काठमाडौं । शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुको शेयरमूल्य घट्दै जाँदा ती कम्पनीहरुको शेयरमा गरिने लगानीमा जोखिम समेत कम हुँदै गएको छ। पछिल्लो समय शेयर बजार निरन्तर घट्दो क्रममा देखिएको छ जसले गर्दा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत धेरै कम्पनीहरुको शेयरमूल्य अहिले उच्च विन्दुबाट धेरै तल झरीसकेको अवस्था छ। यसरी कम्पनीहरुको शेयरमूल्य घट्दै जाँदा शेयर बजारमा प्रयोग हुने कतिपय सूचकहरुले ती कम्पनीहरुमा गरिने लगानीमा कम जोखिम देखाउन थालेका छन्।
शेयर बजारमा प्रयोग हुने विभिन्न सूचकहरुमध्ये पिई रेशियो पनि एक महत्वपुर्ण सूचक हो जसले कुनै पनि कम्पनीको शेयरमा लगानी गर्न कति जोखिम लिनुपर्छ भन्ने देखाउछ। बिहीबारसम्मको तथ्याँकलाई आधार मान्दा सूचीकृत कम्पनीहरुमध्ये ७ वटा कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणाभन्दा कम रहेको छ भने २० गुणाभन्दा कम पिई रेशियो हुने २३ वटा कम्पनी छन्। सूचीकृत कम्पनीहरुमा बेष्ट फाइनान्सको पिई रेशियो सबैभन्दा कम १२ गुणा मात्रै रहेको देखिएको छ। यस्तै पाँचथर पावरको पनि पिई रेशियो १२.८३ गुणा मात्रै रहेको छ।
अहिले नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये ५ वटा बैंकको मूल्य आम्दानी अनुपात १५ गुणाभन्दा कम छ। जसमा ग्लोबल आइएमई बैंकको सबैभन्दा कम १४.०८ गुणा रहेको छ भने माछापुच्छ्रे बैंकको १४.४७ गुणा, मेगा बैंकको १४.५७ गुणा, प्रभु बैंकको १४.६५ गुणा र सेञ्चुरी कमर्शियल बैंकको १४.७५ गुणा रहेको छ।

कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको शेयरमूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर मूल्य आम्दानी अनुपात निकाल्ने गरिन्छ। यसले कम्पनीले गरिरहेको प्रतिशेयर आम्दानीलाई लगानीकर्ताले कति मूल्य तिरिरहेका छन् भन्ने देखाउँछ। सामान्यतया मूल्य आम्दानी अनुपात कम रहेका कम्पनीहरुमा गरिएको लगानी कम जोखिमपूर्ण मानिन्छ। १५ गुणाभन्दा कम मूल्य आम्दानी अनुपात भएका कम्पनीहरुमा लगानी गर्नु कम जोखिम मानिन्छ।शेयर बजार बढेर ३२ सय हाराहारी पुग्दा अधिकाँश कम्पनीहरुको मूल्य आम्दानी अनुपात माथि पुगेको थियो।
तर अहिले शेयर बजार सुस्ताएसँगै कम्पनीहरूको शेयरमूल्य पनि घटेको छ। यसले गर्दा मूल्य आम्दानी अनुपात विस्तारै झर्न थालेको हो।गत भदौ २ गते हालसम्मकै उच्च विन्दु ३१९८ पुगेको नेप्से सूचक विहीबारसम्म्मा घटेर २५४२ विन्दुमा आइपुगेको छ। यस अवधिमा कतिपय कम्पनीहरुको शेयरमूल्य ५० प्रतिशतसम्मले घटिसकेको छ।अहिले खासगरी बैंकिङ्ग प्रणलीमा रहेको तरलता अभावले गर्दा ब्याजदर महंगिएको छ जसले गर्दा शेयर बजारले पनि गति लिन सकेको छैन। तर बैशाखमा भने तरलता केहि सहज हुने र शेयरबजारले पनि सकारात्मक बाटो समाउने लगानीकर्ताहरुको अपेक्षा छ। मेरोलगानी ।