Home Vlog कुरा तीजको, दिन आजको

कुरा तीजको, दिन आजको

by ईलालटिन
0 comments

-प्रकाश काफ्ले 

‘माछो माछो भ्यागुतो यसपालिको तीज…’

बाह्रैमास सुन्न नपाइने यस्ता नेपाली गीत/संगीतहरु नारीविशेष नेपाली पर्व हरितालिका तीजमा सुन्न र गाउन पाइन्छ। यो पर्व माइत जाने र परिवारसँग खाने, बस्ने रमाउने अलावा उनीहरुका लागि मनका कुरा धित मर्ने गरी खोल्न पाउनु एउटा मौकाको वातावरण बनेको छ। वसन्त ऋतुसँगै हरियाली बोकेर आउने, माना रोपेर मुरी उब्जाउने वर्षातसँगकोे थकान मेटाउने समयमा तीज आउँछ।

कामको फुर्सद र वर्षात् पनि हट्दै जाने भएर होला यस पर्वलाई भदौमा पारिए पनि यो वर्ष भदौ नै असारजस्तो बनेको छ। तर केही छैन। महिलाहरु वर्षे भेल तर्न तयार छन्।

हिलाम्मे आँगनमा छमछमको जमघट गराउँछन्। अनि मादलको घिनताङ्ग, छनछन चुराको झंकार, पाउजुको छमछम मधुरताले बच्चाबच्चीदेखि बूढाबूढी सबैलाई तान्छ र मर्काउँछन् कम्मर।

भाँचिएला कम्मर, सुन्निएला खुट्टा, बस्ला स्वर तर ज्यान भन्दा प्यारो छ तीज नारीलाई। हुन पनि किन नहोस्, चाडको विशेषताको मौका छोप्दै वर्षभरिका आफ्ना वेदनाहरु धोको फेरेर पोख्न पाउँछन्।

अघिपछि दैनिक दुःख बाँड्नलाई मुख फोर्न गाह्रो हुने नारीलाई ‘गीतको बहाना, मनको चाहना’ भएको छ। यो पनि नगन्य हो तर पनि विवश छन् हाम्रा दिदी बहिनीहरु पुरुषप्रधान समाजसँग सामना गर्न। केही छैन २/४ दिनको सदुपयोग हुन्छ मज्जाले।

नेपाली समाजमा कामको चटारो र पराम्परावादी सोचाइले विवाहित महिलाहरु माइती जान चाडपर्व नै कुर्नुपर्ने अवस्था अझै पनि नभएको होइन। तै पनि कमसेकम वार्षिक एकपटक माइती जाने भाग्य जुराउँछ तीजले।

दिदी, बहिनी, छोरीहरुसँग जस्तोसुकै सम्बन्ध भए पनि कुलको अगाडि चुक्नैपर्छ पुरुषहरु अनि भित्र्याउनैपर्छ आफ्ना चेलीलाई घर आँगनमा। चाहे उनीहरुकै घरमा लिन गएर या खबर गरेरै।
हुन त अविवाहित महिलाले राम्रो वर पाउन (पार्वतीले शिव वर पाउन एक दिन रात निराहार बसेको र शिव पाएको पराम्परागत कथन रहिआएको छ।) र विवाहित महिलाले आफ्नो स्वामीको दीर्घायूको लागि व्रत बसेर यो चाड मान्ने गरेको पाइन्छ।

तीजको अघिल्लो दिन माइतीघर वा जन्मघरमा दर खाने चलन हुन्छ। मीठा–मीठा परिकार बाआमा, दाजुभाइको काखमा बल्लतल्ल माइत आएकी चेलीलाई, नमीठै भए पनि केही छैन माइतीको भनेपछि। त्यस्तै भन्छन् ‘माइत जाम्ला, सल्लबल्ल खाम्ला।’

चलन भनेको चलन नै हो। अझ परापूर्व कालदेखिको चलन जसले यति मिठासपूर्ण मिलन गराएको कसले भुल्ला र? तीजको भोलिपल्ट ऋषिपञ्चमी, दतिवनलगायतका जडीबुटीहरु खाएर हरितालिका तीज समाप्त गरिन्छ। अनि घरबाट पाएको विदाले छोट्याउँछ माइती बसाइका दिनहरु। फर्काउँछ त्यो मुलुक जहाँबाट उम्किन कतिलाई फेरि अर्को चाडपर्व नै कुर्नुपर्ने बाध्यता हुन्छ।

नारीविशेष भनिए पनि पछिल्लो समयमा नारी र पुरुष दुवैबीच झक्काझक्की चल्ने यो समय नेपाली महिला दिदीबहिनी विशेषतः विवाहित महिलाका लागि सुनौलो अवसर बन्ने गरेको छ। विशेष त सासु, बुहारी, नन्द, देवर, जेठानी, देउरानीको गुनासाहरुले धेरै स्थान पाउने गरेको तीजमा अहिले आएर श्रीमान्, श्रीमती, माया, प्रेम, राजनीतिलगायतका अन्य समयसापेक्ष विषयवस्तुहरुले राम्रै अड्डा जमाउने गरेका छन्।

सुरुकै वाक्यमा झटारो गइसकेको छ, विषम परिस्थितिबीचको तीजलाई ‘यसपालिको तीज…।’ कोहीको जिन्दगीसँग गुनासो छ– ‘सोचेझैँ जिन्दगी रै न छ …।’ यस्तै यस्तै वेदनाहरुलाई यर्थाथमा पोखिदिन्छन् – ‘पिर नभाको को छ र…!’

कसैले फेरि दिदी बहिनी नहुनुमा आमासँग दुःखेसो पोख्छन्– ‘छोरी पाइनौ किन…?’ साली भिनाजुको छुट्टै कथा हुन्छ– ‘भिनाजुको छड्के ताल…।’ सुन्दै मार्मिक लाग्ने यथार्थपरक रचनाहरुको पनि कमि छैन– ‘गण्डकी सली सली…।’

मन हलुका बनाउन र समाजसँग संवादको वातावरण बनेको छ यो। वर्षभरि काँपेका ओठहरु निर्धक्क हुन्छन् अनि खोल्छन् यथार्थता जसबाट आफूहरु पिल्सिरहेका छन्।

पुराना गीतहरुको पनि आफ्नै महत्व छ– ‘हम्काइलो…!’, ‘तीज आयो बरिलै…।’ परिवारलाई त पर्ओ झटारो बाँकी छैनन् नेताहरु पनि ‘बेसार…!’

यो समयले मलाई पनि झकझकायो, नारीको प्रहार नारीलाई नै धेरै भएको बेला मलाई नारीमाथि छड्के हान्न पटक्कै मन गएन। वर्तमान राजनीतिक परिस्थिति र नेतामाथि मन गयो। सोझ्याए कलम खाली कागजमा…

बेला होइन लुछा र चुँडीको।
सब्लाई चिन्ता छ आफ्नै भुँडीको।।
(भा छ खेल पद कुर्ची नचाउने …
बेला हो यो देश जनता बचाउने …)

जनता बाँचे भोट पाउँछौँ सम्मान।
नत्र देख्न पनि पाउँदैनौँ बिहान।।
भा छ खेल …

आछ नक्सा भएको चुच्चे नि।
खुसी भाछ तल्तिर फुच्चे नि।।
भा छ खेल …

दुर्भाग्यवश भन्नुपर्छ– यो तीजमा अर्को विषयवस्तु पनि समावेश हुन पुग्यो, ‘कोरोना’। अनि यथार्थमाथि सन्देशमूलक गीतहरु पनि आए– ‘बाटैमा भाइरस….।’ छड्के पनि हानियो– ‘थाहा छैन, कोरोना ला छैन…।’ बिगतका तीज भन्दा यसपालिको तीजमा हालको महामारीले राम्रै बजार लिएको छ।

सन्देशमुलक सृजना ‘तीज महामारी काण्ड…’देखि कोरोनाले गाउँ फर्किँदा निम्त्याएको पारिवारिक कलह ‘ओइ देउरानी÷जेठानी…’ समेतका विषयवस्तुहरु गीतहरुमा उजागर गरेको पाइन्छ। कोरोनाका गीतहरुले लोभीहरुमाथि व्यंग्य समेत हान्न भ्याएको छ– ‘लोभी दाइ…’ भने घरमै नाच्ने, गाउने समेत सूचना प्रवाह गरेको छ– ‘नाच घरैमा…।’
हामी प्रार्थना गर्छौँ, अब उप्रान्त यस्ता विषयहरुलाई स्थान दिनुपर्ने वातावरण सृजना नहोस्!

कम छैनन् अविवाहित पनि। बाबुआमासँग प्वाक्कै मुख फोरेर बिहे गर्देउ त कसरी भन्ने ? छोरी भएर, मौका छोपे तीजको ‘पोइला जान पाम शिव …।’ कति हतारो बिहे गर्नलाई, कति रहर ‘सैना, पोइको घर खान कर्म मै छैन…।’

जता पनि गुनासै गुनासो। वर पाइसकेकालाई मन नमिल्नुको व्यथा त छँदै छ। अझ बहुविवाहको कहानी पनि समावेश छन्– ‘नक्कले पोई…।’ यस्ता संगीतहरु जुन सुन्दा ठट्यौली भए पनि विरहको भाव बोकेका हुन्छन्।

यसरी वर्षभरिको पोको छताछुल्ल हुन्छ र अर्को सालको लागि खाली बन्छ ठाउँ फेरि सजिलो होस् यस्तै यस्तै …। तर आधुनिकताको नाममा कतिपय गीतसंगीतहरुमा केही छाडापन पनि देखिने गरेको छ। तीज भनिन्छ तर दिदीबहिनीहरु सँगै बसेर सुन्न/हेर्न गाह्रो हुने खालका गीतहरु समेत बजारमा भित्र्याइन्छ। यसमा सबैको ध्यान जाओस्, भविष्यमा यस्ता गीतसंगीतहरुमाथि सेन्सर लगाइयोस्।

अझ भनौं कलाकारहरु आफैं सजक हुनुहोस्, यसैमा कलाकारिता र हाम्रो संस्कृतिको भलाइ हुनेछ। अनि सबैले निर्धक्क भएर भन्न सक्नेछन्– ‘जय गीत, जय संगीत, जय संस्कृति।’

अब कुरा रहयो– गीतले भावना/वेदना, मनको मर्म बुझिदियोस् भन्ने इच्छा कसलाई हुँदैन र? म पनि यही भन्न चाहन्छु। एउटा चाड धेरै धेरै उमंग र समर्पण। तीर जता सोझ्याएको हो, उसको ध्यानाकर्षण होस्। रमाइलोपन र वास्तविकतालाई मनन गरी आत्मालोचनासहित कमजोरीहरु सच्याइयोस् अनि नारी पुरुषको तथा नारी–नारीबीचको सम्बन्ध प्रगाढ बन्दै जाओस्।

सम्पूर्ण नेपालीहरुको आवाज समेटिएको संघीयता चाँडै संस्थागत होस् र देशले विकास निर्माणमा फड्को मारोस्! भाइचारा र जातीयता नखल्बलियोेस्! साथै कोरोनाले निम्त्याएका पीडाहरुमा छिट्टै मल्हम लागोस्! विश्व नै शीघ्र स्वस्थ बनोस्। यस महामारीबाट ज्यान गुमाउनेहरुको आत्माले चिर शान्ति पाओस्!

फेरि, एक दिनको चाडले वर्षभरिका मनका कुरा खोल्न पाउने भाग्यशाली हाम्रा नारीहरु, आफ्नो पतिको दीर्घायुको लागि दिनैभरि पानी पनि नखाई निराहार व्रत बसी पुजाआजा गर्छन्। कति महान् छन् हाम्रा नेपाली नारीहरु। यसको श्रेय जान्छ तीजलाई। धन्य छ तीज, धन्य। अन्त्यमा, शुभकामना सम्पूर्ण नेपाली नारीहरुलाई।

जय नारी ! जय तीज ! !

(लेखक काफ्ले हाल नेपाल विद्युत प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालय पोखरामा कार्यरत इन्जिनियर हुन्।)

-नेपालखवरबाट

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com