काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी भित्र राजनीतिक खिचातानीको चलचित्र छायाँकन भइरहँदा यस्का एक अभिनेता अर्थात नेकपाका उपाध्यक्ष बामदेव गौतम भने यतिबेला गीत लेख्नतर्फ केन्द्रित बनेका छन् । गौतमले यो ‛मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका हुन् ।
राजनीतिक लेख रचनाहरु बेलाबेला लेख्दै आएको नेता गौतमले आफ्नो यस गीतको यूटयुवबाट सार्वजनिक गरेका छन् । गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर रहेको छ ।
गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कनकर्ता दीर्घ गुरुङ हुन् । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।
शुक्रबार युट्युवबाट सार्वजनिक भएको यस गीत राम्रो भएपनि अधिकांश दर्शकहरु भने नेता बामदेवका विरुद्ध प्रतिक्रियाहरु दिइरहेका छन् । धेरैले कागजमा गीत लेखेर राष्ट्रियता देखाउन खोजेको भन्दै आक्रोस समेत ब्यक्त गरेका छन् । फेसबुकमा पोष्ट गरिएको उनको गीतमा प्रतिक्रिया दिँदै राम शर्मा लेख्छन् –“रियल लाईफमा राष्ट्र विरोधी कार्यगर्ने अनि गीत लेखेर राष्ट्रप्रेमी बन्न खोज्ने ?”
