काठमाडौं । सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूबीच एमसिसी अनुमोदन गर्ने सहमति जुटेको छ। आज बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको हो। बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आजै एमसिसी पारित गर्ने बताए। आज प्रतिनिधि सभाका दुइटा बैठक बस्ने सम्भावना छ। आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। पहिलो बैठकमा एमसिसीबारे छलफल हुनेछ भने दोस्रो बैठकमा अनुमोदनका लागि पेश गरिनेछ।
सत्तारूढ गठबन्धनसँग एमसिसी पारित गर्न आवश्यक बहुमत छ। सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यही अवस्थामा एमसिसी पारित गर्न नहुने बताइरहेका थिए। सत्तारूढ दलभित्र सहमति नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल थालेका थिए। तर व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न सत्तारूढ गठबन्धनका सबै दल तयार भएका छन्। ‘आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे व्याख्यात्मक टिप्पणी सांसदहरूले माग गर्छन्,’ स्रोतले भन्यो, ‘त्यसपछि मन्त्रिपरिषद बैठक बसेर एमसिसीबारे व्याख्यात्मक टिप्पणीसहित सांसदले उठाएका प्रश्नका जवाफ सरकारका तर्फबाट संसदमा पेश गरिन्छ। त्यसपछि निर्णयार्थ पेश गरेर आजै एमसिसी पारित गर्ने तयारी छ।’-प्रतिनिधि सभाको पहिलो बैठक बसेर दोस्रो बैठक बस्नुअगाडि मन्त्रिपरिषद बैठक बस्ने तयारी छ। सेतोपाटी ।