Home पत्रपत्रिका लामो दूरीका यातायात आजदेखि सञ्चालनमा

लामो दूरीका यातायात आजदेखि सञ्चालनमा

by ईलालटिन
0 comment

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात झन्डै ६ महिनामा बिहीबारदेखि सञ्चालनमा आउँदै छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो। ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार मन्त्री, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहीबारदेखि लामो दूरीका सवारी सञ्चालन गर्ने सहमति भएको छ। त्यसको मापदण्ड बनाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिइएको छ। त्यही मापदण्डभित्र रहेर व्यवसायीले लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नुपर्नेछ।

अग्रिम टिकटको टुंगो छैन

दसैंका लागि अग्रिम टिकट सम्बन्धमा भने टुंगो लागेको छैन। १० दिनको अवस्था अध्ययन गरेर मात्र अग्रिम टिकट खोल्नेतर्फ केन्द्रित हुने महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘करिब ६ महिनापछि लामो दूरीका सवारी साधन सञ्चालन हुँदै छ। कोरोनाको प्रकोप सेलाएको छैन’, हमालले भने, ‘अहिले नै अग्रिम टिकटका सम्बन्धमा बोल्न सकिने अवस्था छैन।’ स्थिति सामान्य रहिरहे असोज दोस्रो सातासम्म सरोकारवाला निकायसँग छलफल गरी निर्णय लिइने उनले बताए।

अघिल्ला वर्षमा दसैं सुरु हुन लाग्दा उपत्यकाबाट थातथलो जाने यात्रुका लागि अग्रिम टिकट खुला हुने गरेको थियो। अग्रिम टिकट लिन यात्रुको लामो घुइँचो लाग्ने गर्छ।

नयाँ गाडी थपिने सम्भावना कम

यातायात व्यवसायीले विगत वर्षमा दसैंका लागि गाडी थप्ने गरेका थिए। तर, यो वर्ष कोरोना कहरको पीडामा रहेकाले गाडी थप हुने सम्भावना न्यून रहेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘यातायात सेवा ठप्प रहेकाले व्यवसायी मर्कामा छन्। बल्ल यातायात क्षेत्र बामे सर्ने प्रयासमा छ। पुराना व्यवसायीलाई खर्च धान्न गाह्रो छ। गाडी थप गर्न आर्थिक रूपमा सम्भव छैन’, उनले भने।

अग्रिम टिकट अनलाइनमार्फत

अग्रिम टिकट खरिद गर्न काउन्टरमा भीडभाड गर्दा कोरोनाको जोखिम उच्च हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलको भनाइ छ। विगतको तुलनामा यस वर्ष उपत्यकाबाट दसैं मनाउन बाहिरिने यात्रुको संख्या कम हुनेछ। लकडाउन सुरु हुनुअघि धेरै जना उपत्यकाबाट बाहिरिएका थिए। यस वर्षदेखि अग्रिम टिकट अनलाइनमार्फत बिक्री गरिने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने इन्जिनियर गजुरेलले बताए। ‘प्रविधिलाई आत्मसात् गर्ने यात्रुले अनलाइनबाट टिकट खरिद गर्नेछन्’, उनले भने, ‘अन्य यात्रुले टिकट काउन्टरमा गएर खरिद गर्नेछन्।’ यसरी अनलाइन र अफलाइन दुवै तरिकाबाट टिकट बिक्री गर्दा काउन्टरमा यात्रुको भीडभाड कम हुनेछ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com