प्रदेश–५ को राजधानी बुटवल कायम गर्नुपर्ने अडानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल पार्टीको सर्वोच्च निकाय सचिवालयमा एक्लै परेका छन् । सचिवालयका ९ मध्ये ८ जना सदस्य प्रदेशको राजधानी दाङ कायम गर्नुपर्ने पक्षमा देखिएपछि पौडेल एक्लै परेका हुन् ।
रुपन्देहीबाट पटक–पटक निर्वाचित पौडेलले बुटवललाई प्रदेश राजधानी बनाउन जोडबल गर्दै आएका थिए । बुटवललाई प्रदेशको राजधानी बनाउनुपर्ने पौडेलको अभियानमा नेपाली कांग्रेसका नेताहरुले पनि साथ दिँदै आएका थिए । पौडेलको सक्रियतामा बुटवल विकास, निर्माण, पूर्वाधार र व्यापारिक केन्द्रका हिसाबले अग्रणी शहरका रुपमा स्थापित भएको छ ।
अध्यक्ष ओली र प्रचण्डले बिहीवार मुख्यमन्त्री पोखरेललाई प्रदेशको राजधानी तोक्ने विषय प्रदेश सभाको अधिकार भन्दै पार्टीबाट निर्णय गराउनु उचित नहुने जवाफ लेखेर पठाएका थिए । ‘प्रदेशको राजधानी र नाम टुंगो लगाउने अधिकार संविधानतः प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्ने विषय हो,’ अध्यक्षद्वयले लेखेको पत्रको ब्यहोरामा उल्लेख छ ।
यद्यपी बुटवलबाट दाङ सार्ने विषयमा सहमति जनाइदिन मुख्यमन्त्री पोखरेलले गरेको अनुरोधलाई अध्यक्षद्वयले ‘तपाईंको प्रस्तावमा हाम्रो सहमति छ’ भनेर जवाफ फर्काएको स्रोतको दाबी छ । अध्यक्षद्वयको त्यही जवाफको जगमा टेकेर पोखरेल दाङ कायम गराउने विषयमा अघि बढेका थिए ।

यसअघि प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्ने निर्णय पनि अध्यक्षद्वयकै सहमतिमा भएको थियो ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णय अनुसार अधिकांश प्रदेशको राजधानी सोही स्थानमा तोकिएका छन् । यसअघि पनि बुटवलबाट प्रदेशको राजधानी सार्ने तयारी भएपछि विरोध भएको थियो ।
पूर्वाधारको हिसावले राजधानीका लागि बुटवल नै उपयुक्त हुने पूर्वाधार विज्ञहरुले सुझाव दिँदै आएका छन् ।
काठमाडौंपछि पोखरा र भैरहवामा क्षेत्रीय स्तरका विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस हिसाबले पनि प्रदेश ५ को राजधानी बुटवल नै उपयुक्त हुने आवाज बलियो छ ।
बुटवलको पक्षमा पौडेल एक्लै
प्रदेश ३ को राजधानी तोक्ने विषय अध्यक्षद्वयको सहमतिबाट भएपछि त्यसको विरोध भएको थियो । पौडेल बाहेक सचिवालयका सबै नेता दाङको पक्षमा उभिएपछि अध्यक्षद्वयले गरेको संकेतका आधारमा पोखरेलको जोडबलकै कारण राजधानी दाङमा सर्न पुगेको देखिएको छ ।
अध्यक्ष प्रचण्ड लगायत पूर्वमाओवादी खेमाका सबै नेताहरु दाङको पक्षमा उभिएका थिए । केही महिना पहिले दाङ पुगेर प्रचण्डले प्रदेशको राजधानी दाङ बनाउनु पर्ने बताएका थिए ।
माओवादीको उद्गम थलो रुकुम–रोल्पालाइ पायक पर्ने ठाउँ दाङ हुने भन्दै उपाध्यक्ष वामदेव गौतम पनि प्रदेशको राजधानी दाङ राख्ने पक्षमा थिए ।
नेकपा भित्र विवाद चर्किरहेको समयमा पनि मुख्यमन्त्री पोखरेलले गौतमलाई भेटेर प्रदेशको राजधानी दाङ बनाउन लविङ गरेका थिए ।
प्रदेशको राजधानी दाङ सार्ने निर्णयपछि बुटवलमा स्वतस्फूर्त आन्दोलन शुरु भएको छ । -लोकान्तर संवाददाता