पछिल्ला वर्षहरूमा गाउँघरमा गरिँदै आएको आरन पेसा गर्नेहरूको सङ्ख्या बिस्तारै कम हुँदै गएको छ । पुर्ख्यौली आरन चलाउने सिप भएका कालिगडहरू कति वृद्ध अवस्थामा छन् भने धेरैको त मृत्यु भैसकेको छ । तीनका सन्तानहरूमा पनि आरन पेसाप्रतिको मोह घट्दो छ । परम्परागत आरन पेसालाई आधुनिक प्रविधि सँग जोड्न नसक्दा चाहेर पनि आरन पेसालाई व्यावसायिक बनाउन सकिरहेको अवस्था छैन ।
पर्वत फलेवास नगरपालिका ५ गहतेका ६८ वर्षीय गुरुदत्त सुनार यस उमेरमा आएर आरनको काममा होमिएका छन् । आफ्नो बाउ बाजेले आरन काम गरे पनि सुनार चाहिँ यसबाट टाढै रहे । ‘म सानै उमेरमा इन्डिया गएँ, यो काम सिक्नै पाइन’, ४० वर्ष इन्डिया बसेर फर्केका सुनारले भने, ‘पछि मात्रै धनगढीमा रहेकी छोरी ज्वाइँका गएर सिकेको हुँ ।’ दिनमा ५ सय जति कमाइ गर्ने उनले घर खर्च सजिलै सँग चलाइरहेका छन् । सुनारका छोराछोरी सबै आ–आफ्नो बाटो लागिसकेका छन्, अहिले घरमा श्रीमती र सुनार मात्र छन् ।
सुनारले आरन पेसा सुरु गरेको लामो समय भएको छैन । रोड छेउको छाप्रो भाडामा लिएर तीन महिना अघि मात्र पुर्खाले गर्दै आएको यस पेसालाई निरन्तरता दिएका हुन् । ४ दशक अर्काको देशमा बिताएका सुनारको गरिबी आजका दिनसम्म पनि सकिएको छैन । ‘जागिरबाट कमाएको पैसा छोराछोरीकै खर्चमा सकियो’, उनले भने,’उमेर बढ्दै गएपछि शरीर कमजोर हुँदै गयो, पहिले जस्तै काम गर्न सक्ने अवस्था नभएपछि आफ्नै गाउँ फर्किए ।’
आँखा कम देख्छन् सुनार । पावरवाल चस्मा लगाएर आरनको काममा मग्न रहन्छन् । भर्खर सुरु गरेको पेसा भएर पनि होला ज्यादै उत्साहित र खुसी देखिन्छन् । अहिले पर्याप्त सामाग्रीहरू नभएको हुँदा ठुला कामहरू आँट्न नसकेको बताउँछन् । ‘वल्डिङ मेसिन, पङ्खा, घन लगायतका औजारहरू भएमा सजिलो हुन्थ्यो‘, आँसी पिट्दै गरेका सुनारले टाउको उठाएर भने, ‘बाटाको नजिकै छ, बाहिरपट्टि किसानलाई चाहिने सामानहरू टन्न सजाएर बेच्न राख्ने सोचेको छु ।’ उनको एउटा माग या चाहना के छ भने, ‘वडा कार्यालय र नगरपालिकाले वल्डिङ मेसिन, पङ्खा र घन सहयोग गर्दिए हुन्थ्यो ।’ उनका अनुसार नगरपालिकाले छिट्टै सहयोग गर्ने प्रतिबद्धता जनाएको रहेछ ।

काम सिक्नका लागि उमेर बाधक बन्न सक्दैन भन्ने उदाहरण हो, गुरुदत्त सुनार । पुर्ख्यौली काम भए पनि उनमा सिप थिएन । सानैमा विदेश पलाएन भएका सुनारले नेपाल फर्केर आरनको काम सिके । अहिले यही जिन्दगी चलाउने गुजारा बनेको छ । किसान सँग प्रत्यक्ष सरोकार राख्ने लोपोन्मुख यस पेसालाई संरक्षण गर्दै यसमै लाग्ने व्यवसायीहरूलाई आधुनिक प्रविधि सँग जोड्न सकेमा आरन पेसाको संरक्षणको साथसाथै राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।