बेनी। म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटिको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत रहेका सुरत केसीको नेतृत्वमा ४ जना युवाहरूले स्वास्थ्य सावधानीका मापदण्ड पुरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् ।
मृतकका आफन्त सँगको समन्वयमा केसी सँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रूपमा दाहसंस्कार गर्दै आउनुभएको छ । अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका २ जना सङ्क्रमितको सहित पोखरामा मृत्यु भएर बेनीमा ल्याइएका समेत गरी ५ वटाको शव बेनी स्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना घाटमा व्यवस्थापन गरिसकिएको केसीले बताउनुभयो ।
‘‘ पिपिई लगायतका सामाग्री रेडक्रसले व्यवस्थापन गरेको छ, हामीले पारिश्रमिक नलिईकन स्वयंसेवीको रूपमा सहयोग गरेका हौँ, डोजरले खाडल खन्नुपर्ने अवस्थामा त्यो खर्च स्थानीय तहले व्यवस्थापन गरिदिनुभएको छ’’–केसीले भन्नुभयो । केसीलाई जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन संयोजक तोकेको थियो ।