पर्वत । देशभरि कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त बन्दै थियो । कोरोनाका बिरामीले सहज रूपमा अस्पताल र अक्सिजन पाउन नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको थियो । राज्यले विगत देखि आजका दिनसम्म स्वास्थ्य क्षेत्रमा देखाउँदै आएको लाचारता र ग्रैहजिम्मेवारी प्रवृत्तिलाई कोरोनाले छर्लङ्ग पारिदियो ।
सरकारको कामकारबाही माथि विश्वास नभएपछि जलजलाका युवाहरूले आफ्नो मृत्युको प्रवाह बेगर कोरोना बिरामीको सेवामा दिनरात खट्ने प्रण गरे । आज महिना दिन बढी भइसक्दा समेत उनीहरूमा थकान देखिएको छैन । सोचमा बदलाव आएको छैन । बरु अझ जुझारु बनेर अघि बढी रहेका छन् ।
क्रियटिभ युथ ग्रुप नाम दिएर कोरोना बिरामी बचाऊँ अभियान सुरुवात गरेर धेरैको ज्यान बचाउन प्रभावकारी भूमिका खेलेका युवाहरूले पहिरो पीडितहरूका पीडामा साथ दिन जलजला गाउँपालिकाको धाइरिङ वडा नम्बर ७ किराखोर बस्तीमा पुगेका छन् । अविरल वर्षाका कारण गत असार २ गते यस गाउँमा पहिरोले वितण्डा मच्चायो ।
३० घरपरिवारको उठिबास नै भयो । ३ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने बाँकी २७ घर पनि बस्न नसकिने अवस्थामा रहेका छन् । ३० घरका १ सय बढी परिवारलाई क्रियटिभ युथ ग्रुपले अस्थायी वासस्थानको जोहो गरिदिएको छ । तत्कालका लागि पुग्ने रासन पानी समेत उपलब्ध गराएर ग्रुप फर्किएको अभियानकर्ता नवीन जिसीले जानकारी गराएका छन् । दुई हप्ता पछि पुनः राहत लिएर पहिरो पीडितका दुखमा हातेमालो गर्न पुग्ने जिसीले बताए ।
देशभर कोरोनाका बिरामीको सङ्ख्या उच्च बिन्दुमा उक्लँदै गर्दा जिल्लाको अन्य पालिकाको तुलनामा यस जलजला गाउँपालिका भित्र कोरोनाका बिरामीहरू बढी रहेका थिए । स्थानीय सरकारको एकल प्रयासले मात्र कोरोना सँग जुद्ध न सक्ने अवस्था थिएन । त्यही माथि जलजलाका प्रत्यकजसो घरमा कोरोनाका बिरामीहरू एकपछि अर्को देखिँदै थिए । यही जटिल परिस्थितिमा क्रियटिभ युथ ग्रुपका युवाहरूले साहस देखाए । कोरोना बिरामीको घरघर पुगेर उनीहरूलाई अस्पताल ल्याउन काम गरे । सवारीसाधनहरूको आफै जोहो गरे । कोरोना बिरामीलाई मात्र नभएर सुत्केरी देखि अन्य रोग भएका बिरामीहरूलाई समेत अस्पताल पु¥याउने देखि घरसम्म छाड्ने काममा सक्रिय भएका थिए ।