७, २०२१ मा कम्पनीको शेयर मूल्य ४७२ रुपैयाँसम्म पुगेको थियो । अहिले मूल्यमा यो ५८.४७ प्रतिशतको गिरावट हो । त्यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइतबारको अन्तिम मूल्य १८८.३० हो । यो कम्पनी गत अगष्ट १७, २०२१ मा ४४० रुपैयाँसम्म कारोबार भयो । उच्च विन्दुबाट यो ५७.२० प्रतिशतको गिरावट हो । आइतबार २ सय भन्दा मुनि आएको ४ वटै हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई अहिलेसम्म कुनै लाभांश वितरण गरेको छैन ।

बजारमा तरलता अभावका कारण व्याज दरमा उच्च वृद्धि हुँदा लगानीकर्ताले लाभांश दिने कम्पनीहरु विस्तारै २ सय मुनि आएकाले यसले घट्दो बजारमा लगानीकर्ताहरु लाभांश निश्चित भएका कम्पनीतर्फ आकर्षित भएको हुन सक्ने एक लगानीकर्ताले बताए । आइतबार ४ वटा हाइड्रोपावर कम्पनीसँगै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट, सोल्टी होटल्स र सेञ्चुरी कमर्सियल बैंक पनि २ सय भन्दा तल शेयर मूल्य भएको सूचीमा समेटिएका छन् । सोल्टी होटल्सको शेयर मूल्य २ सय भन्दा मुनि नै रहे पनि यसको अंकित मूल्य १० रुपैयाँ मात्रै रहेको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com