धनुषा । प्रदेश नम्बर २ मा नवगठित दलित आयोगका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) की नेतृले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीमा उपाध्यक्ष बैठाले यौनजन्य हिंसा गरेको आरोप लगाइएको छ ।प्रदेश २ सरकारले गत चैतमा दलित आयोगमा गठन गरेर रामप्रवेश बैठालाई उपाध्यक्ष चयन गरेको थियो । उनै उपाध्यक्ष रामप्रवेश बैठा र सत्तारुढ जसपा नेपालकी प्रदेश नम्बर २ की प्रदेश सदस्य ललिता दासबीच फेसबुक म्यासेन्जरबाट सुरु भएको विवाद प्रहरी कार्यालयसम्म पुगेको हो ।जसपा नेतृ ललिताले उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध बैशाख ९ गते सिराहास्थित ईलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । बैठाले आफ्नो चरित्रहत्या हुने गरी च्याटमार्फत अपशब्द प्रयोग गरेको भन्दै आरोपित पक्राउ गर्न ललिताले माग गरेकी छिन् ।बैठासँग आफ्नो पुरानो चिनजान रहेकाले कुराकानी हुने गरेकोमा चैत ९ गते राति ११ बजे सपथ ग्रहणमा आउन म्याजेन्जरबाट आमन्त्रण गरेको ललिताले उजुरीमा उल्लेख गरेकी छिन् । त्यसक्रममा म्यासेज पठाएर अनुचित आग्रह गरेको र आफूले अस्वीकार गर्दा गाली गलौच गरेको ललिताले आरोप लगाएकी छिन् ।उपाध्यक्ष बैठाको यस्तो गलत क्रियाकलापले आफ्नो परिवारमा पति–पत्नीबीचको दाम्पत्य जीवनसमेत धरापमा पर्न लागेकाले उपाध्यक्ष बैठालाई तत्काल पक्राउ गरेर घटनाको सत्यतथ्य छानविन गरी कारवाही गर्न उनले माग गरेकी छिन् ।प्रदेशले दलितको सशक्तीकरणका लागि दलित आयोग गठन गरेको र जसपाबाटै नियुक्ति पाएका बैठाले आफ्नै पार्टीकी सहकर्मी महिला नेतृमाथि कुनियत राखेको ललिताले बताइन् । बैठामाथि कारवाही गर्न जसपाभित्र माग गर्दा कुनै चासो नलिएपछि बाध्यात्मक अवस्थामा आएर आफू प्रहरीमा उजुरी दिन पुगेको ललिताले बताइन् ।
उपाध्यक्ष बैठाले फेसबुक म्यासेन्जरमा भएको कुराकानीका क्रममा आफूले ललितालाई गालीगलौज गरेको स्वीकार गरेका छन् । तर, आफूले उनलाई कुनै पनि किसिमको गलत प्रस्ताव नगरेको बताए । बैठाले भने, मेहनती र जुझारु महिला भएकै कारण आफूले उनलाई आयोगको सदस्यमा नियुक्त गर्न सिफारिससमेत गरेको छु । आफूलाई विभिन्न बहानामा तनाव दिँदै आएका कारणले गर्दा आफूसँग भएको च्याटका क्रममा मबाट अपशब्द प्रयोग भएको हो । तर, आपूmले कुनै पनि किसिमको प्रस्ताव गरेको छैन ।’ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक तपन दाहालले रामप्रवेश बैठाविरुद्ध उजुरी दर्ता भएको भन्दै छानविन अगाडि बढाएको जानकारी दिए । उनले दुबै पक्षलाई बोलाएर छलफलको माध्यमबाट समाधान खोज्ने प्रयास गर्ने बताए । छलफलबाट समस्या सामाधान नभए कानूनी प्रक्रिया अघि बढाइने उनले बताए । रातोपाटी ।