सचिन्द्र श्रेष्ठ
आजकल त सपनी पनि एउटै आइरहन्छ ,
छटपटी, हुटहुटी एउटै भइरहन्छ,
खै के हो कुन्नि
यो अपरिचित हावा बारम्बार श्वास प्रश्वास अघि पछि घुमिरहन्छ,
अनि यता बुझ्ने र बुझाउनेहरू कोरोना महामारी भन्दैछन,
दिनहरू गन्दैछन,
बल जबरजस्ती कन्दैछन,
कतै ओझेल पर्यो कि भन्दा भन्दै
एकै लवजमा उही हावाको लयमा विष बनेर अघि पछि आइरहन्छ,
आजकल त भित्र-भित्र मुटु कुटु कुटु खाइरहन्छ,
फेरी पनि सम्झनामै साथी भाइ इष्टमित्र घर, वर अनि पर सबै तिर प्रतिबन्ध,
निषेध र प्रतिकार रे,तिर्खा लाग्दा पानी दिने मान्छेहरू मान्छे देख्दा नै डराइरहेछन्,
बोल्दैछन, पर देखि कराइरहेछन,
खै हातेमालो गरी कतै ढुक्क भए रे,
चिनजान बिनाको अपरिचित हावा न पर्यो!
फेरी तोड्यो रे ढोका, फोड्यो रे ताल्चा देखा देख,
ढाल्यो रे जनसागर, माया न छाया काम गरेन केसैले,
सतर्क बन्ने उपाय रच्यो जो अन्ततः धोका पायो रे यसैले,
खै के हो यो अपरिचित हावा यता तिर बुझ्ने बुझाउनेले कोरोना महामारी भन्दै छन्,

सकस कस्तो दकस अमन्न मनभरिको यो दकस,
साट्नु कहाँ, काट्नु कहाँ
सायद बानी नै पर्यो की क्या हो
आजकल वल्ला, पल्ला,तल्ला,उपल्ला सबै एउटै चपेटामा
अनि फेरी उनी र म पनि कतै साथी त हुने होइन यही दूषित अपरिचित हावा?
जो मृत्यु बोकेर दिउसै हजारको भिडमा खुल्ले आम नग्न प्रदर्शन व्यस्त छ,
खै के हो यो दूषित हावा यता तिर बुझ्ने बुझाउनेले कोरोना महामारी भन्दै छन्,
सोचहरू बदलिइसके, सपनाहरू हराइसके,
वाचा कसम खाइ सँगै हिँड्ने सँगै बाच्ने कथनहरू इतिहास हुने हो की,
लु यही अपरिचित हावाले धावा बोली सक्यो रे,
बाहिर हेर्यो शून्य गल्लीहरू, सुनसान बस्तीहरू,सबैलाई बाच्नु छ,
खाएका वाचा बन्धनहरू सबैलाई मुटुमा साँच्नु छ,
युद्ध लड्नू भन्दा ठुलो पीडा छ, तर पनि हाँस्नु छ,
सबै एक साथ बसी मायाको माला उन्नू छ,
कतै ती घमाइला दिनमा कालो बादलले छरपस्ट चट्टानको बगैँचा फुलाउने त हैन?
ए प्रभु नहोस् त्यस्तो यही प्रार्थना गुन्नु छ,
खै के हो यो अपरिचित हावा यता सबैले कोरोना महामारी भन्दै छन्!
सबैले कोरोना महामारी भन्दै छन्!!