गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।जिल्लामा विपद व्यवस्थापन समिति छ । तर आगो नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा सुरक्षाकर्मीले आगो निभाउने क्रममा ज्यान गुमाएका घटना पनि नभएको होइन । केही वर्ष अघि हस्तीचौरमा आगो निभाउने क्रममा एकजना सैनिक जवानको जलेर मृत्यु भएको थियो । त्यसपछि पनि आगो नियन्त्रणका क्रममा गुल्मीको बडागाउँमा एक युवाको मृत्यु भएको थियो ।यस्तो अवस्था भोग्दा भोग्दै पनि जिल्लाका जनप्रतिनिधिले जिल्लामा दमकल ल्याउनका लागि पहल गरेका छैनन् ।जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार जिल्लामा एउटामात्र दमकल छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा रेसुङ्गा नगरपालिकासँग मात्र दमकल छ । अन्य ११ स्थानीय तहसँग दमकल नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थी बताउँछन् ।
दमकल खरिद सम्बन्धमा प्रशासन कार्यालयमा छलफल भए पनि ठोस प्रक्रिया अघि नबढेको उनी बताउँछन् । दुई स्थानीय तह बराबर एक दमकल खरिद गर्ने भनिए पनि यो लागू हुन सकेको छैन ।करोडौं मूल्यमा सरकारी गाडी किन्ने र करोडौं रकम भाडा तिरेर निजी गाडीमा सवार गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले दमकल खरिद चासो नदेखाएका हुन् ।२०७३ वैशाख १८ गते गुल्मीको दजाकोटमा भीषण आगलागी भएको थियो । सदरमुकाममा दमकल नहुँदा ट्याक्टरमा पानी बोकेर निभाउने प्रयास गर्दागर्दै दजाकोट गाउँ जलेर खरानी बनेको थियो ।दजाकोटका बासिन्दा तथा मुसिकोट नगरपालिका कार्यसमिति सदस्य हरिप्रसाद छन्त्यालका अनुसार त्यस आगलागीमा ५७ घर र ७२ वटा गोठ जलेर पूर्णरुपमा क्षति भएका थिए ।गुल्मीमा गत फागुन र चैत महिनामा आगलागीका घटना बढेका छन् । यस अवधीमा जिल्लाका विभिन्न स्थानमा आगलागीमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लामा करिब १५ घर आगोले जलेर पूर्ण रुपमा नष्ट भएका छन् । थुप्रै गोठमा आगलागी हुँदा पशु चौपायाको समेत मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका–२ बागमारेमा पूर्णराम परियारकी श्रीमती ६५ वर्षकी हरिकला परियार आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कम्मर मुनिको भाग जल्दा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।गुल्मी दरबार गाउँपालिका १ कुर्लिचौरमा नन्दबहादुर कुमालकी श्रीमती ४२ वर्षीय मनकुमारी कुमालको पनि खाना पकाउने क्रममा अचानक आगो सल्किएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै, धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुँदा शंकर परियारकी छोरी वर्ष ९ की संगिता परियारको मृत्यु भएको थियो । छत्रकोट गाउँपालिका–१ हुँगामा लालबहादुर गाहाकी श्रीमती ५२ वर्षकी मिना गाहा आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रातोपाटी ।