काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको साधारण शेयरमा २६ लाख ३४ हजार ६२६ आवेदन परे। परेका आवेदनमा २५ लाख ४० हजार आवेदन अनलाइनबाट परेका हुन्। वाँकी आवेदन मात्रै सर्वसाधारणले बैंक वित्तीय संस्थामै गएर भौतिक रुपमा दिएका हुन्। जुन कुल आवेदनमा ९६.४० प्रतिशत आवेदन अनलाइन मार्फत परेको हो। वाकी ३.५९ प्रतिशत मात्रै भौतिक रूपमै परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले जनाएको छ।
अनलाइन मार्फत नै -परेको करिव ९७ प्रतिशत आवेदनले भौतिक रुपमा बैंक वित्तीय संस्थामा गएर नै साधारण शेयरमा आवेदन दिने युगको लगभग समाप्त भएको छ। एक वर्ष अघिसम्म पनि बैंक वित्तीय संस्थामा गएर साधारण शेयरमा आवेदन दिनेको सङ्ख्या करिव ४० प्रतिशत थियो। तर जति जति नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरिरहेका छन्। सबैजसो लगानीकर्ता स्मार्ट देखिएका छन्। स्मार्ट लगानीकर्ताको प्रवेश र पुराना लगानीकर्ता समेत स्मार्ट विधिमै अभ्यस्त हुँदै जाँदा भौतिक युगको समाप्ति भएको सिडिएसिको भनाइ छ।
नेपालमा कुनै दिन यस्तो पनि थियो। जुन बेला लगानीकर्ताले साधारण शेयरमा आवेदन दिन मात्रै घण्टौँ लाइनमा बिताउनु पर्थ्यो। बैंक वित्तीय संस्था अघि हुने ठूलो लाइनका कारण बिक्री प्रवन्धकले छुट्टै व्यवस्था समेत गर्नु पर्थ्यो। उनीहरूले कुनै पार्टी प्यालेस वा फराकिलो ठाँउको व्यवस्था समेत गर्ने गरेका थिए। तर पछिल्लो समय भने शेयर आवेदन खुल्दा समेत बैंक तथा वित्तीय संस्थामा खासै चाप हुँदैन। अनलाइन कै कारण उक्त चाप स्वाट्टै घटेको हो।पछिल्लो समय लगानीकर्ताले सिडिएसिले उपलब्ध गराएको अनलाइन सुविधा प्रयोग गर्दै साधारण शेयरमा आवेदन दिन्छन्।
सिडिएससिले सञ्चालन गरेको मेरो शेयर वेबसाइट उपलब्ध सि-आस्वा फिचर मार्फत लगानीकर्ताले आवेदन दिन्छन्। जसबाट आवेदन दिँदा लगानीकर्ताले बैंक वित्तीय संस्था धाउनु पर्दैन। जसले गर्दा पनि अनलाइनबाटै साधारण शेयर भर्ने बढेका हुन्। आवेदन दिन सजिलो भएकै कारण साधारण शेयरमा आवेदन दिनेको सङ्ख्या समेत उल्लेख्य बढेको छ। पछिल्लो समय निष्काशन भएको साधारण शेयरमा २७ लाख भन्दा बढीको आवेदन पर्यो। जाल्पा सामुदायिक लघुवित्तको साधारण शेयरमा २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए। जुन अहिले सम्मकै सर्वाधिक आवेदनको रेकर्ड हो। डिम्याट खोल्ने कै सङ्ख्या ५० लाखको हाराहारीमा पुगेका कारण पनि आवेदन दिनेको सङ्ख्या बढेको हो। सोमबारसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ४९ लाख ७२ हजार पुगेको सिडिएसिको भनाइ छ।
आवेदनकर्ता बढे सँगै सर्वसाधारणको खर्च समेत बढेको छ। न्यून मात्रामा आवेदन खुल्ने तर उल्लेख्य मात्रमा आवेदन पर्दा धेरै जसो लगानीकर्ताले शेयर भर्नकै लागि तिर्नु पर्ने रकमका कारण उनीहरूको खर्च बढेको हो। सर्वसाधारणले गर्ने खर्च सामान्य देखिए पनि लाखौँ लगानीकर्ताबाट उठ्ने रकमका कारण बैंक वित्तीय संस्थाले भने करोडौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्। एउटै कम्पनीको प्राथमिक शेयर निष्कासन हुँदा समग्र बैंक वित्तीय संस्थाले करिब तीन करोडको हाराहारीमा आम्दानी गर्ने थालेका छन्। कुनै पनि बैंक वित्तीय संस्थाले साधारण शेयर भर्दा न्यूनतम प्रति आवेदन १० रुपैयाँ देखि एक सय रुपैयाँ सम्म लिने गरेका छन्। यस आधारमा पनि परेका आवेदनको आधारमा न्यूनतम १० रुपैयाँकै दरले जोड्दा पनि करोडौँ रुपैयाँ बैंक वित्तीय संस्थाले उठाउने गरेको देखिएको हो। पछिल्लो समय मात्रै राष्ट्र उत्थानमा २६ लाख ३४ हजार ६२६ आवेदन परे।
यस आधारमा प्रति आवेदन १० रुपैयाँकै दरले जोड्ने हो भने पनि बैंक वित्तीय संस्थाले उक्त आवेदनबाट मात्रै दुई करोड ६० लाख रुपैयाँ आम्दानी गरे। -प्रविधिले साधारण शेयरमा आवेदन दिन सजिलो बनाएको भए पनि सर्वसाधारणको खर्च भने बढाएको छ। अनलाइन वा भौतिक रूपमै उपस्थित भएर आवेदन दिँदा समेत न्यूनतम शुल्क काट्ने गरिएको कारण लगानीकर्ता भने निवेदनकै १० रुपैयाँ तिर्नु पर्ने अवस्था सिर्जना भएको छ। यस अघि भौतिक रूपमै उपस्थित हुँदा लगानीकर्ताले आवेदन नै दिन कुनै शुल्क तिर्नु पर्दैन थियो। तर अहिले भौतिक रूपमै आवेदन दिँदा समेत शुल्क तिर्नु पर्ने अवस्था आएकोमा भने लगानीकर्ता मर्कामा परेका छन्। मेरोलगानी ।