पर्वत । कोरोना भाइरस (कोभिड.१९) को सङ्क्रमण फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाभर लकडाउन गरेको छ । मूलकभर अहिले लकडाउन चलिरहेको छ । जिल्ला बाहिर जानका लागि प्रशासन कार्यालय र सम्बन्धित वडा कार्यालयको सिफारिस लिनु पर्ने हुन्छ । तर, वडाका केही व्यक्तिहरूले यही सिफारिसलाई कमाई खाने धन्दा बनाएका छन् ।
फलेवास नगरपालिको शंकरपोखरी वडा नम्बर ३ को वडा कार्यालयले सवारी पास उपलब्ध गराए बापत २ सय रुपैयाँ लिने गरेको पाइएको छ । हिजो सोमबार बेलुका राति ८ बजे वडा सचिव अर्जुन प्रसाद तिवारीले सवारी पासको सिफारिस बनाए बापत सोही वडाका अशोक विक सँग १ सय ५० रुपैयाँ लिएका हुन् ।
‘सवारी पासका लागि बिहान देखि आग्रह गरे पनि सचिव तिवारीले राती मात्र कार्यालयमा बोलाएर सिफारिस दिनुभएको हो ।’ उनले भने,‘दुई सय रुपैयाँ माग गर्नु भयो, मैले सिफारिसको पनि पैसा लाग्छ र, प्रश्न गरेँ, सचिव सरले हामीले दुई सय रुपैयाँ नै लिने गरेका छौँ भन्नुभयो ।’ विकले आफू सँग २ सय रुपैयाँ नभएको बताएपछि सचिव तिवारीले १ सय ५० रुपैयाँ दिएर जान भनेका थिए । पैसा तिरेको रसिद माग गरेका विकलाई सचिव तिवारीले सवारी पासको रसिद हुँदैन भनेर पठाएका थिए ।
सवारी पासको लागि दिएको सिफारिसमा वडा अध्यक्ष अर्जुन बहादुर केसीको हस्ताक्षर रहेको छ । हामीले अध्यक्ष केसीलाई यस बारेमा बुझ्ने प्रयास ग¥र्यौ । ‘तपाईँहरूले किन २ सय रुपैयाँ लिनु भएको सवारी पास सिफारिसका लागि ।’ हाम्रो प्रश्न थ्यो । जवाफमा अध्यक्षले भने,‘म थिइन सचिवले लिनुभएछ, नलिइदिएको भए राम्रो हुने थ्यो ।’ सिफारिसमा आफ्नो हस्ताक्षर भएको विषयमा चाहिँ अध्यक्ष केसीले कसैलाई अपर्झट पर्न सक्छ भनेर वडाका केही लेटर प्याडमा हस्ताक्षर गरेर छोड्ने गरेको बताए ।