नेपालको सबैभन्दा लामो राजनीतिक इतिहास बोकेको पार्टी नेपाली काङ्ग्रेस १४ औँ महाधिवेशनको सङ्घारमा छ। कोभिड विश्व महामारी का बिच पार्टी महाधिवेशन कार्य तालिका थोरै प्रभावित देखिए पनि केही दिन अघि काङ्ग्रेस पार्टी विधानको धारा ७२(४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् महाधिवेशनको कार्य तालिका निर्माण भई प्रक्रिया अघि बढेको परिस्थितिमा काङ्ग्रेस केन्द्र देखि गाउँ तहसम्म महाधिवेशनको चर्चाले स्थान पाएको छ।
अघिल्लो आम निर्वाचनमा कम्युनिस्ट एकताको नाममा भएको जनमतको खिल्ली उडाउने काम र देशको वर्तमान विषम परिस्थितिलाई हेर्दा काङ्ग्रेस १४ औँ महाधिवेशन निकै अर्थपूर्ण देखिएको छ। काँग्रेसी नेताहरूको दौडधुप, कार्यकर्ताको उत्साह, आम जनता र मिडियाको उच्च चासोले पनि आगामी काङ्ग्रेस महाधिवेशन कति संवेदनशील र अर्थपूर्ण छ भन्ने प्रस्ट हुन्छ।
राजनीतिक दलको महाधिवेशनमा कानुनी योग्यता पुगेको सदस्य सामान्यतया जो पनि नेतृत्वका लागि उम्मेदवार हुन पाउँछ। तसर्थ नेपाली काङ्ग्रेसको आगामी महाधिवेशन मार्फत नेतृत्वमा आउन धेरैको दाबी हुनु स्वाभाविक नै हो। तर काङ्ग्रेसको लोकतान्त्रिक छविलाई उँचो राख्दै, आँपैले बनाएको संविधानको मर्म र गरिमाको रक्षा गर्दै, देशको भौगोलिक साम्प्रदायिक अखण्डताको पक्षमा सतिसाल झैँ खडा हुने नेतृत्व आज र भोलिका काङ्ग्रेसका लागि आवश्यक छ।
काङ्ग्रेस सभापतिका लागि सेर बहादुर देउवा देखि कल्याण गुरुङ सम्म थुप्रै नेताहरूको इच्छा देखिन्छ। सबैको उम्मेदवारीका आ आफ्नै सकारात्मक पक्षहरू छन्। वर्तमान सभापति पूर्व प्रधानमन्त्री देउवा सभापति अाकाङक्षि मध्येमा सबैभन्दा अग्लो राजनीतिक कद बनाएका पात्र हुन भने वरिष्ठ नेता पौडेल अघिल्ला पुस्ताका राजनीतिज्ञहरू मध्ये सापेक्षिक रूपमा नीति निष्ठाको राजनीति गर्ने एउटा उदाहरणीय नेता हुन। त्यस्तै दोस्रो पुस्तामा आउँदा विमलेन्द्र निधिकाे स्पष्ट वैचारिक अडान, शशाङ्क कोइरालाको बिपी लेगेसि तथा आम काङ्ग्रेसजन सँगको छुट्टै ईन्टिमेसि, शेखर कोइरालाको

काङ्ग्रेस वृत्तमा बढ्दो जनधार, कृष्ण सिटाैलाको सैद्धान्तिक स्पष्टता, प्रकाशमान सिंहको गणेशमान लेगेसि एवम् काठमाडौँ जनधार, कल्याण गुरुङको युवा जोस आदि आदि कारणले यी सबैको नेतृत्व अकाङक्षा स्वाभाविक नै देखिन्छ । यसबिच सबैभन्दा बढी चर्चाको विषय वर्तमान उपसभापति विमलेन्द्र निधीको १४ औँ महाधिवेशनमा काङ्ग्रेस सभापतिका लागि उम्मेदवारीलाई लिएर भएको छ।
२०२८ सालमा देउवा ने बि सङ्घको अध्यक्ष हुँदा देखि, पार्टी छुट्टिएर काङ्ग्रेस प्रजातान्त्रिक बनाउने र १३ औँ महाधिवेशनमा देउवालाई सभापति निर्वाचित गर्दासम्म लगभग आद्या शताब्दी सँगै सहकार्य र सहयात्रा गरेका काङ्ग्रेस सभापति र उपसभापतिको मित्रता र समीकरणको इतिहास लामो र आत्मीय छ। केही महिना अगाडि देउवा र निधि बिच बुढानीलकण्ठमा महाधिवेशन केन्द्रित एउटा महत्त्वपूर्ण र एेतिहासिक संवाद भएको थियो। जसको भाव र अर्थले काङ्ग्रेस राजनीति र समग्र राष्ट्रिय राजनीति नै फेरि एक पटक गतिशील मोडमा पुगेको हामीले बुझ्न सक्छौँ। जुन संवादको हिस्सामा हामी प्रश्न, जवाफ, प्रतिजवाफ र फेरि उत्तर पाउन सक्छौँ। यी सबै परिदृश्यका बिच विमलेन्द्र निधीको उम्मेदवारी थुप्रै अायमबाट अर्थपूर्ण र प्रयोजनीय छ। उपरोक्त उम्मेदवारीले दिने सन्देश र भावबारे मैले यहाँ केही चर्चा गर्ने प्रयत्न गरेको छु।
सांस्कृतिक सन्देश :
नेपाल राज्यको संरचनाले मधेसी नागरिकलाई As a second citizen treat गरेको कुरा सत्य साँचो हो। कतिपय मिसाल तपाईँ हामी अझै पनि भेट्न सक्छौँ। यस्तोमा नेपालको लिडिङ डेमोक्रेटिक पार्टीको नेतृत्वका लागि काङ्ग्रेसको उर्वर भूमि तराई मधेस बाट नै उम्मेदवार अाईदिंदा यसको सांस्कृतिक सन्देशको महत्त्व कलमले लेख्न सम्भव नहोला। भारतको नाकाबन्दी पछि ठुलो राष्ट्रवादीका पगरी गुथेका केपी वलिको वास्तविक चरित्र उदाङ्गो भइरहँदा मधेसका साेकल्ड मसिहा ठाकुर महताेको नियत र नैतिकता दुवै खुस्किरहँदा यो देशको साम्प्रदायिक भौगोलिक अखण्डता कायम राख्न निधिको उम्मेदवारी एउटा सकारात्मक किरण हुन सक्छ।
निरन्तरको उग्र वामपन्थी प्रहार त हामीले खेपेकै छौँ पछिल्लो समय फरक पहिचान प्रति आशङ्का, जातीय विद्वेष, उग्रराष्ट्रवादको उभारले उदारवादी दल काङ्ग्रेसमा पनि द्विविधा उत्पन्न गराइदिएको छ। झन् प्रगतिशील बाटोमा लाग्ने कि अरूले झैँ जनरञ्जनको राजनीतिलाई अङ्गाल्ने! यो द्दिविधाको असर काङ्ग्रेसमा अहिले प्रस्ट देखिएको छ। धर्म, नस्लवाद या राष्ट्रवाद जे सुकैको पनि धुवाँले मानिसको दिमाग भरिएपछि त्यसले उत्पन्न गर्ने मानसिकता आफ्नो उत्कृष्टता र अरू प्रतिकाे घृणा हो। यो मानसिकताले Reason र Rationality मार्छ। खास प्राथमिकता बाट विमुख गराउँछ। समाजलाई हिंसातिर धकेल्छ। नेपाल अहिले यही बाटोमा जोडतोडका साथ अघि बढिरहेको छ, यसलाई रोक्न मानवतावादी उदार लोकतन्त्रका हिमायती हरू पार्टी भित्र र पार्टी बाहिर पनि एक मत हुन जरुरी छ।
राजनीतिक सन्देश:
नेपालको गणतान्त्रिक करणमा नेपाली काङ्ग्रेसको अहम् भूमिका छ।काङ्ग्रेस पार्टी भित्र गणतन्त्रको एजेन्डालाई उजागर गरेर सिङ्गो पार्टीलाई गणतन्त्रको एजेन्डामा कन्भिन्स गर्ने कामको अगुवाइ निधिले नै गरेको देखिन्छ । एेतिहासिक संविधानसभाले संविधान निर्माण गर्ने बेला मधेसमा आन्दोलन थियो, त्यसका बाबजुद काङ्ग्रेसकै नेतृत्वमा संविधान जारी र केही हदसम्म कार्यान्वयन पनि भयो। नेपालको राजनीतिमा मधेस फ्याक्टर सधैँ निर्णायक र संवेदनशील रहँदै आएको छ। काङ्ग्रेसले आफैले बनाएको व्यवस्था र संविधानको निरन्तरताका लागि वर्तमान संविधानका प्रावधानहरूमा दृढ र संविदावाद मान्ने व्यक्ति काङ्ग्रेस सभापतिका लागि योग्य देखिन्छ।
विमलेन्द्र निधिले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र शान्ति- अहिंसा यी नौ मुद्दामा आजको काङ्ग्रेस र आफू खडा हुने कुरा विभिन्न फाेरममा राख्दै आएको पाइन्छ। समावेशिताको मुद्दा अहिले आएर झन् पेचिलो बनेको छ। आम सरोकारको विषय समानतालाई पहिलो प्राथमिकतामा राख्दै विश्वराजनीतिमा ‘लोकतान्त्रिक समाजवाद’ लाई ‘सामाजिक लोकतन्त्र’ ले प्रतिस्थापन गर्दै गएको पनि पाइन्छ। समावेशिताको नारा विमलेन्द्र निधिहरुले जनआन्दोलन पछि लगाएको हैन, २०५८ सालमा नेपाली काङ्ग्रेस प्रजातान्त्रिक पार्टी रहँदै पार्टीको केन्द्रीय समितिमा
कदमजम ( कर्णाली, दलित, महिला, जनजाति, मधेसी ) अबधाराणा आएको थियो। पछि ११ औँ महाधिवेशनले त्यसलाई पारित गरेको थियो। यसरी लोकतान्त्रिक उदारवादको हिमायती काङ्ग्रेस पार्टीको छविलाई सैद्धान्तिक र व्यवहारिक दुवै रूपमा उदार र लोकतान्त्रिक राखिरहन निधिको विचार र व्यक्तित्वले टेवा पुग्ने देखिन्छ।
अन्तर्राष्ट्रिय सन्देश :
नेपालको पहाडी क्षेत्रमा मधेस तराई क्षेत्रको प्रतिनिधित्व गर्ने जो कोहीलाई भारतसँग जोडेर दुष्प्रचार गर्ने नराम्रो प्रचलन छ। यो समस्या व्यवहारिक नभएर दृष्टिगत समस्या हो, यसमा परिवर्तनको खाँचो देखिन्छ । नेपाल भूराजनीतिक दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा छ। दुई ठुला विश्व राजनीतिमा महत्त्व राख्ने देशको बिचमा रहनुको संवेदनशीलता लाई सामान्य रूपमा लिनु हुँदैन। भारत सँग नेपालको आर्थिक, कूटनैतिक मात्रै नभएर सांस्कृतिक सम्बन्ध पनि छ। नेपाल भारत सम्बन्धमा कडबाहट कुनै पनि पक्षबाट नेपालका लागि सकारात्मक देखिँदैन। विश्व राजनीतिको ध्रुवीकरण हुँदा विश्वव्यापी मापदण्ड अनुरूप नै सामान्यतया एक ध्रुव अमेरिकाले नेतृत्व गर्ने लोकतान्त्रिक, उदारवादी मानवतावादी ध्रुव र अर्को रसिया चिनले नेतृत्व गर्ने साम्यवादी, समाजवादी कट्टरपन्थी ध्रुव। यी दुई ध्रुवको घर्षणमा लोकतान्त्रिक मानवतावादी उदारवादी विश्व शक्तिहरू सबैको सद्भाव सोही विचार मुद्दामा दृढ र प्रेरित व्यक्तिका लागि रहन सक्छ।
आन्तरिक गुट व्यवस्थापन ;
पार्टी भित्र विचार एजेन्डा र भावना मिल्नेहरूको समूह निर्माण भईरहन्छन र टुक्रि पनि। १३ अाै महाधिवेशनमा बनेका तीन धार अहिले पनि कायम छन्, तर १४ महाधिवेशनको अगावै सबै समूहमा विभाजनको सङ्केत प्रस्ट देखिन्छ । शेर ब देउवा र रामचन्द्र पाैडेललाई अाम रूपमा काङ्ग्रेसको पहिलो पुस्ताका रूपमा लिइएको पाइन्छ। पुस्ता हस्तान्तरणका कुरामा दोस्रो पुस्ताका रूपमा विमलेन्द्र निधि, शशाङ्क कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाहरूको चर्चा चलेको छ। यस्तो अवस्थामा दोस्रो पुस्तामा नेतृत्व आउनका लागि सहमतिको सम्भावना कम मात्रै देखिन्छ। निर्वाचन बाट नै दोस्रो पुस्ता आउनका लागि कुनै एकले आफ्नो विचार र एजेन्डाका आधारमा वृहत् समूह निर्माणको अभ्यास र पहल गर्नुपर्ने देखिन्छ।
काङ्ग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा निकै नै आसा गरिएका बहुचर्चित नेताहरू हुन। दुबैको राजनैतिक सुझबुझ र वाककलाले काङ्ग्रेस भित्रका थुप्रै उच्च मध्यम लेयरका नेताहरूको राजनीतिक करिअर मै थ्रेट उत्पन्न गराइदिएको छ । म र मेरो पुस्ता यी दुई जनालाई नै राजनीतिक आदर्श मान्दै हुर्कियौँ। दुवै जनालाई सुन्दै हेर्दै बुझ्दै आएका छौँ। देश तथा विदेशको राजनीतिलाई पनि मिहिन ढङ्गले केलाउन सक्ने दुवै नेताहरू निस्फिक्री भएर लोकतान्त्रिक उदारवादी समाज र राजनीतिको वकालत गरेको सुनेका छौँ। पार्टी भित्र उदारवादी समाज, सामाजिक लोकतन्त्र, प्रगतिशील विचार धाराको नारा सहित ध्रुवीकरण हुँदा विश्वप्रकाश गगन एउटै कित्तामा उभिनु पर्ने सत्यलाई नकार्न मिल्दैन। यस्ताेमा हामीले आसा गरिएका नेताहरूलाई हामी हेरिरहेका छौँ, कि उनीहरू आफ्नो अाकाङक्षित पद सुरक्षित गर्न हिँडिरहेका छन् या पार्टी भित्र मौलाएको बिचार शून्यता, गन्तव्यविहिनता, अराजकतालाई हटाउन आफ्नो उदार प्रगतिशील सोचलाई पछ्याइरहेका छन् ! विगत केही दिनयता नेतात्रय विमलेन्द्र निधि प्रकाशमान सिंह र शशाङ्क कोइरालाको लगातारको भेट र छलफल सकारात्मक हुनु, केन्द्रीय सदस्यहरू सँगको छलफलमा पनि सकारात्मक प्रतिक्रिया आउनुले आन्तरिक गुट व्यवस्थापन, शक्ति बाँडफाँड र थुप्रै नयाँ पुराना नेताहरूको उचित प्लेसमेन्ट निधि नेतृत्वमा सम्भव देखिन्छ।
हामी भित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने काङ्ग्रेस
अघिल्लो निर्वाचनका बेला सार्वजनिक भएको यो स्टेटमेन्ट तत्कालीन समयको स्युडाे राष्ट्रवाद र मधेस माथिको विष वमन प्रति लक्षित थियाे। राष्ट्रवाद केपी वलि जस्तै अाडम्बरी हुन्छ, खोक्रोपन र क्षणभङ्गुरताले भरिएको पानीको फोका जस्तै। यसले राष्ट्रलाई समेट्दैन बरु द्वेष विभाजन र कलह जन्माउँछ। हामी भूगोलले, संस्कृतिले, भाषाले अरू थुप्रै कारणले फरक छौँ, भिन्न छौँ। तर फरक भईकन पनि एउटै छौँ। तसर्थ हामीले म पहाडको, म आर्य, म मैथिली भन्दै गर्दा हाम्रो ‘म’ हामी भित्र लुकेको कुरा भुल्न हुँदैन। देशलाई यही विविधताले जोड्नुपर्छ भन्ने यश वाक्यांशको भाव हो।
आज त्यही भावलाई चरितार्थ गर्न काङ्ग्रेस भित्र नश्लिय चिन्तन छैन, बरु व्यक्तित्व, योगदान, मुद्दा, एजेन्डा विचारलाई हेरेर नेतृत्व छान्ने पद्धति छ। नस्ल, जाति,भूगोल,भेसभुसा हेरेर काँग्रेसीले फरक गर्दैनन् भन्ने पुष्टि गर्ने बेला आएको छ। अक्सर मान्छेहरू काङ्ग्रेस र कम्युनिस्ट बिचको फरक सोध्ने गर्छन्, मैले त्यसलाई इतिहासको आधारमा भन्छु : काङ्ग्रेसको इतिहास यस्तो छ कि ऊ चाहेर पनि एक हदभन्दा बढी साम्प्रदायिक हुन सक्दैन, र कम्युनिस्टको इतिहास यस्तो छ कि उ चाहेर पनि एक हदभन्दा बढी लिबरल बन्न सक्दैन। यही फरक हो काङ्ग्रेस र कम्युनिस्ट बिच निधिको उम्मेदवारीलाई मधेसी र दक्षिणपन्थीका ट्याग लगाउन पार्टीभित्रकै केही नश्लिय चिन्तनका मान्छेहरू उद्धत देखिन्छन्। जसले पार्टीको मूल मर्म उदारवादलाई मार्दै छ। अरू थुप्रै कारण तर्कहरू हुन सक्छन् निधिको बर्खिलापमा तर एउटा काङ्ग्रेसले यो मधेसी हो, सभापति बन्न दिनुहुँदैन भन्ने जस्तो नीच तर्क कृपया नगर्नुहोला ! यस्तो चिन्तन एउटा काङ्ग्रेसको हुन सक्दैन।
– निष्कर्ष
विमलेन्द्र निधि आसन्न १४ औँ काङ्ग्रेस महाधिवेशनमा सभापति उम्मेदवार बन्ने कुरा जुन आइरहेको छ, त्यो तमाम काङ्ग्रेसजनक लागि सकारात्मक खबर हो। सेर बहादुर देउवा जो फेरि निधिको सहयोगमा सभापति दोहोरिन चाहन्छन् उनका लागि भने यो खबर अप्रिय र नकारात्मक हुन सक्छ।निधिको उम्मेदवारी स्वाभाविक सहज मात्रै होइन थुप्रै पक्षबाट अर्थपूर्ण र प्रयोजनीय छ। नेपालको सबैभन्दा लोकतान्त्रिक भनिएको मानिएको काङ्ग्रेस पार्टी र नेपालका सबै लाेकतन्त्रवादिहरुको अबको चिन्तन संविधान र पद्धतिको को जगमा लाेककल्याणकारी राज्यको स्थापना गरी खुला समाज र उदारवादी सोचलाई बढवा दिनु तर्फ हुनु पर्नेछ। र यसका लागि आगामी काङ्ग्रेस महाधिवेशन मार्फत हिमाल पहाड तराई समग्र देशभरिका महाधिवेशन प्रतिनिधिले साम्प्रदायिकता बाट माथि उठेर उदारवादी, लोकतान्त्रिक उच्च छविको व्यक्तिलाई सभापति निर्वाचित गर्नुपर्ने गहन जिम्मेवारी काङ्ग्रेस समक्ष छ।