गत वर्ष हिउँदमा ११ वर्षका एक बालक आमालाई लिएर बत्तीसपुलतीस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को कार्यालय आए।
क्षुद्रग्रह खोज्ने अभियानमा सहभागी हुन नासोले सामाजिक सञ्जालमा सूचना राखेको थियो। त्यही देखेर ध्रुव व्यास जोशी कार्यालय खोज्दै आएका थिए।
तिनै बालक ध्रुवले अहिले एउटा क्षुद्रग्रह पत्ता लगाएका छन्। ध्रुवले गरेको खोजलाई इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोलाबरेसन (आइएएससी) ले ‘प्रोभिजिनल’ श्रेणीमा राखेको छ। यसबारे थप खोजी हुन बाँकी छ।
क्षुद्रग्रह खोज्न तीन जना समूह हुनुपर्ने नियम थियो। तर, केन्द्रीय विद्यालय लाजिम्पाटमा अहिले कक्षा सातमा अध्ययनरत ध्रुुवसँग समूह थिएन। त्यसैले उनले आफ्नो टोलीमा आमा र काकाको छोरालाई पनि राखे।

‘टिम थिएन। त्यसैले मम्मीसँग मिलेर टिम बनाएँ। गत वर्ष नै प्रारम्भिक पत्ता लगाएको भनेर पठाएको थिएँ। हवाई (अमेरिका) मा रहेको टेलिस्कोपबाट प्राप्त डाटालाई विश्लेषण गरेर पत्ता लगाएको हो,’ ध्रुवले नेपालखबरसँग भने, ‘सम्भावित एस्ट्रोइड पहिचान गर्न एस्ट्रोमेटालिका सफ्टवेयर राखेर विश्लेषण गर्ने हो।’
क्षुद्र ग्रहले पृथ्वीलगायत ग्रहजस्तै सूर्यलाई परिक्रमा गर्छ। तर, यो सानो चट्टानी वस्तु हो। सौर्यमण्डलमा ठूलो संख्यामा क्षुद्रग्रह छन्। त्यस्ता ग्रहमा कुनै नयाँ पदार्थ फेला पर्छ कि वा त्यसले पृथ्वीलाई ठक्कर दिने सम्भावना छ कि भनेर तिनको अध्ययन गर्ने गरिन्छ।
टोलीमा आफूलाई राखे पनि खोजीको काम भने ध्रुवले नै गरेको उनकी आमा एकता जोशीले बताइन्।
‘काम चाहिँ सबै ध्रुवले नै गरेको हो,’ एकताले नेपालखबरसँग भनिन्, ‘उसलाई यो काममा धेरै चासो छ। घण्टौँ त्यसैमा लागिरहन्छ।’
एकता आफैँ पनि एस्ट्रोफिजिक्सकी अध्यापक हुन्। उनी विभिन्न कलेजमा प्लस टुका विद्यार्थी पढाउँछिन्।
ध्रुव सानो छँदा एकता एस्ट्रो फिजिक्समा मास्टर्स गर्दै थिइन्।
‘मम्मीले ग्रह, ताराजस्ता विषयहरुलाई कथाजसरी सुनाउनुहुन्थ्यो। त्यसले मलाई खगोलतर्फ आकर्षित गर्यो,’ ध्रुवले भने। आमा एकताको चाहना पनि त्यही थियो– विज्ञानमा छोराको रुची जागोस्, चासो लिओस्।
खगोल विज्ञानप्रति चासो बढाउन आईएयूले क्षुद्रग्रह खोजी अभियान चलाउने गर्छ। नेपालमा भने यो कार्यक्रम नासोको अगुवाइमा हुने गरेको छ। जस अन्तर्गत सात वटा क्षुद्रग्रह पत्ता लगाइसकिएको छ र तिनीहरु पनि प्रोभिजनल अवस्थामा छन्। चार वर्षदेखि नासोले नेपालमा अभियान चलाउँदै आएको छ। त्यसमै सम्बद्ध भएर ध्रुवले नयाँ क्षुद्रग्रह पत्ता लगाएका हुन्। उनले पत्ता लगाएको क्षुद्र ग्रह मंगल र वृहस्पतिको बीचमा छ। वैज्ञानिकहरुले यसलाई २०१९ जेपी ६० नाम दिएका छन्।
‘कुन अवस्थामा कहाँ छ, भनेर थप अध्ययन हुन्छ,’ ध्रुवले भने, ‘त्यसका लागि अझै ४–५ वर्ष लाग्ने छ।’
ध्रुवले पत्ता लगाएको क्षुद्र ग्रहको नाम उनैले राख्न पाउँछन्।
‘हजुरबाको नाममा राख्ने छु,’ ध्रुवले भने, ‘तीन वर्षअघि बित्नुभएको मावलका हजुरबा देउलाल पारिखको छोटकरी नाम ‘डीएलपी००१’ राख्छु।’
क्षुद्रग्रहको खोजीमा लागेकामध्ये सबैभन्दा कम उमेरका ध्रुवले सफलता पाएको नासोको परियोजना संयोजक मनिषा द्वाले बताइन्।
‘यो अनुसन्धात्मक कार्य हो। यसमा चासो हुनुपर्यो। सहभागीमध्ये उमेरको हिसाबले उनी सबैभन्दा साना थिए,’ उनले भनिन्, ‘ध्रुवको सफलताले यो उमेर समूहका विद्यार्थीले पनि गर्न सक्ने रहेछन् भन्ने पुष्टि भयो। अब यो उमेर समूहका विद्यार्थीहरुलाई पनि सहभागी गराउने थप कार्यक्रम ल्याउँछौं।’
खगोलप्रति चासो राख्ने जोकोही नासोको यो कार्यक्रममा सहभागी हुन सक्छ। यसअघि पनि नेपाली विद्यार्थीहरुले सात वटा क्षुद्रग्रह पत्ता लगाइसकेका छन्।
‘भारतमा १४ वर्षका दुई बालिकाले क्षुद्र ग्रह पत्ता लगाएको भनेर निकै चर्चा छ। तर, ध्रुव उनीहरुभन्दा निकै कम उमेरका हुन्,’ नासोका अध्यक्ष सुरेश भट्टराईले भने । यो सिटिजन साइन्सको कार्यक्रम हो।
नेपालखवरबाट