त्यसो त मन्त्रालयले अहिलेकै गतिमा संक्रमण फैलिए दैनिक १४९ जनाको मृत्यु हुने प्रक्षेपण नगरेको होइन । सरकारको प्रक्षेपणभन्दा बढी मृत्यु हुनुले भयावहको चित्र प्रस्ट देखाउँछ । संक्रमण कुन गतिमा फैलिइरहेको छ ? मृत्युदर बढ्नुको कारण के हो ? महामारी नियन्त्रण गर्न अब के गर्नुपर्छ भनेर जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम धुलिखेल खस्पतालका निर्देशक डा. विराज कर्माचार्यसँग शिलापत्रकर्मी दिनेश गौतमले कुराकानी गरेका छन् । प्रस्तुत त, सोही कुराकानीको सम्पादित अंश:
दोस्रो चरणको पिकमा छौँ
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर आउँदै छ भन्ने कुरा आज थाहा पाएको होइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन/चार हप्ताअगाडि नै दोस्रो लहर आउँदै छ भनेर सचेत गराएको हो । हामीले छिमेकी देश भारतलाई पनि हेर्नुपर्ने हुन्छ ।
भारतको महाराष्ट्रमा संक्रमण फैलिँदै गर्दा नेपालमा पनि त्यसको बाछिटा आउने संकेत दिएको थियो । त्यसैअनुसार सरकारले पनि दैनिक ११ हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको हो । भारतमा उच्च भएको एक महिनापछि नेपालमा संक्रमण विस्तार भएको कोरोनाको कर्भले पनि देखाउँछ ।
अहिले हामी दोस्रो चरणको माथिल्लो पिकमा पुगेका छौँ । अर्को हप्तासम्म अवस्था पिकमै रहन्छ । अझै हाम्रा लागि उज्यालो दिन छैन । वैशाखको अन्तिम र जेठको पहिलो हप्तासम्म यसरी नै जान्छ । त्यसपछि विस्तारै ओराले झर्न थाल्छ ।
निषेधाज्ञाले मात्र पुग्दैन
अस्पतालहरूमा आइसोलेसन, आईसीयू, भेन्टिलेटर भरिएका छन् । निषेधाज्ञाले सहज त बनाएको छ, यसले समुदायमा परिवर्तन हुन्छ । तर, निषेधाज्ञाले घरभित्र फैलिने क्रम भने रोक्दैन । निषेधाज्ञासँगै परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । विशेष त नाकामा कन्ट्रोल गर्न सक्नुपर्छ ।
दुःखका साथ भन्नुपर्छ, अब बालबालिका, युवा वा ज्येष्ठ नागरिक कसलाई जोगाउने भन्ने स्थिति छ । एउटा मान्छेलाई भेन्टिलेटरमा राख्दा बाँच्ने सम्भावना १० प्रतिशत छ तर अर्कोलाई राख्दा बाँच्ने सम्भावना ९० प्रतिशत छ भने कसलाई राख्ने ? यो महत्त्वपूर्ण विषय हो । तर, सबैको ज्यान उस्तै हो । सबैलाई जोगाउन कसरत गर्नुपर्छ ।
सुरुमै हामीले नाकामा कन्ट्रोल गर्न सकेको भए संक्रमण धेरै फैलिन पाउने थिएन । नाकामा क्वारेन्टाइन बनाएर १० दिन राख्न सकेको भए आज यो स्थिति देखा पर्ने नै थिएन । विमानस्थल पनि खुला थियो, यसले पनि जोखिम निम्त्याएको हो । नाकाहरूमा कन्ट्रोल गर्न नसकेपछि अक्सिजन, बेड र भेन्टिलेटरमा समस्या आउँछ भन्ने पनि थाहा थियो । यसको पनि समयमा जोहो गर्न सकिएन । बेडहरू तयार गरिएन । परीक्षण र कन्ट्याक्ट ट्रेसिङ पनि भएन । जसका कारण संक्रमण धेरै सल्कियो ।
दुई गुणाले संक्रमण फैलिँदै, मृत्युदर तीन हप्तासम्म बढ्छ
अघिल्लो हप्ताको तुलनामा ९० दशमलव ४ प्रतिशत अर्थात् दुई गुणाले संक्रमण फैलिएको छ । भारत र नेपालमा संक्रमणको दर बारबारजस्तै छ । भारतमा प्रति १० लाख जनसंख्यामा २८३ दशमलव ५ जना संक्रमित छन् भने नेपालमा २७९ दशमलव ५ जना संक्रमित छन् । मृत्युदर भने नेपालमा कम छ । भारतमा २ दशमलव ८ प्रतिशत र नेपालमा १ दशमलव ६ प्रतिशत छ ।
नेपालमा केही हप्ता मृत्युदर पनि बढ्ने देखिन्छ । पोजिटिभ हुने दर पनि भारतमा भन्दा नेपालमा दुई गुणाले बढी छ । भारतमा पोजिटिभ हुने दर २२ दशमलव २ प्रतिशत छ । नेपालमा ४१ दशमलव ९ प्रतिशत छ । एक जना संक्रमितले भारतमा भन्दा नेपालमा धरैलाई सारिरहेको छ ।
भारतमा एक संक्रमितले १ दशमलव २ जनालाई र नेपालमा १ दशमलव ८ जनालाई सारिरहेको छ । धेरै मानिस परीक्षण नगरीकन बसेका छन् । उनीहरू पोजिटिभ छन् तर परीक्षण नगरी समुदायमा घुमिरहेका छन् ।
नयाँ भेरियन्ट धेरै घाताक
नयाँ भेरियन्ट धेरै घातक छ । अहिलेको हेल्थ केयर सिस्टमले बचाउन सकिनेलाई पनि नसकिने अवस्था आएको छ । दुःखका साथ भन्नुपर्छ, अब बालबालिका, युवा वा ज्येष्ठ नागरिक कसलाई जोगाउने भन्ने स्थिति छ ।
एउटा मान्छेलाई भेन्टिलेटरमा राख्दा बाँच्ने सम्भावना १० प्रतिशत छ तर अर्कोलाई राख्दा बाँच्ने सम्भावना ९० प्रतिशत छ भने कसलाई राख्ने ? यो महत्त्वपूर्ण विषय हो । तर, सबैको ज्यान उस्तै हो । सबैलाई जोगाउन कसरत गर्नुपर्छ । त्यसैले अहिले हेल्थ सिस्टमलाई एक्टिभ बनाउनुपर्छ ।
सरकारले सबै अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ । योसँगै सीमित ठाउँहरूमा आइसोलेसन सेन्टर बनाउनुपर्छ । परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई धेरैभन्दा धेरै बढाउनुपर्छ । अनि होम आइसोलेसनमा बसेका संक्रमितलाई फोनबाट परामर्श दिनुपर्छ ।
पालिका उठ्नुपर्यो
महामारी नियन्त्रणमा पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । पहिलो लहरमा पालिकाहरू एक्टिभ भएका थिए । स्कुल, कलेज वा अन्य खाली ठाउँमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाएर काम गरेका थिए । तर, दोस्रो लहरमा पालिकाहरू एक्टिभ भएको देखिँदैन । यद्यपि, केही पालिकाले गर्नु पनि भएको छ ।
स्थानीय तहले टोलटोलमा गएर परीक्षण गर्ने र होम आइसोलेसनमा बसेकाको अनुगमन गर्नुपर्छ । अब स्थानीय तह पनि उठ्ने समय भइसकेको छ, नत्र संक्रमण पछिसम्म फैलिन सक्छ । केही समय हाम्रा लागि अझै कठिन छ, स्वास्थ्यको मापदण्डलाई सबैले पूर्ण रूपमा पालना गरौँ । शिलापत्र