पर्वत । विघटित प्रतिनिधि सभाका सांसद पदम गिरीले चार वर्ष अघि चुनावमा होमिँदै गर्दा सडक निर्माणको विषयलाई केन्द्र विन्दुमा राखेका थिए । हरेक चुनावी सभाहरूमा उनले नछुटाउने भाषण भनेको गाउँ गाउँमा सडक पु¥याउने र पिच गर्ने थियो । ‘मलाई अहिले जिताएर पठाउनुुस्, अर्को पटक फेरि चुनावमा भोट माग्न आउँदा चिल्लो, महँगो गाडीमा होइन साइकल चढेर आउने हो,’ उनले भनेका थिए, ‘फोर विह्वल गाडीमा तीन–चार जनाले धकेल्दै भोट माग्न आउने बाध्यताको अन्त्य हुनेछ ।’
सांसद गिरीले भने अनुसार काम त भइरहेका छन्, तर गुणस्तरहीन । महिना दिनमै पिच गरेका बाटाहरू उप्कने, भासिने, भत्कने भएका छन् । यही तरिकाले सडकमा काम हुँदै जाने हो भने चाहिँ जनताको दैलोमा भोट माग्न जाँदा यहाँको जनप्रतिनिधीहरुलाई साइकल होइन ट्याक्टर चढेर जानुपर्ने स्थित देखा पर्न सक्छ । विकास निर्माणका कामहरूमा हरेक तह र तप्काका मानिसहरूबाट निगरानी र खबरदारी आवश्यक छ । त्यसैले खबरदारीका लागि कुस्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा आइपुगेका छौँ । साइकल चोक–गहते–पोखरा– ठुलीपोखरी–खौला–आर्थर सडक अन्तर्गतको पिपलटारी सडकमा भएको दुर्दशा देखाउने छौँ ।
पिपलटारी स्थित गहतेको सडक पिच गरेको दुई महिना पनि भएको छैन, बाटाहरूको अवस्था र स्थानीयबासीहरुको कुरा सुन्दा ठेकेदारबाट लापरबाही सँगै गुणस्तरहीन काम भएको बुझिन्छ । सडक पिच गर्दा अपनाउनुपर्ने कुनै पनि मापदण्डलाई ठिक ढङ्गले पालना नगरेको उपभोक्ताहरूको भनाइ छ । ‘सडक पिच गर्दा भाइब्रेसन र रोलिङ नै भएन, माटो फिलिङ गरिसकेपछि ग्राभेल हाल्नु पहिले पानी राखेर रोलिङ गर्नुपर्ने हुन्छ’, गहतेका स्थानीय राजु प्रसाद खनाल भन्छन्,‘म पनि बाटोकै लाइनमा काम गर्छु यहाँ रोलिङ भएको देखिन ।’ ‘पिच गर्नु अघि प्राविधिक चेकजाँच गरिनुपर्नेमा त्यस्तो केही भएको देखिएन, जसका कारण अहिले सडक भासिएका छन्,’ –खनाल ।
‘कहाँ पिच गर्न हुन्थ्यो, कहाँ हुन्थेन प्राविधिक हिसाबले पनि चेकजाँच हुनुपर्थ्यो’, स्थानीय रामचन्द्र सुवेदी भन्छन्,‘निर्माणकर्ताको रकम पनि खेर गयो, उपभोक्ताले पनि सडक उपभोग गर्न पाएनन् ।’ पिपलटारी स्थित कालीमाटीको सडक पनि उस्तै छ । सडक छेउ लामा चिरा परेका छन् । कति बेला सडक खस्ने हो पत्तो छैन । सडकमा हेवी गाडी गुडेमा ठुलै दुर्घटना हुने देखिन्छ । घर अगाडीको बाटोको अवस्था देखेर स्थानीय वेदप्रसाद अधिकारी चिन्तित देखिन्छन् । भासिएका सडक देखाउँदै अधिकारी भन्छन्, ‘असार साउनको पानीमा बाटो रहन्न ।’ पिच गरेको महिना दिनमै सडकको हालत देखेर अधिकारीलाई चिन्ता मात्र होइन पीडा पनि भएको छ ।

स्थानीयले जमिनको अवस्था बुझेर पिच गर्नुपर्ने बताए पनि यस सडक हेर्दै आएका सब इन्जिनियर लोकेस पौडेलले चाहिँ सानो ठेक्का भएको हुँदा जमिनको माटो चेकजाँच गर्न असम्भव भएको बताए । ‘थोरै बजेटको ठेक्का हो, माटो जाँच गर्ने हो भने त्यही अनुसार बजेट चाहिन्छ’, उनले भने,‘लगातार पानी परेका कारण पानीको प्रेसरले गर्दा समस्या आएको हो, यसलाई प्राविधिक गल्ती भन्न मिल्दैन, यो प्राकृतिक हो ।’
कालीगंगा निर्माण सेवाले भ्याट कटाएर करिब २ करोड रुपैयाँमा ठेक्का लिएको हो । यस सडक आयोजनालाई खण्ड खण्डमा विभाजन गरेर त्यही अनुसार विभिन्न निर्माण सेवाहरूलाई कामको ठेक्का प्रदान गरिएको छ ।
पिपलटारी स्थित गहते सडकको जिम्मा पाएर काम गरेको कालीगंगा निर्माण सेवाका ठेकेदार भीम श्रेष्ठले कर्मचारीको लापरबाहीले समस्या भएको बताए । ‘माटो र ग्राभेल हालेपछि प्रशस्त पानी हालेर रोलिङ गर्नुपर्नेमा कर्मचारी र सुपरभाइजरले राम्रो सँग गरेनन्’, उनले भने,‘ त्यो बेला पानीको मात्रा कम भयो, पिच गरेपछि निरन्तर आकाशबाट पानी प¥यो जसले गर्दा सडक भासिन पुग्यो ।’
ठेकेदार श्रेष्ठले गल्ती भएको स्वीकार गर्दै बिग्रेको सडकको तत्काल मर्मत कार्यमा लाग्ने बताए । ‘१ वर्षसम्म मेन्टिनेन्स समय हुन्छ, हामीले पुनः बनाउँछौँ’, उनले भने, ‘म पनि यही ठाउँको मान्छे हो, भोलि समाजमा काम गर्नुपर्ने हुन्छ, ग्रैहजिम्मेवार बन्न मिल्दैन ।’
पर्वतको ग्रामीण भेगमा पुगेको अधिकांश बाटाहरूमा यस्ता समस्याहरू देखा पर्ने गरेका छन् । देसैभरीको समस्या के हो भने, असार आउन थाल्दा मात्र युद्ध स्तरमा काम गरेको देखाउने तर पुरै गुणस्तरहीन सडक बनाउने परम्परागत रोग नै बनेको छ । नियामक निकायले आँखा चिम्लने अझ भनौँ, मिलेमतो गर्ने परिपाटी हिजो भन्दा आज झन् मौलाएको छ । पर्वतको अर्को समस्या चाहिँ स्थानीय सरकारका मान्छेहरू नै ठेक्कामा उभिएका छन् । उनीहरूकै बोलवाला रहन्छ । अनि कसले गर्ने अनुगमन र कारबाही ?