काठमाडौं । कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा लागू गरिएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि मङ्गलबारदेखि यही भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
नगरपालिकाभित्र सञ्चालन हुँदै आएको हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन पूर्णरूपमा ठप्प बनाइने नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । “पछिल्लो समय दिक्तेल बजारमा सङ्क्रमण उच्च अधिक देखिएको छ”, उनले भने, “कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाभित्रका औषधि पसल, इन्धन, तरकारी पसललगायत अत्यावश्यक कामका लागि सञ्चालन गर्नुपर्नेबाहेकका सम्पूर्ण होटल, व्यापार व्यवसाय तथा यातायातका साधन बन्द गरिएको छ ।”
एक हजार २३७ मा सङ्क्रमण देखिएको यस नगरपालिकामा हालसम्म आठ जनाले कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाइसकेका छन् । नगरपालिकामा सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितमध्ये गम्भीर छ दिक्तेलस्थित कोभिड अस्पतालमा र १२८ होमआइशोलेसनमा छन् ।
नगरपालिकाले निषेधाज्ञा कार्यान्वयन भए÷नभएको अनुमान गर्न नगरप्रमुख रिजालसहित प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायब उपरीक्षक उमेश लम्साल, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीलगायतका टोली बजार निस्किएको थियो । पछिल्लो समय जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पुनः समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा ‘तपाईँको मास्क खोइ ?’ अभियानसमेत सुरुआत गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाखयता दुई हजार २०६ मा कोरोना सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । अहिलेसम्म निषेधाज्ञा लागू नगरिएको यस जिल्लामा हालसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठूला शहर तथा तराईका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएमा तत्काल निषेधाज्ञा लागू गर्न भनेको छ । सेतोपाटी ।