पर्वत । निरन्तरको वर्षाका कारण वस्ती माथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ घर परिवार जोखिममा परेका छन्। बस्तीको बिचमा रहेको ठाडो खोल्सा (सात्खोसी) मा आएको बाढीका कारण एक घर पुरिएको छ भने आसपासका २५ घर पुर्ण रुपमा विस्थापित बनेको जलजला गाउँपालिका-८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिए। बाढीका कारण उक्त गाउँमा रहेका ४५ घरनै जोखिममा परेको उनले बताए।
उनका अनुसार खोल्सामा लेदो आउन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएकाले मानविय क्षति हुन नपाएको हो। स्थानीय खड्कबहादुर केसीको घर बाढीले पुरिएको हो जिसीले बताए।
त्यसैगरी बाढीका कारण पर्वत, बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुल समेत जोखिममा परेको छ भने बेनी–मालढुंगा सडक समेत विहानदेखि अवरुद्ध बनेको जिसीले जानकारी दिए। त्यसैगरी सिंचाईको कुलो समेत भत्किएको छ। निरन्तर वर्षा भएकाले खोल्सा आसपासको बस्तीका बासिन्दाहरुलाई स्थानीय शिव माध्यमिक विदालय फर्से र आफन्तको घरमा स्थानान्तरण गरिएको उनले बताए।
वस्ती माथिको ५० रोपनी भन्दा बढि जंगलनै धाँजा फाटेको अध्यक्ष जिसीले जानकारी दिए। ‘वर्षा नरोकिए ठुलो क्षति हुने सम्भावना छ’ उनले भने। जिल्ला प्रहरी कार्यालय पर्वतले ठुलो वर्षा भएकाले सम्भावित जोखिम हुन नदिन स्थानीय वासीहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। वर्षा नरोकिने बेला सम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको र स्थानीयवासीहरु नजिकेको विद्यालय वा आफन्तकोमा आश्रय लिएर बसेको प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।
पहिरोले मध्पहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड समेत गएरातीदेखि अवरुद्ध बनेको छ भने अझै संचालनमा आउन सकेको छैन। अन्नपूर्ण