पर्वत । आज आश्विन संक्रान्तिका दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने गरिन्छ । विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । अश्विन संक्रान्तिको दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भीड लाग्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदूरहरूले गर्छन् । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण श्रृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने आत्ध्यात्मिक विश्वास छ ।