पर्वत । विश्व समुदायमा एक मात्र हिन्दु राष्ट्रको रूपमा चिनिँदै आएको नेपाल, पछिल्लो राजनैतिक उथलपुथलले ल्याएको नयाँ व्यवस्थामा चाहिँ धर्म निरपेक्ष राष्ट्रमा परिणत हुन पुग्यो । केही हिन्दुवादीहरुले अहिले हिन्दु धर्ममाथि विभिन्न कोणहरूबाट प्रहार गर्ने काम भइरहेको बताइरहेका छन् । यस्तो अवस्थामा हिन्दु धर्मको आस्था र विश्वासलाई बचाइ राख्न नसक्ने हो भने धर्म नै हराएर जाने कुरा धर्म गुरुहरूले बताउँदै आइरहेका छन् ।
मुक्तिनाथ पीठाधीश्वर स्वामीजी महाराज कमलनयन आचार्यले केही वर्ष अघि हिन्दु धर्म बचाउन सबैभन्दा पहिले गाईको संरक्षणमा लाग्नुपर्ने बताएका थिए । लगत्तै उनै आचार्यले धौलागिरिका तीन वटा जिल्लामा गौशाला निर्माण गरिनु आवश्यक रहेको कुरा विभिन्न मानिसहरूलाई सुनाए । त्यस मध्यका एक थिए, युवा व्यवसायी तथा समाजसेवी राजु प्रसाद आचार्य ।
जलजला गाउँपालिका धाइरिङ वडा नम्बर ७ का आचार्य राजनैतिक व्यक्तिको रूपमा पनि परिचित छन् । गाउँ समाजमा सहयोगी तथा मिलनसार पात्रका रूपमा उनलाई हेरिने भएकाले पनि स्वामी आचार्यले राजुलाई नै यसको नेतृत्व लिन सुझाए । त्यही अनुरूप गोकुल धाम अर्थात् गौशाला निर्माणका लागि राजु आचार्य अगाडी बढे । जसका कारण आज गौशालाले मूर्त रूप लिएको छ ।
उनै आचार्यको गाउँमा ८ वटा जुरो सहितको लोकल गाई र १ लाख रुपैयाँको अक्षय कोषबाट गौशालाको प्रारम्भ भयो । धौलागिरि हिमालको आँखै अघि पर्ने यस गाउँ केही वर्ष अघि मात्र पनि ज्यादै बिकट थियो । अहिले चाहिँ सडक पुगेको छ । गाडीहरू सिधै गौशालासम्म पुग्न सक्छन् । ‘गाडीहरू यहीँ सम्मै आउने बनाएका छौँ, गाइलाई चाहिने खाद्यान्नहरू ल्याउन सजिलो भएको छ ।’–आचार्यले भने ।

आचार्यको पिताले गौशालाका लागि सबैभन्दा बढी जग्गा उपलब्ध गराएका छन् । ‘हाम्रो बुवाले साढे ६ रोपनी जग्गा दान गर्नुभयो, नारायण आचार्य, लक्ष्मी आचार्य, नन्दलाल उपाध्याय र ओमनारायण आचार्यले पनि जग्गा दान गर्नुभएको छ’, ’उनले भने, ‘अहिले हामी सँग २० रोपनी जग्गा छ, छिट्टै थप व्यवस्थित र आकर्षित भौतिक संरचना निर्माण गर्दै छौँ ।’
अहिले यस गण्डकी गोपाल गौशालामा ३३ वटा जुरो सहितको लोकल गाईहरू रहेका छन् । करिब ३ सय घरधुरीका प्रत्येकले गाई पालन गरेको आचार्यले बताए । गाई नहुने घरहरूले पनि गौशालाबाट खरिद गरी लगेका छन् । केही गोरुहरू पनि रहेका छन् । किसानहरूले यिनीहरूलाई जोत्नका लागि लाने गरेको र त्यसबापत केही शुल्क समेत लिने गरिएका आचार्यले सुनाए । ‘गहुँत र गोबरलाई प्रशोधन गरेर किसानलाई उपयोगी हुने मल लगायतका सामाग्रीहरू बनाउने योजनामा छौँ, त्यही अनुसार काम भइरहेको पनि छ ।’– उनले भने ।
आचार्यले हिन्दु धर्ममा गाईको महत्त्व के कति हुन्छ भन्ने कुराको सविस्तार व्याख्या गरे । पृथ्वीलाई गाई सँग तुलना गर्दै उनले भने, ‘गाई पृथ्वीको माता हो, गाईको वैज्ञानिक कारण पनि छ, गहुँतबाट १ सय ४९ रोग सँग लड्न सक्ने क्षमता हुन्छ’, उनले भने, ‘गाईको कारण पृथ्वीमा उत्पन्न हुने धेरै रोगहरू घट्दै गएका छन् ।’ हिन्दु धर्ममा जन्म देखि मरण सम्म नै गाईको उपयोगिताहरू रहेको पाइन्छन् । गाईको महत्त्व र प्रभावबारे आम मानिसलाई बुझाउन सकेमा हिन्दु धर्मलाई बचाइ राख्न मदत मिल्ने आचार्यले बताए ।
गौशालाका लागि स्थानीयहरूले सहयोग गर्दै आएका छन् । गाईलाई चाहिने पराल बोक्ने, दिने देखि अन्य कामहरूमा पनि सघाउँदै आइरहेका छन् । स्थानीय सरकारहरूको पनि सहयोग रहँदै आएको छ भने देश बाहिर रहेका नेपालीहरूले समेत गौशालाका लागि रकम पठाउने गरेको आचार्यले बताए । दुई घर परिवारले गाईको रेखदेख गर्दै आएका छन् । गाई र कर्मचारी व्यवस्थापनमा महिनाको १ लाख रुपैयाँ खर्च हुने गरेको छ ।