नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहमा रहेका एकपछि अर्को नेताले आउँदो महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने दाबी प्रस्तुत गर्न थालेका छन्।
गत बिहीबार सभापति देउवालाई भेटेर आफूलाई सभापतिमा समर्थन गर्न उपसभापति विमलेन्द्र निधिले गरेको आग्रहबारे खबरहरू आएपछि देउवा समूहमा रहेका अरू नेताले पनि सभापतिमा इच्छा राखेको चर्चा छ।
देउवाले पार्टी फुटाउँदादेखि साथ दिएका पूर्वउपभापति गोपालमान श्रेष्ठ पनि सभापतिका आकांक्षी हुन्। अहिले उनी कांग्रेस संगठन विभाग प्रमुख छन्।
श्रेष्ठले सोमबार सेतोपाटीसँग कुराकानी गर्दै आफू आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताए।

‘म संगठन विभाग प्रमुख हो। देशैभरमा संगठन विस्तारका काम गर्दैछु। जनमत तयार गर्दैछु,’ श्रेष्ठले भने, ‘अब पनि म उठिनँ भने त राजनीतिमा पछि पर्छु।’
तर सभापति देउवासँग सल्लाह गरेर मात्रै आफू सभापति उम्मेदवार हुने श्रेष्ठले बताए।
‘एक्लै उठेर हुन्न टिममा सल्लाह गर्नुपर्छ,’ उनले थपे, ‘हाम्रो टिम लिडर देउवा हो। उहाँले म उठ्दिनँ भन्नुभयो भने स्वभाविक रूपमा म नै सभापति उठ्ने हो।’
देउवाले पार्टी फुटाएर गठन गरेको कांग्रेस प्रजातान्त्रिकमा श्रेष्ठ दुई वर्षसम्म कार्यवाहक सभापति भएर देउवालाई साथ दिएका थिए।
‘देउवालाई अप्ठेरो पर्दा मैले गुन लगाएको छु,’ उनले भने, ‘म भुइँदेखि दु:ख गरेर आएको नेता हुँ। यति मात्रै हो म नेता पुत्र भइनँ।’
श्रेष्ठले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेतासँग काम गरेकोले सबैलाई मिलाएर लैजान सक्ने खुबी आफूमा रहेको दाबी गरे।
‘यतिमात्र होइन मैले पार्टीमा समावेशिता भित्र्याएको हुँ। कर्णाली, दलित, महिला र जनजातिलाई ११ औं महाधिवेशनदेखि नै स्थान दिइएको हो,’ उनले भने।
देउवाले कांग्रेससँग पार्टी मिलाएपछि श्रेष्ठ उपसभापति थिए। त्यसबेला गिरिजाप्रसाद कोइराला सभापति थिए भने देउवालाई वरिष्ठ नेता दिइएको थियो। सात पार्टी र माओवादीबीच भएको १२ बुँदे समझदारीको हस्ताक्षरकर्ता कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र आफू रहेको पनि उनले बताउने गरेका छन्।
सभापति उठ्ने तयारी गरिररहेको बताएका श्रेष्ठले देउवा नउठेमात्रै आफू उठ्ने बताए।
‘सभापतिजी फेरि पनि आफैं उठ्ने मोडमा हुनुहुन्छ। अब एकचोटि म नै उठ्छु त्यसपछि विधानले नै दिँदैन अनि तपाईंहरूको पालो भन्दै आएको सुनेको छु,’ उनले भने, ‘उहाँ केही गरी नउठ्ने हुनुभयो भने स्वभाविक रूपमा हाम्रो टिमबाट म नै उम्मेदवार हुँ।’
उनले देउवा उठेमा आफू नउठ्ने कारण पनि खुलाए।
‘शेरबहादुर उठे पनि म उठ्ने हो भनेर म भन्दिनँ। किनभने हार्ने चुनाव किन उठ्ने? जित्न त देउवाकै टिममा रहेका दुई/तीन जना उठेर हुन्न नि!, हारिन्छ,’ उनले भने।
देउवा समूहमै रहेका उपसभापति निधि सभापति उठ्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले प्रजातान्त्रिक पार्टीमा जसले पनि इच्छा राख्न पाउने बताए।
‘निधिजी अहिले उपसभापति हो। तर म उहाँभन्दा धेरै सिनियर हुँ पार्टीमा,’ उनले भने, ‘मेरो टिमले अगाडि सारेको खण्डमा म सभापति उठ्ने हो। पहिले देउवाले उठ्ने/नउठ्ने भन्ने भन्नुहोला, त्यसपछि को उठ्ने थाहा हुन्छ। तर म पनि सभापतिको उम्मेदवार हुँ।’