Home पत्रपत्रिका सीमामा भारत छिर्ने नेपालीको लर्को : न दशैंले रोक्यो, न कोरोनाले छेक्यो

सीमामा भारत छिर्ने नेपालीको लर्को : न दशैंले रोक्यो, न कोरोनाले छेक्यो

by ईलालटिन
0 comment

नेपालीको महान् पर्व दशैंको घटस्थापना आउन ११ दिन बाँकी छ । विगतका वर्षमा यतिबेला दशैंको माहोल तातिसकेको हुन्थ्यो ।

सीमा नाका भएर लाहुरेहरू पोको–पुन्तरो र लालाबालासहित लस्करै स्वदेश भित्रिन्थे । तर समय र परिस्थिति ठीक उल्टो भएको छ । यतिबेला भारतबाट नेपाल फर्किनेभन्दा नेपालबाट भारत जानेको संख्या नै बढी छ ।

सोज १८ गते कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–१ का प्रयागराज उपाध्याय निधारमा दशैंको जस्तै रातो टीका टल्काउँदै दशैंको मुखैमा गौरीफन्टा सीमा नाका हुँदै भारत पसे । कोरोना महामारीले जारी लकडाउनपछि गत चैतको ८ गते नेपाल फर्केका उनी दशैंको मुखैमा भारतको दिल्ली फर्केका हुन् । घरको खर्च चलाउन धौधो भएपछि दशैंको मुखैमा भारत फर्किनुपरेको बाध्यता उनले सुनाए ।

कञ्चनपुर जिल्लाको बेलडाँडीकै गोरखराम जोशी पनि गौरीफन्टा नाका भएर भारत पसे । लकडाउनपछि नेपालमै जीविकोपार्जनको लागि व्यवसाय गर्ने वातावरण नबनेपछि भारतको जम्मुकस्मिर जान लागेको उनले बताए ।

उनी भन्छन्, ‘तरकारी खेती थालें, लगातारको वर्षातले सखाप भयो । ब्रोइलर पालन गरियो, प्रतिकिलो १५० रुपैयाँ मूल्य भयो । पर्ता आएन । पहिले पनि इन्डियामै काम गर्थें, अब उतै जान लागेको छु । पोहोर साल दशैं मनाएकै हो । यो साल त्यसै छ ।’

यतिबेला उपाध्याय र जोशी जस्तै दैनिक २ हजारको हाराहारीमा नेपालीहरू कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत गइरहेका छन् । यतिबेला कोरोना महामारीले प्रभावित हुने देशहरूमध्ये छिमेकी राष्ट्र भारत दोस्रो स्थानमा पर्दछ । जहाँ ६५ लाख बढी संक्रमित छन् भने १ लाख बढीले ज्यान गुमाइसकेका छन् । तर भारतबाट फर्किएका नेपालीहरू जोखिम मोलेर भएपनि पुनः रोजगारीको लागि भारत फर्किन थालेका हुन् ।

लामो लकडाउनले बेरोजगार भएका उनीहरूलाई हाल न त कोरोना महामारीको जोखिमले रोक्न सकेको छ, न त नजिकिँदै गरेको बडादशैंको माहोलले । उनीहरूको अब एउटै र अन्तिम धोको पेट पाल्नु हो, घर खर्चको जोहो गर्नु हो ।

कैलालीको भजनी नगरपालिका–२ रजवालाका गगनसिंह कोलीले भने, ‘आर्थिक स्रोत केही छैन । घरमा बालबच्चा छन् । उनीहरूको भोकाएको अनुहार हेर्न सकिन्न । जस्तोसुकै जोखिम भए पनि काम त गर्नै पर्‍यो ।’

देशको पश्चिमी गड्डाचौकी नाका र त्रिनगर नाका हुँदै दैनिक हजारौंको संख्यामा यतिबेला रोजगारीको लागि भारत गइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको सरकारी तथा गैरसरकारी संस्थाको दाबी छ । लकडाउन भएपछि भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला तथा कर्णाली प्रदेश आएका नेपालीहरू यतिबेला कञ्चनपुरको त्रिनगर (गौरीफन्टा) नाका र गड्डाचौकी नाका भएर पुनः भारततिर फर्किरहेका छन् ।

असोज महिनाका १६ दिनमा मात्रै गौरीफन्टा नाका हुँदै १६ हजार ४९६ नेपालीहरू भारत गएका छन् । असोज १ गते ३१८ जना नेपाली यो नाका हुँदै भारत गए भने त्यसपछि दिनहुँ त्यो संख्या वृद्धि हुँदै गएको छ । असोज .१ गतेदेखि १६ गतेको अवधिमा २ हजार २४३ महिला, १ हजार ८९१ बालबालिका र १२ हजार ३६२ जना पुरुष भारत गएको तथ्यांक छ ।

सो अवधिमा गड्डाचौकी नाका हुँदै २ हजार ५ जना भारत गएका छन् । यो नाकाबाट दैनिक १५० बढी नेपालीहरू भारत गएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको छ । तर भारत जानेको संख्यामा कुनै कमी आएको छैन ।

मन्त्रालयले हालै जारी गरेको सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा–बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा/हाँस अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० थरि कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम प्रदान गर्न लागेको छ । प्रदेश सरकारको सो कार्यक्रमको लागि हालसम्म ४० हजार बढीले इच्छापत्र पेश गरिसकेका जनाइएको छ । कार्यक्रमको लागि मात्रै १५ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

पशुपन्छी तथा कृषि एकीकृत कार्यक्रमको लागि मात्रै १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको भए पनि भारततर्फ रोजगारीमा जानेको क्रम रोकिएको छैन ।-lokantar

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com