बागलुङ । अविरल बगिरहने कालीगण्डकीको छेउमा एउटा ठुलो शङ्खे शिला (ढुङ्गा) रहेको छ । शङ्ख जस्तै बज्ने भएको हुनाले यसलाई शङ्ख बज्ने ढुङ्गा पनि भनिन्छ । त्यहीँ नजिकै एउटा सानो ओडार पनि छ । यस ठाउँलाई जैमिनीघाट भनिन्छ । परापूर्व कालमा जैमिनी ऋषिले तपस्या गर्ने स्थल तपोभूमी भएको स्थानीयबासीहरु बताउँछन् । हिन्दु धर्मका विभिन्न शास्त्रहरूमा पनि यस ठाउँको व्याख्या गरिएको पाइन्छ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १ जैमिनीमा रहेको शङ्खे शिला (ढुङ्गा) र जैमिनी ऋषिको गुफाको उचित संरक्षण र प्रचारप्रसार गर्न नसक्दा बेवारिसे अवस्थामा पुगेका छन् । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको यस ठाउँकै नामबाट जैमिनी नगरपालिकाको नामकरण गरिएको भए पनि जैमिनी ऋषिको तापोभूमीको अवस्था चाहिँ दयनीय देखिन्छ ।
अनौठो र जो कोहीलाई आश्चर्य चकित पार्ने शङ्खे शिला (ढुङ्गा) शङ्ख जस्तै बज्ने गर्छ । जैमिनी ऋषिले पूजापाठ गर्दा बजाउने गरेको बताइन्छ । ऋषि जैमिनी चाहिँ महाऋषि वेद ब्यासका शिष्य थिए । हिन्दु ग्रन्थमा जैमिनी ऋषिले लेखेका कृतिहरू प्रशस्त भेट्न सकिन्छन् । तर, तिनै जैमिनी ऋषिले आफ्नो जीवनकाल गुजारेका जैमिनीघाटको अवस्था भने दुख लाग्दो छ ।
ऋषिले ध्यान गर्ने गुफा वरिपरि र भित्र फोहोरै फोहोर छन् । शङ्खे शिला (ढुङ्गा) को पनि कुनै संरक्षण गरिएको छैन । पुरै बेवास्तामा परेको छ, यस स्थल । स्थानीय प्रेम चापगाईले पटक पटक नगरपालिका र वडालाई भने पनि कुनै सुनुवाइ नभएको बताए । ‘वडा अध्यक्षलाई पनि भनियो, नगरपालिका पनि गइयो, ल,ल भन्छन् खै अहिलेसम्म केही गरेका छैनन्’, उनले भने, ‘अब आफ्नै लगानीले शिलाको वरिपरि घुम्न मिल्ने गरी सिमेन्ट लगाएर घेर्ने बिचारमा छु ।’