पोर्चुगलमा विश्वकै लामो पैदलयात्रीहरु हिड्ने सिंगल स्पान भएको झोलुंगे पुल निर्माण भएको खबर विश्वका संचारमाध्यममा आइरहँदा यसले नेपालमा भने तरंग पैदा गरेको छ । पोर्चुगलको आरोकामा निर्माण सम्पन्न पैदलयात्री हिँड्ने पुलको लम्बाइ ५१६ मिटर रहेको छ ।
तर योभन्दा लामो पुल नेपालकै बाग्लुङमा निर्माण भएको भन्दै नेपालीहरुले सामाजिक सञ्जालमा पोर्चुगलमा निर्माण भएको पुललाई विश्वकै लामो भन्दै प्रकाशित विवरणलाई गलत बताएका छन् । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा बागलुङ–पर्वत जोड्नेगरी कालीगण्डकीमाथि निर्माण भएको पैदलयात्री हिड्ने सिंगल स्पानको पुल ५६७ मिटर लामो रहेको छ । जुन अहिले पोर्चुगलमा निर्माण गरिएको विश्वकै लामो भनिएको पुलभन्दा ५१ मिटर लामो रहेको छ ।
सिंगल स्पान प्रबिधिमा बनेको पैदलयात्री हिड्ने झोलुङ्गे पुलमध्ये यसअघि स्वीजरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गे पुललाई विश्वकै लामो बताइदै आएको थियो । सन् २०१७ मा गिनिज बुकमा दर्ता भएको रेकर्ड अनुशार स्वीट्जरल्याण्डको चाल्र्स कुओनेन नामको झोलुङ्गे पुल ६५ सेन्टिमिटर चौडाईको रहेको छ ।
नेपालकै कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको दोधारा चाँदनी पुल १४५२ दशमलव ९६ मिटर लामो रहेको छ । तर यो पुल मल्टीस्पानमा निर्माण भएको पुल हो । यो पुलमा रहेका स्पानहरुमध्ये सबैभन्दा लामो स्पान २२५ मिटरको रहेको छ ।
नेपालको बागलुङमा रहेको पुल र अहिले पोर्चुगलमा निर्माण सम्पन्न भएको पुलको प्रकृति भने मिल्दो रहेको छ । तर बागलुङमा रहेको पुलबारे विश्वब्यापी प्रचार हुन नसक्दा विश्वका संचारमाध्यमहरुले पोर्चुगलको पुललाई विश्वकै लामो भनेर प्रचार गरिरहेका छन् ।
बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको जनाइएको थियो । झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो ।
पुललाई गत माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो ।
खसोखास