काठमाण्डौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ।।
आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए। यो संख्या हालसम्मकै उच्च हो। केही दोहोरो आवेदन परेकाले रद्द भएको छ, केहीकाे बैंकबाटै भेरिफाइड भएन। १७ लाख ९७ हजार ८३३ आवेदक मात्रै भेरिफाइड भएकाे बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
रद्द भएकासहित १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ। जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो।
अर्थात कुल आवेकदमध्ये ३२.२४ प्रतिशतले सेयर पाएका छन्। अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन्। नतिजा केहीबेरपछि आइपिओ रिजल्ट डट् सिडिएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ।

आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।
प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ।
जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो।