पर्वत ।सदरमुकाम कुस्मामा एउटा जिल्ला अस्पताल रहेको छ । यहाँ अहिले कोरोना सङ्क्रमितहरूको उपचार भइरहेका छन् । अस्पतालमा अक्सिजन सहितको जम्मा १० शैया छ । त्यो पनि कोरोनाको बिरामीले भरिएका छन् । जसोतसो जोहो गरेर प्यासेज र आकस्मिक कक्षमा थप दुई बिरामीलाई राखिएको छ । यता डाक्टर ढुण्डिराज पौडेलको अनुहार मधुर देखिन्छ । अब, थप बिरामी भए भने कहाँ राख्ने, जवाफ के दिने, उनमा चिन्ता बढेर गएको छ । भन्छन्,‘ बिरामीलाई दिने जवाफ हामी सँग केही छैन, नाजवाफ छौँ ।’
नगरापालिका र जिल्ला प्रशासन कार्यालयलाई धेरै अघि आइसोलेसन निर्माणका लागि आग्रह गरिएको थियो । तर, आजका दिनसम्म पनि थप आइसोलेसन कक्षको निर्माण हुन सकिरहेको छैन । डाक्टर पौडेलका अनुसार यदि आइसोलेसन कक्ष समयमै स्थापना गर्न सकेको भए अहिले प्यासेजमा राखेर उपचार गर्नुपर्ने स्थित आउने थिएन । ‘हामीले धेरै पटक भन्यौँ कुनै सुनुवाइ नै भएन,’उनी भन्छन्, ‘थप बिरामीहरूलाई उपचार दिनबाट हामीहरू वञ्चित बन्नु परेको छ ।’
अहिले अस्पतालमा जनशक्ति अभाव छ । ठूलिपोखरीबाट एक जना डाक्टर सहयोगका लागि आइपुगेका छन् । डाक्टर लगायतका अन्य कर्मचारीहरू निर्धारित समय सीमा भन्दा बढी काम गरिरहेका छन् । आफूहरू २४ सई घण्टा खटिएर काम गरिरहेको डाक्टर पौडेलले बताए । ‘बरु अक्सिजनको चर्को आवाज आउँदा बेलुका केही छिन निदाउन खोज्छौँ तर आवाज आउन छाड्यो भने दगुरादगुर हुन्छ ।’, डाक्टर पौडेल भन्छन्,‘कता अक्सिजन रोकिएर बिरामीहरूलाई अप्ठ्यारो पर्ने हो, अक्सिजन आवाज बन्द हुन् साथ उपचारमा खटिएका सबै जना बिरामीको छेउमा पुगी हाल्छौँ ।’ डाक्टर पौडेल मेडिकल सुपेरिटेन्डेन्ट भएको गर्दा पनि उनी माथि थप बढी जिम्मेवारी रहने गर्छ ।
डाक्टर पौडेलले बन्द रहेका सरकारी कार्यालयहरूबाट केही कर्मचारीहरू अस्पतालमा ल्याएर सहयोगीका रूपमा काम गराउन सकेमा थोरै हदसम्म भए पनि जनशक्तिको व्यवस्थापनमा सहजता हुने बताए । ‘अहिले अधिकांश सरकारी कार्यालयहरू बन्द छन्, त्यहाँ कार्यरत जनशक्तिहरू काम विहीन भएर बस्नुपरेको छ ।’, पौडेल भन्छन्,‘ यता अस्पतालमा चाहिँ काम गर्ने जनशक्तिहरूको अभाव बढ्दै गइरहेको छ, यस्तो अवस्थामा ती कर्मचारी साथीहरूलाई सहयोगीका रूपमा अस्पतालमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गरिदिए राम्रो हुने थ्यो ।’
