काठमाण्डौ । देशकै सबैभन्दा पूरानो र ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस आइएमइले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । आइपीओ निष्काशन गर्नका लागि प्रक्रिया शुरु गरिएको आइएमइका प्रवन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७८र७९ भित्र आइपीओ जारी गर्ने गरी काम अघि बढाइएको उनले बताए ।
ढकालका अनुसार आइपीओ संभवत बुक बिडिङ विधिमार्फत् निष्काशन हुनेछ । बुक बिडिङ प्रणालीमार्फत आइपीओ जारी गर्दा १०० रुपैयाँमा किन्न पाइँदैन । हाल आइएमइको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कम्तिमा १० देखि ३० प्रतिशतसम्म आइपीओ निष्काशन गर्ने ढकालले सुनाए ।
३ वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको आइएमइ नेपालकै ठूलो र लोकप्रिय कम्पनी हो । धेरै डलर भित्र्याएको भन्दै सरकारले आइएमइलाई सीआइपी सम्मानबाट सम्मानित गरिसकेको छ । आइएमइले वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा विदेशबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएको छ । आइएमइ ग्रुपले आफ्नो लगानीमा भएका निजी कम्पनीहरुलाई धमाधम पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गरिरहेको छ ।