Home समाचार निर्मलादेखि भागरथीसम्म: सुदूरपश्चिममा बलात्कार मुद्दाका ७० आरोपी अझै फरार

निर्मलादेखि भागरथीसम्म: सुदूरपश्चिममा बलात्कार मुद्दाका ७० आरोपी अझै फरार

by ईलालटिन
0 comment

धनगढी  । सुदूरपश्चिममा पछिल्लो डेढ वर्षमा जबरजस्ती करणीसम्बन्धी ४ सय ३६ घटना भएको प्रहरीको तथ्यांक छ। तीमध्ये ३ जनाको बलात्कार पछि हत्या भएको छ। ती सबै घटनामा संलग्नमध्ये ४ सय ४८ जनालाई पक्राउ गरिए पनि ७० जना अझै फरार छन्। यस प्रदेशमा पछिल्लो सात महिनामा मात्र एक सय २१ जनामाथि बलात्कार भएको प्रहरीको तथ्यांक छ।साढे २ वर्षअगाडि कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि विभत्स हत्या भएको थियो।२०७५ साउन ११ कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित ती बालिकाको शव फेला परेको थियो। पोष्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको पुष्टि भयो। घटनामा देशकै उच्च सुरक्षा निकायको टोली अनुसन्धानमा परिचालित भए पनि  अझै अपराधी पत्ता लाग्न सकेको छैन। अहिलेसम्म घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।निर्मलाको न्यायका लागि देश तथा विदेशबाट आवाज उरिहेका छन्। ठाउँठाउँमा आन्दोलन पनि जारी छन्। छोरी गुमाउनु परेकी निर्मलाकी आमा दुर्गादेवी हत्यारा अझै पत्ता लाग्छ कि भन्ने आशमै छिन्।निर्मलाको बलात्कार र हत्या भएको केही दिनमै कैलालीको गौरीगंगा-११ बरही कटानकी १९ वर्षीया माया विकको पनि सामूहिक बलात्कारपछि हत्या भएको थियो। उनको शव जंगलमा अर्धनग्न क्षत-विक्षत अवस्थामा फेला परेको थियो। प्रहरीले मायाका हत्या गर्ने अपराधीलाई केही दिनमै सार्वजनिक गरेर सजाय दिलाएको थियो।

यस वर्ष असोज ९ गते बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको पनि बलात्कारपछि हत्या भयो। उनको बलात्कारपछि त्रिशुलले हानेर सोही ठाउँका २२ वर्षीय राजेन्द्र बोहराले हत्या गरेको थिए। अपराध प्रमाणित भएपछि राजेन्द्र बोहरा सजाय काटिरहेका छन्। अहिले बैतडीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई लिएर न्याय माग्दै नागरिकहरू सडकमा छन्। दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ। घटनाको ११ दिन बिते पनि भागरथी बलात्कार-हत्यामा संलग्नलाई प्रहरीले अझै फेला पार्न सकेको छैन।सुदुरपश्चिममा किशोरी तथा बालिकामाथि जघन्य अपराध हुने क्रम बढेको छ। बलात्कारपछि हत्याका घटनाले यहाँका छोरी त्रसित बनेको विद्यार्थी तारा गौतमले बताइन्। बलात्कारमा संलग्नलाई कारबाही गर्न नसकेका कारण छोरीमाथि यस्ता जघन्य अपराध हुने क्रम बढ्दै गएको उनको भनाइ छ।‘यस्ता अपराध गर्नेलाई कडा कारबाही हुनुपर्छ। राज्यले बढी गम्भीर हुनु पर्छ,’ उनले भनिन्। कानुनको कडा कार्यान्वन हुन नसक्नु, छोरीचेली सुरक्षाका सवालमा नयाँ कानुन बन्न नसक्नु, बलात्कारका घटनालाई गम्भीरतापूर्वक नलिनु, घटनाका दोषीलाई कारबाही गर्न नसक्नुलगायत कारणले किशोरी तथा बालिका असुरक्षित हुन थालेको किशोरीहरूको बुझाइ छ। ‘यति धेरै बलात्कारमा हाम्रा दिदीबहिनीले न्याय पाएका छैनन्। बाहिर हिँड्न पनि गाह्रो भइरहेको  छ। एउटा घरबाट अर्काे घर जाउँ भने पनि ढुकढुक हुन्छ। रातिको बेला त झन् हिँड्नै सकिँदैन। आफ्नो दाइभाइ आफन्तमाथि पनि विश्वास गर्न सकिने अवस्था छैन,’ विद्यार्थी साक्षी पन्तले भनिन्।

बालिका तथा किशोरीहरू आफन्तबाट पनि असुरक्षित हुन थालेका छन्। आफन्तमात्र नभई जन्मदिने बुबाबाटै समेत बलात्कार हुनु परेको घटना सार्वजनिक भएका छन्। तिनैमध्ये एक हुन् ११ वर्षीया प्रिन्सी (नाम परिवर्तन)। बुबाले नै उनलाई बलात्कार  गरे। डेढ महिनाअघि जन्म दिने बुबाले नै बलात्कार गरेपछि उनी घरमा बस्न सक्ने अवस्थामा छैनन्। त्यसैले एउटा संस्थाको सेफ हाउसमा बसेकी छन्।कतिपय बलात्कारी अदालतबाट धरौटीमा छुट्ने गरेका छन्। अदालतले विभिन्न कारण देखाउँदै उनीहरूलाई धरौटीमा छुटाउने गरेको जनाएको छ। धरौटीमा छुटाउँदा पीडित पक्ष न्यायका लागि उच्च अदालतसम्म पुग्ने गरेका छन्। कैलालीको गौरीगंगाकाकी ८ वर्षीय बालिका गत भदौमा बलात्कृत भएकी थिइन्। उनी गाउँका एक वृद्धबाट बलात्कृत भएकी थिइन्। एक महिनाभित्र बलात्कारी धरौटीमा छुटेपछि पीडितमा निराशा छायो। उनीहरूले उच्च अदालतसम्म फेरि न्याय पाउने आशमा धाए। उच्च अदालतले उनको मुद्दाको अझै  सुनुवाइ सकेको छैन। बैतडी सिगास गाउँपालिकाकी एक किशोरीमाथि बलात्कार भएको थियो तर पीडितलाई एक तोला सुन दिने सहमतिमा घटना गाउँमै मिलाइयो। पछिमात्र उक्त घटना बाहिरिएको थियो।

त्यस्तै बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकका हत्यारा राजेन्द्र बोहराले त्यसअघि सोही ठाउँकी १३ वर्षीया किशोरीलाई पनि बलात्कार गरेका थिए। त्यो घटनामा गाउँका ‘ठालु’ले मिलापत्र गरेका थिए। अहिले मिलापत्र गराउने प्रहरी हिरासतमा छन्।कैलालीकी एक महिलामाथि सामूहिक बलात्कार भयो।  त्यो घटनालाई महिलाका परिवार र आफन्तले प्रहरीसमम पुग्न दिएनन्। गाउँकै केही अगुवा र जनप्रतिनिधिको उपस्थितिमा घटनालाई पैसा लेनदेनमा मिलाइयो। यस्ता थुप्रै घटना प्रहरीसम्म पुग्न पाएका छैनन्। बलात्कारजस्ता अपराधका घटना कतिपय प्रहरी कर्मचारी पैसाको लेनदेनमै मिलाउने गरेका छन्। केही दिनअघि कैलाली जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना प्रहरी इन्स्पेक्टर बलात्कारका घटना मिलाइदिने भन्दै पैसा मागेपछि रंगेहात पक्राउ परेका थिए। उनीसँगै मिलेका कानुन व्यवसायी पनि पक्राउ परिसकेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com