काठमाण्डौं । सेयर बजारमा हाइड्रोपावर कम्पनीहरुको मूल्य उचालिएपछि विद्युत नियमन आयोगले अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेको छ।
एक सूचना जारी गर्दै आयोगले लगानीकर्ता स्वयम्ले नै सम्वन्धित प्रवद्र्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्था अध्ययन गरी निर्णय गर्नुपर्ने धितोपत्र बजारको सामान्य सिद्धान्त रहेको प्रष्ट्याएको छ।
सूचीकृत कम्पनीहरुले जानाजान रुपमा लगानीकर्ता झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने कम्पनीविरुद्ध कारबाही गरिने आयोगले दावी गरेको छ।
हरेक किसिमको लगानीमा फरक फरक जोखिम हुने भएकाले सम्भावित मुनाफाको मूल्याङ्कन गर्दा त्यससँगै आउने जोखिमको पनि ध्यानपूवर्क आंकलन गर्न आयोगले आग्रह गरेको छ।

आयोगले विभिन्न पक्षहरु अध्ययन गरेर मात्रै लगानीको निर्णय गर्न सुझाएको छ। कम्पनीको नेटवर्थ, चुक्ता पुँजी, सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपात, चालु सम्पत्ति र चालु दायित्वको अनुपात, तरलता अनुपात अध्ययन गर्न आयोगले सुझाव दिएको छ।
त्यस्तै निर्माणाधिन आयोजनाको हकमा कार्यप्रगति, विद्युत प्रवाह हुने प्रशारणलाइनको कार्यप्रगति पनि अध्ययन गर्न सुझाएको छ।
व्यापारिक उत्पादन गर्नुपर्ने मितिसम्म आयोजनाको निर्माण हुने, नहुनेबारे पनि प्रष्ट हुन आयोगले भनेको छ। आयोजनाको सञ्चित मुनाफाको अवस्था, विगतमा दिएको लाभांश, आयोजनाले उत्पादन गरिरहेको क्षमता, प्रतिमेगावाट लागत अध्ययन गर्न पनि आयोगले सुझाव दिएको छ।