Home बुलेट न्युज पहिरो सँगै सडक भासिँदा बढ्यो त्रास, ‘पूर्व सांसद र वडाको बेवास्ता’–स्थानीय 

पहिरो सँगै सडक भासिँदा बढ्यो त्रास, ‘पूर्व सांसद र वडाको बेवास्ता’–स्थानीय 

by ईलालटिन
0 comment

पर्वत । जिभिन्न ठाउँहरूमा बाढी पहिरो जाँदा जनजीवन कष्टपूर्ण बनेको छ । राज्यका संयन्त्रहरूबाट पहिरो प्रभावित परिवारकोमा पुगेर राहत वितरण देखि सुरक्षित बासस्थानसम्मको जोहो गर्ने काम भएको छ । उनीहरू सँगै पूर्व सांसद पदम गिरी पनि पहिरो पीडितहरुकोमा पुग्ने गरेका छन् । जुन सह्रानीय काम हो । तर यिनै पूर्व सांसद गिरीले आफ्नै नवनिर्मित घरै नजिकको दलित परिवारको चित्कारलाई भने सुन्न नचाहेको देखिन्छ ।

कुश्मा नगरपालिका वडा नम्बर ७ पुरी टोलमा मदन विक, शंखर विक, अर्जुन विक र जित बहादुर विकको चार घर रहेको छ । उनीहरूको पीडा भनेको कुन बेला गाडी सडकमा गुड्दा गुड्दै बाटो भासिने हो, र घर सँगै ज्यान जाने हो, भन्ने छ । त्यति मात्र नभएर घर मुन्तिरबाट पहिरो खस्ने त्रास पनि उतिकै छ । यो समस्या अहिले वर्षको मात्र होइन । हरेक बर्खाको समय दोहोरिँदै  आएको छ । वडालाई बारम्बार आफ्ना समस्याहरूका बारेमा सुनाउँदा बेवास्ता हुने गरेको स्थानीयको आरोप छ ।

लामो समय देखि रहँदै आएको उनीहरूको डर मङ्गलवार भने झनै बढेर गयो । पहिरो रोक्नका लागि भन्दै पर्खाल लगाउने ठेक्का पाएको निर्माण कम्पनीको टिपर सडकमा गुड्दै गर्दा मन कुमारी विकको घर माथितिरको सडक भासिन पुग्यो । बच्चा सहित घरभित्र रहेकी विक हतार हतार नाति च्यापेर बाहिर निस्किन् । उनी सँग वरिपरिका अरू पनि सडकमा निस्केर केही बेर विरोध प्रदर्शन पनि गरे । उनीहरूले गाडी गुड्न नदिने बताएपछि वडा अध्यक्ष सुवासचन्द्र पौडेल र प्रहरी पनि घटनास्थल पुगेको थियो ।

पूर्व सांसद गिरीले दैवी प्रकोप उद्धार कोष अन्त्रगतको बजेट ल्याएर आफ्नो सँगै छिमेकी र नातेदारको घर मात्र बचाउन लागि परेको स्थानीयवासीको आरोप छ । गएको बर्खामा सांसद गिरीको घरलाई असर पर्ने गरी पहिरो गएको थियो । तत्कालै पहिरो गएको स्थानमा पर्खाल लगाउने कामको सुरुवात भयो, जुन अहिले सम्पन्न भैसकेको छ । पूर्व सांसद गिरीकै पहलमा दैवी प्रकोप उद्धार कोषबाट आउने रकमले पुरी टोलको सडक माथिको बस्ती जोखिममा रहेको भन्दै अहिले पर्खाल लगाउने काम भइरहेको छ ।

यता स्थानीयले चाहिँ आफूहरूको बर्षौ देखिको पीडालाई बेवास्ता गर्दै आफ्नाहरुको घर मात्र बचाउन लागि परेको आरोप लगाएका छन् । ‘सडक मुन्तिरका घरहरू उच्च जोखिममा भएको देख्दादेख्दै अन्यत्र घरहरू नभएको ठाउँमा पर्खाल लगाउने काम भएको छ’,रमेश विश्वकर्माले भने, ‘दलित वर्ग भनेर हेपेर पो, हाम्रो समस्या समाधान नभएको हो कि ?’ विश्वकर्माको घर आधा भासिएको छ । ‘पानी पर्दा मेरो घरै लाने अवस्था छ, बोरा हालेर टालेको छु, पदम गिरी यही बाटो मर्निङग वाक हिँड्नुहुन्छ खै किन हाम्रो समस्या र पीडालाई देख्नुहुन्न’,–विश्वकर्माको गुनासो छ ।

टोल सुधार समितिका अध्यक्ष भगवान पुरीले पहिरोको जोखिममा रहँदै आएको दलित परिवारको घर बचाउन वडाले कुनै पनि भूमिका नखेलेको आरोप लगाए । ‘वडा कार्यालयलाई बारम्बार जोखिममा रहेको घरहरू  बचाउन आग्रह गरेँ, वडा अध्यक्षले सुन्नै चाहेनन्’, अध्यक्ष पुरीले भने, ‘वडा बाट केही सहयोग नभएपछि व्यक्तिगत सम्बन्धका आधारमा मुस्ताङको भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट बजेट ल्याएर थोरै भए पनि पर्खाल लगाउने काम गरेँ ।’ यता वडा अध्यक्ष पौडेलले चाहिँ व्यक्तिले नभई वडाकै पहलमा बजेट आएर काम भएको बताए ।

वडा अध्यक्ष शर्माले जोखिममा रहेको दलित परिवारको घरहरूमा पनि पर्खाल लगाएर सुरक्षित पारिने बताए । ‘सडक माथिको पुरी टोल पुरै पहिरोले लाने देखिएको हुँदा विज्ञको सल्लाह अनुसार नै पर्खाल लगाउने काम भएको हो’, उनले भने, ‘घरहरू नै नभएको ठाउँमा पर्खाल लगाइएको भन्ने सत्य होइन ।’ सडक माथिको घरहरू सुरक्षित पार्न लगाइएको पर्खाल सकिने बित्तिकै दलित परिवारको घरहरू बचाउनका लागि पर्खाल लगाउन सुरु गरिने अध्यक्ष पौडेलले बताए । पौडेलले दिएको जानकारी अनुसार अहिले पर्खाल लगाउने बजेट चाहिँ पूर्व सांसद पदम गिरीले दैवी प्रकोप उद्धार कोष अन्त्रगतको रुपा ताल संरक्षण कोष पोखराबाट ल्याउन लागेको हो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com