अमेरिका । सन् २०२२ का लागि डिभी लोटरी अक्टोबर ७ देखि भर्न सकिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ७ बुधबार अपरान्ह १२ बजेदेखि नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ ।
एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन दिन सुझाव दिइएको छ । २०२२ को डिभी लोटरीका लागि नेपालीहरु योग्य हुनेछन् । तर बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकहरु योग्य हुनेछैनन् ।
२०२२ को डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला ।
धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न सुझाव दिइएको छ । ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने जनाइएको छ ।
अमेरिकी सरकारको वेवसाइटमा गरेर डिभी भर्न सकिन्छ । त्यसका लागि कुनै शुल्क तिर्न पर्दैन । अमेरिकी सरकारको वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको छ । भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

गत बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ । कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।
कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा भने पासपोर्टको विवरण बुझाउनु नपर्ने विकल्प समेत दिइएको छ ।
डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’
यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।
युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।
खासगरी अमेरिकामा विद्यार्थी भिसामा रहेका नेपालीहरुले डिभी लोटरीबाट फाइदा लिन सक्नेछन् । त्यो बाहेक अन्य गैरआप्रवासी भिसामा रहेका नेपालीहरुले पनि डिभी कार्यक्रमबाट फाइदा लिन सक्नेछन् । तर अमेरिकामा गैरकानुनी उपस्थीति भइसकेकाहरुको सन्दर्भमा भने डिभी लोटरी परेमा स्टाटास एड्जस्ट गर्न मुस्किल हुनेछ ।