काठमाण्डौँ। अहिले (बिहीबार बिहान) देशका सबै प्रदेशका थोरै थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार कुनै स्थानमा रातिदेखि तथा कुनै ठाउँमा बिहानदेखि पानी परिरहेको हो।
‘अहिले तत्काल भारी वर्षा भने कतै देखिएको छैन,’ बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘तर भारी वर्षाको सम्भावना पनि छ।’
यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक- दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।