उक्त आयोजनाको विद्युतगृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युतगृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनाका साथै करीब एक किमी क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको छ ।
ढालेको टावर निर्माणमा मात्रै करीब रू. डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक रू. १० देखि ११ लाखको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।
बाढी र पहिरोका कारण नोक्सान मात्रै रू. पाँच करोडभन्दा बढी भएको उनले बताए । अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उनको भनाइ छ । आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सान मात्रै गरी करीब रू. सात करोड भइसकेको उनले बताए ।
सोही दिनको पहिराले युनाइटेड मोदी कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करीब दुई साता धवलागिरिको विद्युत् प्रसारण रोकिएको थियो । टावर पुरानै अवस्थामा पुनर्निर्माण गर्न अझै केही महीना लाग्ने कम्पनीले जानकारी दिएको छ । टावर निर्माणमा ढिलाइ हुने भएपछि विद्युत् प्राधिकरणले प्रसारण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत् प्रसारण लाइनमा पठाएको छ ।
‘अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाइएको छ’, कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने, ‘मोदीको टावर बनेपछि सोही टावरमा जोडिन्छ ।’ सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३ दशमलव ६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो । युनाइटेड मोदीको तल्लोमोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।
गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्रसारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।