Home कला होम क्वारेन्टाइनमै अभिनेत्रीका तीज

होम क्वारेन्टाइनमै अभिनेत्रीका तीज

by ईलालटिन
0 comment

काठमाडौं । हिन्दू धर्मावलम्बी नेपाली नारीको आज विशेष पर्व तीज । अभिनेत्री रेखा थापाको आजको तीज पर्व घरभित्रै बित्नेछ । उनी अहिले होम क्वारेन्टाइनमै आफ्नी आमासँग छिन् । आजै उनको जन्म दिनसमेत परेकाले विशेष दिनका रूपमा उनले यसलाई लिएकी छन् । काठमाडौं उपत्यकामा बिहीबारबाटै निषेधाज्ञा जारी गरेको र कोरोनाको संक्रमण पनि त्यतिकै बढेका कारण विगतको जस्तो उत्साह यसपटकको तीजमा नभएको उनले बताएकी छन् ।

तीज पर्वबारे उनले राजधानीसँग भनिन्, ‘मलाई तीज पर्व एकदमै मनपर्छ । विगतमा दिदीबहिनीसँग प्रत्यक्ष भेट गरेर तीज मनाउने गरिए पनि यसपटक सामाजिक सञ्जालबाट प्रत्यक्ष रूपमा शुभकामना आदानप्रदान गरेर मनाउँदै छु ।’
त्यसो त तीज पर्वमा रेखाले अहिलेसम्म व्रत बसेकी छैनन् । आफू सोमबार नियमित व्रत बस्ने भएकाले तीजमा व्रत नबसेको र यसलाई सांस्कृतिक पर्वको रूपमा मनाउने गरेको उनले जानकारी गराएकी छन् ।

यसपटक जमघट हुन सक्ने अवस्था नरहेकाले कोरोनालाई मध्यनजर राख्दै ‘होम क्वारेन्टाइन’मै तीज मनाउन उनले सबैलाई सल्लाह दिएकी छन्, ‘वर्षौंदेखि पर्व मनाएका छौं र अहिले जमघटभन्दा पनि अनुशासित भएर घरमै रमाउँदा राम्रो हुन्छ । धेरै जना घरबाहिर भएकाले जो जहाँ हुनुहुन्छ, त्यहीँबाट तीज मनाउन आग्रह गर्दछु ।’ भेटघाट हुन नसक्दा यसपटक धेरै माइती र चेलीकोे मन रोएको भए पनि हामीले स्वास्थ्यभन्दा ठूलो कुरा केही हैन भनेर चित्त बुझाउनुपर्ने उनले बताइन् ।

रेखा थापाजस्तै थुप्रै विवाहित अभिनेत्रीको यसपटकको तीज होम क्वारेन्टाइनमै बित्दै छ । कसैले तीजमा दर खाएर व्रत बसेर मनाउँदै छन् भने कसैले व्रत नबस्ने बताएका छन् ।

अग्रज अभिनेत्री गौरी मल्ल पनि तीजमा व्रत बस्दिनन्, ‘म त तीजमा कहिल्यै व्रत नबसेकीले यसपटक पनि व्रत बस्दिनँ । यो सांस्कृतिक पर्व भएकाले यसलाई विगतमा सामान्य रूपमा मनाउने गरे पनि यसपालि तीज मनाउदिनँ,’ गौरीले भनिन्, ‘यो विवाहित महिलाको पर्व भएकाले मैले कसका लागि व्रत बस्नु र ? यता देश नै कोरोना महामारीमा फसेको बेला म तीजको नाममा रमाउन पनि त सक्दिनँ नि ।’

चलचित्र कन्यादान लोकप्रिय तीज गीत तीजको रहर आयो बरीलै….मा अभिनेत्री गौरी मल्लले अभिनय गरेकी थिई् । त्यो गीतले पनि आफूलाई तीजको महŒव बुझाएको उनले बताइन् । तर, केही वर्षयता तीजका नाममा एक महिनासम्म दर खाने, भोजभतेर गर्ने, पहिरनमा देखासिकी गर्नेजस्ता चलन उनलाई पटक्कै मन परेको छैन । यो वर्ष कोरोनाको बिगबिगीका कारण तीजको त्यस्तो विकृति नदेख्दा आफूलाई आनन्दको महसुस भएको पनि उनले बताइन् ।

अभिनेत्री प्रियंका कार्कीको विवाहपछिको यो पहिलो तीज हो । विगतका उनले कहिल्यै पनि तीजमा व्रत बसेकी थिइनन् । अभिनेता आयुष्मान देसराज जोशीसँग दाम्पत्य सम्बन्धमा गत वर्ष बाँधिएकी अभिनेत्री प्रियंकाका लागि यो विशेष तीज हो ।

तर, देशको अहिलेको अवस्थालाई हेर्दा त्यति धेरै तीजको उत्साह नभएको उनले बताइन्, ‘हामी दुवै जना भैंसेपाटीस्थित घरमा सँगै हुन्छौं र हाम्रो लागि तीज विशेष दिन हुनेछ । विगतमा व्रत नबसे पनि यसपटक रातो सारी, सिन्दुर, पोते, चुरामा सजिएर व्रत बस्छु ।’ तर, अहिलेको अवस्थाका कारण बाहिर गएर कोहीसँग भेट्ने स्थित नरहेकाले होम क्वारेन्टाइनमै तीजलाई एउटा खुसीको पर्वका रूपमा सम्पन्न गर्ने अभिनेत्री प्रियंकाले बताइन् ।

अभिनेत्री वर्षा राउत पनि ‘होम क्वारेन्टाइन’मै यो वर्षको तीज मनाउँदै छिन् । आफूले तीज पर्वको बारेमा बुझेदेखि नै व्रत बस्ने गरेको उनले बताइन् । तर, विवाहपछि तीजको महŒव अझ बढी बुझेकाले यसलाई विशेष रूपमा मनाउने गरेको पनि उनले बताइन् । तीज कार्यक्रमबारे उनले भनिन्, ‘यसपटक काठमाडौंमा निषेधाज्ञाका कारण १० मिनेटको दूरीमा रहेको माइत जान सक्ने अवस्था रहेन । त्यसैले, घरमै सासूआमा र म भएर यसपालिको तीज मनाउनेछौं ।’

विगतमा विभिन्न समूह बनाएर नाचगान गर्दै तीज मनाएको अनुभव सुनाउँदै यसपटक आफूलाई पूर्ण सुरक्षित र समूहबाट टाढा राख्नुपर्ने अवस्था रहेको वर्षाले बताइन् । त्यसैले, घरमै तीज पहिरनमा सजिएर, पूजा गरेर व्रत बस्दै परिवारसँगै यसपटकको तीज मनाउने पनि उनले बताइन् ।

-राजधानी दैनिकबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com