Home समाचार विपन्न, असहायलाई दिइने कोषबाट पूर्वमन्त्री झालाई १७ लाख

विपन्न, असहायलाई दिइने कोषबाट पूर्वमन्त्री झालाई १७ लाख

by ईलालटिन
0 comment

जनकपुरधाम । प्रदेश २ सरकारले असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई सहायता गर्न स्थापना गरेको मुख्यमन्त्री कोषबाट पूर्वमन्त्री, प्रदेश सभा सदस्य तथा नेता निकटस्थ व्यक्तिलाई  नै पैसा बाँडेको पाइएको छ।

पूर्वराज्यमन्त्री डिम्पल झा, प्रदेश सभा सदस्य रामकुमार यादव, शिवचन्द्र चौधरी लगायतले असहाय, विपन्न र अशक्तले पाउने रकम हात पारेका छन्।यसरी रकम बाँड्दा सरकारले आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ लाई मिचेको छ। कार्यविधिमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म मात्र आर्थिक सहायता प्रदान गर्न सकिने उल्लेख छ।

‘प्रदेश भित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई निजको जीवनयापन वा औषधी उपचारका लागि प्रदेश सरकारले सहयोगस्वरूप आर्थिक सहायता प्रदान गर्न सक्नेछ,’ कार्यविधिमा भनिएको छ,‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म, विपन्न वर्गका व्यक्तिलाई पच्चीस हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म, अशक्त व्यक्तिलाई पचास हजारदेखि दुई लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई बढीमा तीन लाख रुपैयाँसम्म प्रदान गरिने छ।’

सरकारले असहाय, अशक्त तथा विपन्नलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म आर्थिक सहायता गरेको छ भने सम्पन्न पूर्वमन्त्री तथा सांसदलाई १७ लाख रुपैयाँसम्म वितरण गरेको छ। विपन्न असहायलाई वितरण गरिएको जम्मा रकम नै १ लाखसम्म छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा प्रदान गरिएको विवरणअनुसार सबभन्दा धेरै सहायता रकम पाउनेमध्ये प्रदेशको पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा छन्।

कोषबाट उनलाई दुई पटकमा १७ लाख रुपैयाँ प्रदान गरिएको छ।२५ भदौ २०७७ मा १० लाख र २ वैशाख २०७८ मा ७ लाख रुपैयाँ झालाई उपचार खर्चका लागि दिइएको हो। पूर्वराज्यमन्त्री डिम्पल झा क्यान्सर पीडित भएकाले उनलाई बढी रकम उपलब्ध गराइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद  कार्यालयका सचिव यमप्रसाद भुसालले बताए।

उनी पूर्वमन्त्री तथा जसपा नेता अनिल झाकी श्रीमती हुन्। उनलाई जेठ २३ गते मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए। जसपा विवाद चर्किँदै  गएपछि २ मन्त्रीसँगै उनलाई बर्खास्त गरेका हुन्। त्यसैगरी प्रदेश सभा सचिवालयबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य रामकुमार यादवलाई उपचार खर्चबापत् ३ असार २०७८ मा  ५ लाख रुपैयाँ दिइएको छ।

पूर्व राज्यमन्त्रीसमेत रहेका यादव सिरहा क्षेत्र नं. ३ (क) बाट निर्वाचित भएका हुन्। कांग्रेसका सांसद शिवचन्द्रप्रसाद चौधरीलाई उपचारका लागि ४ लाख ५० हजार रूपैयाँ दिइएको छ। कोरोना संक्रमित हुँदा २०७७ पुस १५ गते सांसद चौधरीलाई प्रदेश सभा सचिवालयबाट सो रकम उपलब्ध गराइएको मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

त्यसैगरी जनता समाजवादी पार्टीका सांसद अशोककुमार यादवले समेत कोषबाट २ लाख रुपैयाँ लिएका छन्। प्रदेश मामिला संसदीय समितिका सभापतिसमेत रहेका यादव सर्लाही क्षेत्र नं. २ (ख) बाट निर्वाचित हुन्। जसपाकै सांसद भीमा यादवलाई उपचार खर्चबापत् १ लाख ५० हजार, जसपा सांसद करिमा बेगम १ लाख र नेकपा एमालेकी सांसद जगतारेन देवी सुडीलाई ९२ हजार २५० रुपैयाँ उपलब्ध गराइएको हो।

प्रदेश सभा सदस्यलाई प्रदेश सभा सचिवालयले उपचार खर्च उपलब्ध गराउँदै आए पनि उनीहरूले असहाय, विपन्न तथा अशक्तले पाउनु पर्ने कोषबाट रकम बुझेका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मन्त्री र सांसदबाहेक अरू जति पनि कोषबाट सहायता लिने व्यक्तिहरू छन् उनीहरू जसपा नेताका निकटस्थहरू हुन्। ‘सहायता कोषबाट रकम दिन भन्दै जसपा नेताले सिफारिस गरेर मुख्यमन्त्री कार्यालयमा पठाउँछन् त्यसकै आधारमा उनीहरूलाई पैसा दिने गरेको छ,’ स्रोतले भन्यो।

सांसद मन्त्री र नेता निकटस्थहरूलाई  कार्यविधिविपरीत मुख्यमन्त्री राहत कोषबाट किन उपचार खर्च दिइयो भन्ने प्रश्नमा मन्त्रिपरिषदका सचिव भुसालले जवाफ दिन चाहेनन्। त्यो प्रश्नहरूको जवाफ दिने मेरो हैसियत छैन। त्यस्ता व्यक्तिहरूलाई राहत दिने कुरामा पहिलेभन्दा कन्ट्रोल भएको छ,’ उनले भने। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com