काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचार प्रभावित भएको छ । अस्पतालमा भएको अक्सिजन सकिएको र सरकारले दिने भनेको कोटाअनुसारको अक्सिजन नपाउँदा बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ । अक्सिजन नहुँदा उपचाररत विरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आएको भन्दै अस्पतालले सीसीएमसीलाई बुधबार पत्र पठाएको छ । ‘अक्सिजन सप्लाई गर्न अस्पतालले नयाँ जडान गरेको मेसिनले काम नगरेको यहाँलाई विदितै छ । नेपाल सरकारको कोटाबाट प्राप्त हुने २५० सिलिन्डर हालसम्म एउटा पनि प्राप्त भएको छैन, अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुन सकेको छैन, मौज्दातमा भएका सबै सिलिन्डरहरु रित्तिएका छन्’ केएमसीका बरिष्ठ प्रशासक प्रेमप्रकाश थापाले सीसीएमसीलाई पठाएको पत्रमा भनिएको छ, ‘२०७८ बैशाख २९ गते साँझ सम्मलाई मात्र अक्सिजन पुग्ने भएकाले यसबाट स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुन नदिन विरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था आएकाले यसको जानकारी तथा आवश्यक कारबाहीका लागि अनुरोध छ ।’
केएमसीमा पनि अक्सिजन अभाव, कोरोना संक्रमितको उपचारमा समस्या
108