Home Vlog यमराजको उद्घोष

यमराजको उद्घोष

by ईलालटिन
0 comment

सुमन जंग । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले मगरले हिजो कोरोना रोकथाम तथा नियन्त्रणका लागि बोल्ड निर्णय गरेछन् । ‘पशुपति आर्यघाटमा दाउराको कमी हुन नदिनु ।’ मन्त्री मगरको नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई यो ठाडो आदेश थियो । रातमा के सपना देख्छन् होला यिनीहरूले, बिहानै अन्टसन्ट ओकल्न थाल्छन् । मर्माहत नागरिकको छातीमा दाउरा राख्न हतारिने सरकारले, के तपाई हामीलाई बचाउला ?

केही दिन अघि एउटा मन्त्री बोल्दै थिए, ‘आर्यघाटमा लास जलाउन खट्टिनेलाई १ हजार भत्ता व्यवस्था गरेको छु ।’ मन्त्रीहरूको यस्तो बोल्ड निर्णय सुन्दा कन्सिरीका रौँ ठडिएर आउँछन् । यिनका के कुरा गर्नु, प्रधानमन्त्री नै जोकर भएपछि । सिंहदरबार भित्रैबाट प्रधानमन्त्री भन्छन्,‘बेडको अभाव भएको छैन, अक्सिजनको कमी हुन दिने छैनौँ ।’ के अहिले देशमा मजाक चलिरहेको छ, हो । कि फिल्मको सुटिङ भइरहेको छ । दिनानुदिन मान्छेहरू बेड र अक्सिजन नपाएर छटपटिँदै ज्यान फालिरहेका दृश्यहरू हाम्रा प्रधानमन्त्रीले किन देख्न सक्दैनन् ? किन, कसले, के–का लागि छेकिरहेको छ, प्रधानमन्त्रीका हेर्ने दुई आँखा ।
‘रुखले हामीलाई कार्वनडाइअक्साइड दिन्छ, हामीले अक्सिजन दिन्छौँ ।’ यो चाहिँ वन मन्त्रीले प्रत्युत्पादन गरेको विज्ञान थियो । हामीले पढ्दै आएको र विश्वले मान्दै आएको विज्ञानलाई नै काउन्टर दिएपछि यिनको चर्चा देशभरि फैलिएको थियो । यी मन्त्री माथि पहिले काठ तस्करीको आरोप थियो । तर, भइदिए वन मन्त्री । धेरैले त, काम अनुसारको मन्त्रालय पाएछन् भन्दै बेइज्जत वाला तारिफ पनि गरे । मन्त्रालय सम्हाल्दा बाट सुरु भएको यिनको चर्चा आजसम्म पनि जारी छ । कहिलेकाहीँ आफैलाई ऐनामा हेर्दै, शिरको टोपी मिलाउँदै भन्दा हुन, वाह्., ‘म’ ।
चर्को घाममा पसिना बगाइरहेका खाडीका नेपाली दाजुभाइहरूले अक्सिजन र चाहिने सामाग्रीहरू प्लेन चार्टर गरेर पठाइसके । हाम्रा सरकारका मान्छेहरू चाहिँ कमिसनको दुलो कहाँ निर पार्ने र ल्याप्प चाट्ने भन्दै भौँतारिरहेका छन् । निजी कम्पनीहरूले हजारौँ अक्सिजन ल्याउन सक्ने तर, सरकारले नसक्ने । लाचारीको पनि त हद हुन्छ नि । वस्त्र लगाएर लाज किन छोप्नु प¥यो, नाङ्गै हिँडे त भैगो नि , अक्सिजन दिन नसक्ने, भेन्टिलेटर दिन नसक्ने, अरू त अरू एउटा बेड सम्म उपलब्ध गराउन नसक्ने नाथे सरकारले ‘आर्यघाटमा चाहिने दाउरामा कुनै कमी नगर्नु’,भन्दै निर्देशन दिने । बल्लतल्ल मिलेको अस्पतालको श्यामा भएको बिरामीले के सोच्यो होला । आत्मबल बढाउन भूमिका खेल्नुपर्ने ठाउँमा उल्टै दाउरा जम्मा गर, बिरामीहरू भटाभट मदैैछन् है, भन्ने सन्देश दिने गरी बिकुल फुक्दै हिँड्ने ?  अब यस सरकारलाई ज्यानमारा सरकार भन्न पाउने कि नपाउने ?

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com