Home फोटो फिचर मोटरसाइकलका कारण पुलमा हिँड्ने पैदल यात्रीलाई सास्ती

मोटरसाइकलका कारण पुलमा हिँड्ने पैदल यात्रीलाई सास्ती

by ईलालटिन
0 comment

पर्वत । पिठ्यूँमा गह्रौँ भारी । ६० वर्ष माथिको कमजोर शरीर । दाहिने हातले समाएको लौरीको सहायताले कुश्मा आउनका लागि कुश्मा—ज्ञादी अग्लो झोलुङ्गे पुलमा बिस्तारै पाइला बढाउँदै छन्, उनी । त्यतिकैमा चर्को हर्न बजाउँदै दुई वटा मोटरसाइकल उनको अघि आइपुग्छन् । उनलाई गह्रौँ भारीले गर्दा सजिलो गरी अगाडि हेर्न पनि गाह्रो भइरहेको छ । साँघुरो पुलमा मोटरसाइकल चालकले भारी सहितका ती पैदल यात्रीलाई छेउतिर ठेल्दै अघि निस्कन्छन् । यो त एउटा प्रतिनिधि घटना मात्र हो । मोटरसाइकलका कारण पुलमा पैदल यात्रीहरूले बारम्बार सास्ती बेहोर्दै आउनु परेको छ ।

सदरमुकाम कुश्मामा मात्रै अग्ला तथा लामा पुलहरु आधा दर्जन जतिको सङ्ख्यामा रहेका छन् । सबै भन्दा पहिले बाह्र वर्ष अघि निर्माण भएको कुश्मा—ज्ञादी झोलुङ्गे पुल र बडगाउँ—कैया झोलुङ्गे पुल अन्य पुलको तुलनामा ज्यादा व्यस्त रहने गर्छ । यी दुई पुलमा दिनै सयौँ मोटरसाइकलहरू ओहोरदोहोर गर्छन् । सदरमुकाम आउने र फर्कने पैदल यात्रीहरूको सङ्ख्या पनि उल्लेख्य रहेको छ । पैदल हिँडेनेहरुको लागि मात्र बनाइएको पुलमा जर्वजस्त मोटरसाइकलहरू कुदाउन थालेपछि पैदल यात्रीहरूका लागि यी पुलहरु साँघुरा, अप्ठ्यारा र जोखिमपूर्ण बनेका छन् ।

‘एकै पटक दुई तीन वटा मोटरसाइकल पुलमा कुदाउने गरिन्छ । यही कारणले पनि पुल जोखिमपूर्ण बन्दै गएको छ’, ‘पिपलटारीका स्थानीय राजु पौडेलले भने, ‘समयमै सम्बन्धित निकायले मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउनु पर्छ । भोलिको सम्भावित दुर्घटना रोक्न आजै लाग्नुपर्छ, पछि पछुताउनुको विकल्प रहँदैन ।’ पौडेलले जस्तै धेरै पैदल यात्रीहरूले पुलमा मोटरसाइकल गुड्न रोक लगाउनुपर्ने आवाज उठाएका छन् ।

‘सजिलो र ढुक्क सँग हिँड्न सकिन्न ।’, ‘बडगाउँ—कैया झोलुङ्गे पुलमा भेटिएकी सीता नेपालीले भनिन्,‘डर लाउने अरी मोटरसाइकल दगुराउँचन । एक चोटि त मेरै आँखै अगाडी मोटरसाइकल गुल्टियो । धन्नले त्यो केटो बाँच्यो । मैले त तल कालीमा खस्यो भनी थेँ ।’ मान्छे हिँड्नका लागि मात्र बनाइएको पुलमा पछिल्ला समय बिना काम वारी र पारी त्यो पनि तीब्र  गतिमा मोटरसाइकल कुदाउँदा धेरै पटक मोटरसाइकल दुर्घटना समेत हुने गरेका छन् ।

मर्मत सम्भारका अभावमा कुश्मा—ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएको अवस्था पनि छ । पुलमा बिछ्याइएका डेकहरु उप्कन थालेका छन् । पुलका ठाउँ ठाउँबाट नटबोल्टहरु खुकुलो भई खस्न थालेका छन् । कुनै ठाउँका त खसिसकेका पनि छन्  । पुल संरक्षण र मर्मतका लागि कुनै निकायले चासो नदिँदा पुलका डन्डी र फलामका डोरीमा खिया लाग्ने क्रम सुरु भएको हो । त्यही माथि सयौँ मोटरसाइकल कुदाउँदा पुलको आयु छोटिँदै गएको छ ।

कुश्मा–ज्ञादी पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले पनि पुलमा मोटरसाइकल कुदाउँदा पैदल यात्रीहरूलाई धेरै नै अप्ठ्यारो भएको बताए । ‘दक्षिण भेगका स्थानीयहरूको कृषि उपजहरू बजारसम्म पु¥याउन र प्रशासनिक कामका लागि घन्टौँ खर्चिनु पर्ने बाध्यतालाई दूर गर्नका लागि पुल निर्माण गरिएको हो’, शर्माले भने, ‘मोटरसाइकल कुदाउनका लागि होइन ।’ जिल्लामा पहिले निर्माण गरिएको कुश्मा—ज्ञादी झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउने अनुमति थिएन । कुश्मा आउन र दक्षिण तर्फ फर्कन दोबिल्लाको मोटरेवल पुल प्रयोग गर्नुपर्ने हुन्थ्यो ।

‘हामीले धेरै वर्ष कुश्मा—ज्ञादीको पुलमा मोटरसाइकल हाल्न अनुमति दिएनौँ । पछि अन्य पुलहरु निमार्ण सँगै मोटरसाइकलहरू हाल्न सुरु गरियो’, उनले भने, ‘त्यसपछि रातारात मोटरसाइकल गुड्ने संरचनाहरू निर्माण गरेर कुश्मा—ज्ञादीको पुलमा पनि जर्वजस्ती मोटरसाइकल चलाउन सुरु गरियो । रोक्नका लागि विभिन्न निकायमा पनि पुग्यौँ, तर, सकेनौँ ।’

अध्यक्ष शर्माले अब पूर्ण रूपमा मोटरसाइकल रोक्न सम्भव नभएको हुँदा व्यवस्थित किसिमले मोटरसाइकल र पैदल यात्रु हिँड्न सक्ने वातावरण बनाइनुपर्ने बताउँछन् । उनले व्यवस्थापनका लागि नगरपालिका सँग कुरा पनि भइरहेको बताए । पुलमा कुद्ने मोटरसाइकलबाट केही शुल्क लिने र त्यहाँबाट उठ्ने रकमले एक जना कर्मचारी राखेर पैदल यात्रु र मोटरसाइकल यात्रुको सही तरिकाले व्यवस्थापन गर्न सकिने शर्माले बताए ।

सदरमुकाममा अन्य तीन पुल खरेहा—ज्ञादी, बडगाउँ—मुडिकुवा र भर्खर निर्माण सम्पन्न भएको कैया—मुडिकुवाको पुलहरूबाट समेत मोटरसाइकलहरू गुड्ने गरेका छन् । कुश्मा—ज्ञादी र बडगाउँ—कैया झोलुङ्गे पुलमा पैदल यात्री र मोटरसाइकलको चाप बढी हुने गर्छन् । किनकि यी दुई पुलमा बाहिरी जिल्लाबाट पनि पर्यटकहरू पुल अवलोकनका लागि आइपुग्छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com