काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ। मुलुकभित्र उत्पादित विद्युत बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने सर्त राखी उद्योगहरूलाई विद्युत उपलब्ध गराउन लागेको हो।
प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत आपूर्ति लिन आग्रह गरे। उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत आपूर्ति लिइरहेका छन्। ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युतको महसुल सस्तो छ।
‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत खेर फाल्नु पर्ने अवस्था छ, लाइन ट्रिपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ,’ घिसिङले भन्नुभयो, ‘यस्तो अवस्था अन्त्यका लागि एउटा/दुई वटा टान्सफर्मर, पोल, कन्डक्टरजस्ता उपकरण थपेरमात्रै नहुने देखिएको छ, यसका लागि मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदैछौं। उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको- सुदृढीकरण गरी विद्युत खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए।
‘हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व-पश्चिम विद्युत आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ,’ उनले भने,‘प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रूख कटानीको स्वीकृति भएमा भएको ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेका छौं।’ औद्योगिक करिडोरले व्यहोरिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या समा-धानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनिकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको प्रतिबद्धता जनाए।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ। दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइ-न तथा सबस्टेसन निर्माण सुरू गरिने छ। कार्यक्रममा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिले मोरङ-सुनसरी औद्योगिक करिडोरमा सञ्चालित उद्योगले व्यहोरिरहेको विद्युत आपूर्तिका विषयमा जानकारी गराएका थिए। संगठनहरूले दैनिक रूपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन्।
मोरङ-सुनसरी औद्योगिक करिडोरअन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ। विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य म-हासंघ, उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संघठनका प्रतिनिधि सदस्य छन्। समितिले विद्युत् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायसहित सुझाव दिने प्राधिकरण प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनरका निर्देशक राजन ढकालले जानकारी दिए। सेतोपाटी ।