Home बुलेट न्युज काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै

काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै

by ईलालटिन
0 comment

काठमाडौं । भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्याई बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक जसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको छ ।

सरकारले पटक पटक आम नागरिकलाई कोरोनासँग ख्यालठट्टा नगर्न आग्रह गरे पनि स्वयं नागरिकले आत्मानुशासन तोड्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कम्तीमा व्यक्ति व्यक्तिबीच दुई मिटर भौतिक दुरी कायम हुनुपर्छ । कुनै पनि बहानामा हेलचेक्राई गर्नुहुँदैन ।’

अन्य सबै जिल्लामा थपिएका संक्रमितलाई आधार मान्दा काठमाडौं उपत्यकामा मात्रै झन्डै ५० प्रतिशत धेरै संक्रमित थपिएका छन् । अन्य जिल्लामा १६ असोजसम्म २४ हजार ४ सय २३ संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा मात्रै १३ हजार ८० संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७ सय ४१ पुगेको छ ।

हालसम्म काठमाडौंमा २१ हजार ६ सय ७३, ललितपुरमा २ हजार ६ सय ८७ र भक्तपुरमा २ हजार ३ सय ८१ संक्रमित पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १६ दिनलाई आधार मान्दा दैनिक काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट जोगिने उत्तम उपाय आत्मानुशासन रहेको बताए । उनले भने, ‘भौतिक दुरी कायम गर्नुपर्छ । भीडभाड गर्नुहुँदैन । मास्क सही तरिकाले प्रयोग गर्नुपर्छ ।’

बिहीबार देशभर अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ । –राजधानी दैनिक

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com