काठमाडौं । विराटनगर-१ की ३५ वर्षीया सावित्रा भट्टराई नर्सिङ पढिरहेकी थिइन्। भर्खर बिएन सकेर घरमै बसिरहेकी थिइन्। उनी गर्भवती थिइन्। परिवारमा दोस्रो सन्तानको आवागमनको ब्यग्र प्रतीक्षा थियो। खुसीयाली उत्तिकै। सावित्रा सात महिनाकी गर्भवती थिइन्। शिशु जन्मिने समय नजिकिइरहेको थियो। भक्तपुरस्थित आफन्तको घर पुगेर वैशाख १३ गते उनी विराटनगर फर्केकी थिइन्। जब उनी भक्तपुरबाट फर्किइन्, त्यसपछि उनको जीवनमा विस्तारै ग्रहण लाग्न सुरू भयो। स्वास्थ्यकर्मी भएको हुनाले उनलाई थाहा थियो- नयाँ ठाउँबाट फर्केपछि केही दिन आइसोलेट हुने। स्वाब परीक्षण गर्ने। यही क्रममा वैशाख १६ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजेटिभ देखियो। परिवारका अनुसार उनी कतै गइनन्। घरमै आइसोलेसनमा बसिरहेकी थिइन्। स्वास्थ्य सामान्य भएकाले उनलाई अस्पताल लैजानु परेको थिएन। विस्तारै उनको स्वास्थ्य स्थिति बिग्रँदै गयो। वैशाख २३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियू बेड आवश्यक पर्यो। परिवारले नोबेल शिक्षण अस्पताल लगेका थिए। ‘त्यहाँ आइसियू भेटेनौं, त्यसपछि विकल्प खोज्न थालियो,’ उनका श्रीमान राजन प्याकुरेलले भने।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीकहाँ यो कुरा पुग्यो। उनले कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा शय्या छ/छैन भनी सोधीखोजी गरे। आइसियू शय्या रहेको थाहा पाएपछि पराजुलीले बिरामी ल्याइँदै गरेको सूचना अस्पतालका कर्मचारीलाई दिए। सावित्रालाई लगेर भर्ना गरियो। अवस्था निकै जटिल थियो। आइसियूमा राखेर उपचार थालियो। स्वास्थ्यकर्मी भएका नाताले यहाँ भएका डाक्टर/नर्स सबैले क्रिटिकल केयर दिनुभयो,’ कोसी अस्पतालका सूचना अधिकारीले अनुपम राजवंशीले भने। तर, कि आमालाई कि गर्भको शिशुलाई बचाउनुपर्ने विकल्प खडा भयो। आमालाई एन्टिबायोटिक दिनुपर्ने देखियो। एन्टिबायोटिक दिँदा पेटमा भएको शिशुको स्वास्थ्य प्रतिकूल हुन्थ्यो। अस्पतालका डाक्टरहरूले परिवारसँग परामर्श गरे। परिवारले आमाको स्वास्थ्य बचाउन अनुरोध गरे। एक छोरी भइसकेका कारण दोस्रो पटकको बच्चा माया मार्न परिवार तयार भएको हुनुपर्छ। परिवारले एन्टिबायोटिकसँगै अन्य औषधी चलाउन अनुमति दिए। परिणामस्वरूप २८ गते शिशुको पेटमै मृत्यु भयो। ‘मृत शिशु नर्मल डेलिभरीमार्फत् निकालियो, तर आमाको स्वास्थ्य उस्तै गरी गम्भीर भइरह्यो,’ राजवंशीले भने। शिशु खेर गएपछि अस्पतालले प्लाज्मा थेरापी पद्धतिबाट पनि उपचार गर्यो। तर, कुनै उपचारले उनको स्वास्थ्यमा सुधार ल्याउन सकेन। र, उनी शनिबार राति साढे ९ बजे बितिन्।
नर्सिङ पढ्दापढ्दै उनको बिहे भएको थियो। बिहेपछि एक छोरी जन्मेकी थिइन्। ब्याचलर पढ्ने उनको इच्छा साकार भइसकेको थियो। नर्स बनेर बिरामीको सेवा गर्ने उनको इच्छा कोभिड-१९ को दोस्रो लहरमा ‘ब्रेक’ लाग्यो। मृत्यु संस्कारमा बसेका श्रीमान राजन श्रीमती वियोगमा विछिप्त छन्। उनी विराटनगरमा शिक्षा क्षेत्रमा सक्रिय युवा हुन्। भक्तपुरबाट सावित्रा फर्केपछि परिवारमै कोरोना संक्रमण देखिएको थियो। राजन, छोरी, आमा-बाबु सबैमा कोरोना देखिएको थियो। उनीहरू सबै कोरोनाबाट जोगिएका थिए। कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा संक्रमित महिला गर्भवतीको मृत्यु भएको यो पहिलो घटना पनि थियो।‘सुरूमा त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छ भन्ने खबर आएको थियो, तर यहाँ ल्याउँदा आइसियूमा राख्दा हुने देखेर डाक्टरहरूले उपचार गर्नुभयो,’ राजवंशीले भने, ‘उहाँ जुन मास्कमा अक्सिजनसहित आउनुभएको थियो, त्यो मास्क खोल्नु परेन।’ रातोपाटी ।